२८ जेठ २०८३, बिहीबार
प्रहरी फन्दामा परे ‘जेल ब्रेकर’

दुईपटकका ‘जेल ब्रेकर’ कैदी राम जैस मौर्याको खतरनाक कहानी

जेठ २६, २०८३
काठमाडौं

सुरुङ खनेर कारागारबाट फरार भई लामो समय कानूनको आँखामा धुलो छर्किएका कर्तव्य ज्यान मुद्दाका दोषी राम जैस मौर्या दोस्रो पटकको ‘जेल ब्रेक’मा पनि प्रहरीको फन्दामा परेका छन् ।

पछिल्लोपटक जेनजी आन्दोलनका क्रममा फरार भएका मौर्यालाई कपिलवस्तु प्रहरीले विशेष अपरेशन सञ्चालन गरी कृष्णनगर क्षेत्रबाट पक्राउ गरेको हो ।

कपिलवस्तुको तत्कालीन उदयपुर गाविस–८ (हाल महाराजगञ्ज नगरपालिका–६) बन्जरिया निवासी ५८ वर्षीय मौर्या कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् ।

उनले २०६३ कात्तिक २५ गते बहादुरगञ्जमा ड्युटीमा खटिएका प्रहरी जवान नवीन गुरुङको गोली हानी हत्या गरेका थिए ।

कपिलवस्तु जिल्ला अदालतको फैसलाअनुसार उनीमाथि २० वर्षभन्दा बढी कैद सजाय तोकिएको थियो ।

मौर्या २०६६ साल माघ १ गते जिल्ला कारागार कपिलवस्तुबाट अन्य सात कैदीसँगै सुरुङ खनेर फरार भएका थिए ।

कारागारभित्रै गोप्य रूपमा सुरुङ निर्माण गरी आठ जना कैदी एकैपटक भाग्न सफल भएको घटना त्यसबेला देशभर चर्चाको विषय बनेको थियो ।

उक्त घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको थियो ।

जेलबाट फरार भएपछि उनीविरुद्ध थुनुवा तथा कैदी भगाएको मुद्दासमेत दर्ता भएको थियो ।

सो मुद्दामा अदालतले २०६८ साल जेठ १० गते थप पाँच वर्ष तीन महिना तीन दिन कैद सजाय सुनाएको थियो ।

पछि कर्तव्य ज्यान मुद्दाको फैसला तत्कालीन पुनरावेदन अदालत बुटवलबाट संशोधन भई २० वर्ष कैद कायम गरिएको थियो । विभिन्न समयमा पक्राउ परेपछि उनलाई कैद भुक्तानका लागि ललितपुरस्थित नख्खु कारागारमा राखिएको थियो ।

तर, उनको फरारीको श्रृंखला त्यतिमै रोकिएन । २०८२ साल भदौ २४ गते नख्खु कारागारबाट पनि उनी फरार हुन सफल भएका थिए । त्यसयता नेपाल प्रहरीका विभिन्न इकाइले उनको खोजीलाई निरन्तरता दिएका थिए ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा मौर्या कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ कुकुरभुकुवा क्षेत्रमा लुकेर बसेको जानकारी प्राप्त भएपछि विशेष अपरेशन सञ्चालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले मौर्यालाई कृष्णनगर नजिक दशगजास्थित आमबगैंचामा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा उनले आफ्नो परिवार भारतमा रहेको र आफू भारत–नेपाल आवतजावत गर्दै आएको बताएका छन् ।

प्रहरी अनुसन्धानका क्रममा नख्खु कारागारमा रहँदा उनले जेलभित्र पान पसल सञ्चालन गरेको तथा अन्य कैदीबन्दीका लागि मिठाइसमेत बनाउने गरेको खुलेको छ ।

पक्राउपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी मौर्यालाई २०८३ साल जेठ २५ गते जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको थियो ।

अदालतमा पेश गरेपछि बाँकी कैद सजाय भुक्तानका लागि उनलाई पुन: कारागार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

सुरुङ खनेर जेलबाट भागेको, अर्को कारागारबाट पनि फरार भएको र वर्षौंसम्म प्रहरीको पहुँचबाहिर रहन सफल मौर्याको पक्राउलाई प्रहरीको राम्रो सफलताका रूपमा हेरिएको छ ।

भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्