२७ असार २०८३, शनिबार

कठै बाबुराम ! आदर्श नेताको ओरालो यात्रा [ब्लग]

कात्तिक २०, २०७४
कठै बाबुराम ! आदर्श नेताको ओरालो यात्रा [ब्लग]

कुनै समय यस्तो पनि थियो, डा. बाबुराम भट्टराईलाई धेरै नेपाली युवाले आफ्नो आदर्श नेता मान्दथे । अनुयायीहरूलाई लाग्थो, बाबुराम नै सच्चा कम्युनिष्ट र माओवादी नेता हुन् । इन्जिनियर, त्यसमा पनि पिएचडी डाक्टर, एसएलसीका बोर्ड प्रथम, माओवादी आन्दोलनमा, शुभचिन्तकहरूले यति बोलेपछि भने उनी गमक्क हुन्थे अनि मुसुक्क हाँस्थे । ‘माओवादी जनयुद्ध’ सफल बनाउन उनको पनि महत्वपूर्ण योगदान रह्यो । जनयुद्धका समयमा जनयुद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको सम्बन्ध राम्रै रह्यो । यद्यपि कहिलेकाहीँ सम्बन्धमा दरार नआएका भने होइनन् । तथापि तत्कालिन परिस्तिथिले मिल्ने आवश्यक बनाइरहन्थो ।

माओवादी पार्टीमा हुँदा डा. बाबुराम भट्टराई जातीय, क्षेत्रीय, लैंगिक, उत्पीडित र श्रमजीवी जनताको मसिहाका रुपमा मान्दै आएका थिए । प्रचण्डको छायाँको रुपमा मान्दै उनलाई आम कार्यकर्ता र शुभचिन्तकहरू बुझ्थे । प्रचण्डविनाका बाबुराम अधुरै देखिन्छन् । आम कार्यकर्ताहरू यो जोडीलाई माक्स र एंगेल्स कै रुपमा परिभाषित गर्थे । चालिसको दशकमा मोहनविक्रम सिंहको पार्टीमा एरिया सदस्यका रुपमा पार्टीका गतिविधिमा सक्रिय काम गरिरहेका उनलाई प्रचण्डले आफ्नो पार्टीमा भित्र्याएर थुप्रै सिनियर नेताहरूलाई बेवास्ता गर्दै पार्टीको केन्द्रीय सदस्य र संयुक्त जनमोर्चाको संयोजकको जिम्मा दिए । संयुक्त जनमोर्चाको संयोजकको रुपमा बाबुरामले कुशलताका साथ जिम्मेवारी पनि सम्हालेका थिए ।

केही दिनअगाडि चालीस बुँदे माग पार्टीको योजना अनुसार बाबुरामले नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए । तत्पश्चात प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु भयो । राज्यबाट अपहेलित र उत्पीडित जनसमुदायको उच्च योगदान रहेको जनयुद्धमा रणनैतिक कार्यदिशाका बारेमा प्रचण्ड र बाबुरामबीच मतभेद उत्पन्न भयो । पार्टीका नियमित कामहरूमा सुस्तता आयो ।

शान्ति प्रक्रियामा माओवादी आइसकेपश्चात बाबुराम भट्टराईलाई प्रोभोग आन्तरिक र वाह्य गर्न थालियो । बाबुरामभित्रको कुण्ठा बिस्तारै बाहिर आयो । मुलुकमा संविधान सभाको चुनाव सम्पन्न भयो । नेपाल संघीय गणतन्त्रमा प्रवेश ग¥यो । यद्यपि गणतन्त्रविरुद्ध विभिन्न चलखेल भइरहे । सामन्त दलाललाई संघीय गणतन्त्रको जननी माओवादी पार्टीलाई कमजोर बनाउँदा आफ्नो पुरानो लूटको स्वर्ग फिर्ता हुनेमा प्रष्ट थिए । त्यस्तो मुर्गा खोजिरहेका थिए, बाबुराम टुप्लुक्क माओवादी आन्दोलन विरोधीहरूसँग साँठगाँठ गर्न पुगे । अनि आफ्नै अध्यक्षलाई असफल बनाउन ललितपुरको धोबिघाटमा षडयन्त्र रचियो मोहन वैद्यसँग मिलेर । यद्यपि पूर्ण सफल हुन सकेनन् । त्यसपछि आफूलाई प्रधानमन्त्री बनाउन बाबुरामले चलखेल गरे । भारतलाई फाइदा हुनेगरी राष्ट्रहित विपरितको बिप्पा सम्झौता गरियो । जसलाई बाबुरामले जुवा खेलेको समेत भन्न भ्याए । बाबुरामकै क्रियाकलापका कारण मोहन वैद्य ‘किरण’ पार्टीबाट बाहिरिए ।

लेखक आचार्य


दोस्रो संविधान सभाबाट संविधान ल्याउनको निमित्त प्रचण्ड अहोरात्र खटिए । बाबुराम संवैधानिक समितिको सभापति थिए । अचानक एकदिन भारतीय राजदूत लिएर बाबुराम, प्रचण्ड निवास गए, जारी हुन लागेको संविधान रोक्न दवाव दिए । प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरु गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता र राष्ट्रिय अस्मिता बचाउने जस्ता एजेन्डाहरू रक्षाको निमित्त आफू प्रतिबद्ध रहेको र यी एजेन्डाको निमित्त आफू मर्न तयार भएको बताए ।

विभिन्न षडयन्त्रका बाबजुद नेपालमा संविधान जारी भयो । संविधान जारी भएको केही दिनमै बाबुराम भट्टराईले माओवादी पार्टी त्यागे । संविधान निमार्णका क्रममा असन्तुष्ट मधेशी नेताहरूलाई प्रयोग गरेर हिरो हुने योजनामा बाबुराम मधेश झरे । यसैबीचमा ‘रिटायर’ कर्मचारी र असन्तुष्टहरूलाई मिलाएर नयाँ शक्ति नामको पार्टी खोले ।

स्पष्ट दृष्टिकोण (भिजन) र जनतासम्म जाने पार्टीको योजना नभएपश्चात बाबुरामको व्यक्तित्वसँग लोभिएर गएका व्यक्तिहरूले एकपछि अर्को गर्दै पार्टी छाडे । यसरी एक पछि अर्को योजनामा असफल भएका बाबुराम अहिले चुनाव चिन्हको माग गर्दै सडकमा आफ्नो कमजोर उपस्थिति देखाइरहेका छन् । आन्दोलनका क्रममा उक्त पार्टीकी नेतृ हिशिला यामीले ‘देश खारेज गरे भन्दै थुप्प्रैपटक सडकमा बोलिन् । राष्ट्रिय अखण्डताको विरुद्धमा बोलेको भन्दै हिसिलाविरुद्ध सामाजिक सञ्जाल ट्वीटरमा ‘टे«ण्ड’ नै चल्यो । पत्रकार सम्मेलन गरेरै हिसिलाले माफी माग्नुपर्ने स्थिति सृजना भयो ।

बाबुरामको पार्टी भित्रको अराजकता सडकमा छताछुल्ल पोखियो, पार्टी नेता, कार्यक्रर्ताहरू उठ्नै नसक्ने गरी थला परे । अब चुनाव चिन्हको महत्व रहेन । बाबुरामको पार्टी पहिलो चुनावमा सहभागी नभइ असफल बन्ने लक्षण देखिँदैछ । यसबाट के प्रष्ट हुन्छ भने, कुनै राजनीतिक उद्देश्य र जनताको त्याग बलिदानको आन्दोलनबाट नआएको पार्टी, जनताको पार्टी हुदैन । त्यसमा जनताको साथ पनि नहुने रहेछ । पार्टीका आमनेता कार्यकर्ता मधेशी दलसँग पार्टी एकता गर्न नहुने मत जाहेर गर्दागर्दै पनि बाबुराम जटिलतामा फसेका छन् । बाबुरामको पछि लागेका कार्यकर्ता विचल्लीमा पर्दै गएका छन् । अहिले बाबुरामको अनुहारमा निराशा बाहेक केही देखिँदैन ।


(लेखक आचार्य माओवादी केन्द्रका कार्यकर्ता हुन्)

salt training

कमेन्ट गर्नुहोस्