२८ जेठ २०८३, बिहीबार
मान्छेले मान्छे तान्ने नेटवर्किङ धन्दा

युनिटी बिर्साउने नेटवर्किङ धन्दा, नेपालका बेरोजगार युवा गिरोहको निसानामा !

जेठ २७, २०८३
काठमाडौं

रोजगारीको आशमा भारत पुगेका एक नेपाली युवकले आफूलाई नयाँ जीवनको अवसर खोजिरहेको ठानेका थिए ।

तर, कम्पनीले जागिर दिनुअघि दुई लाख रुपैयाँ मागेपछि उनको मनमा शंका पैदा भयो ।

शंकाले उनलाई वरिपरि नियाल्न बाध्य बनायो । त्यतिबेला उनले देखेको दृश्य झस्काउने खालको थियो ।

दर्जनौं नेपाली युवा त्यहाँ अलपत्र अवस्थामा थिए । कोही घर फर्किन सक्ने अवस्थामा थिएनन्, कोही पैसा बुझाइसकेर पनि कामविहीन थिए ।

त्यही शंकाले अन्तत: एउटा यस्तो जालो सार्वजनिक गर्‍यो, जसले रोजगारीको सपना बेचेर नेपाली युवालाई नेटवर्किङ शैलीको चक्रमा तानिरहेको थियो ।

कैलालीको गौरीगंगा नगरपालिका निवासी चक्रबहादुर साउद काठमाडौंमा बसेर इन्जिनियरिङ अध्ययन गरिरहेका थिए । सामाजिक सञ्जालमा देखिएको एक विज्ञापनले उनको ध्यान खिच्यो । विज्ञापनमा भारतको उत्तरप्रदेशस्थित कुशीनगरमा रहेको ‘विन्सपायर वर्ल्ड’ नामक कम्पनीमा रोजगारीको अवसर रहेको उल्लेख थियो । मासिक भारु ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म तलब पाइने दाबी गरिएको थियो ।

राम्रो अवसर ठानेर साउदले कम्पनीसँग सम्पर्क गरे र अन्तत: आफैं कुशीनगर पुगे । त्यहाँ पुगेपछि उनलाई एक साताको तालिम लिनुपर्ने भन्दै १० हजार भारतीय रुपैयाँ बुझाउन लगाइयो । शुरूका दिनमा इन्जिनीयरिङसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइएकाले उनलाई कम्पनीमाथि कुनै शंका लागेको थिएन ।

तर, एक सातापछि कम्पनीका प्रतिनिधिले ‘सेक्युरिटी डिपोजिट’ का नाममा थप दुई लाख नेपाली रुपैयाँ मागे ।

कर्मचारीहरू बीचमै काम छाडेर भागेमा कम्पनीलाई नोक्सानी हुन सक्ने भएकाले रकम राख्नुपर्ने तर्क प्रस्तुत गरिएको थियो । यही मागपछि साउदले कम्पनीको वास्तविकता बुझ्न खोजे ।

उनी बसेको होस्टलमा अन्य नेपाली युवाहरू पनि थिए । कुराकानीका क्रममा धेरैले शुरूमा १० हजार भारतीय रुपैयाँ र कतिपयले दुई लाख रुपैयाँसम्म बुझाइसकेको जानकारी पाए । तर उनीहरूले अपेक्षा गरेअनुसारको रोजगारी पाएका थिएनन् । अधिकांश युवा अलपत्र अवस्थामा थिए ।

त्यसपछि साउदले आफूसँगै रहेका अन्य दुई नेपालीसँग छलफल गरे । उनीहरू एउटै निष्कर्षमा पुगे— यो सामान्य रोजगारीको अवसर नभई कुनै संगठित जालो हुन सक्छ ।

त्यसपछि उनीहरू भारतस्थित नेपाली दूतावासको सम्पर्कमा पुगे । आफूहरूले देखेका तथा भोगेका सबै विवरण सुनाए ।

दूतावास, नेपाल प्रहरी र अन्य सम्बन्धित निकायबीच समन्वय शुरू भयो । घटनाबारे जानकारी नेपालसम्म आइपुगेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान अघि बढाए ।

अनुसन्धानका क्रममा अर्को गम्भीर तथ्य पनि बाहिर आयो । आफूहरूले संकलन गरेका फोटो तथा भिडियो सामग्री कम्पनीसँग सम्बन्धित व्यक्तिहरूले मोबाइलबाट हटाइदिएको दाबी समेत पीडितहरूले गरेका छन् ।

प्रहरी तथा सम्बन्धित निकायको समन्वयपछि देहरादुनमा रहेका नेपाली युवक विशाल खत्रीको उद्धार गरिएको थियो ।

त्यसपछि भारतीय प्रहरीको सहयोगमा कुशीनगरबाट १२ जनालाई नियन्त्रणमा लिएर नेपाल ल्याइएको छ ।

पक्राउ पर्नेमा गुल्मी घुर्कोटमा विक्रम परियार, प्रभास विक, सप्तरी शम्भुनाथका राम बालक मण्डल, काभ्रे पनौतीका सुमन घिमिरे, रित भुजेल, दीपेश तामाङ, अर्घाखाँची सन्धीखर्कका पंकज विश्वकर्मा, ओखलढुंगा खिजिदेम्बाका धिरज सुनुवार, पर्वतका दिनेश काफ्ले, मकवानपुर मनहरिका प्रकाश अर्याल, पाल्पा रिम्दीकोटका सुरज गोतामे र रुपन्देही सिद्धार्थनगरका सागर विक छन् ।

प्रहरी अनुसन्धानका क्रममा कम्पनीको भित्री संरचना बहुस्तरीय नेटवर्किङ वा पीरामिड शैलीसँग मिल्दोजुल्दो रहेको देखिएको छ ।

अनुसन्धानमा खुले अनुसार कम्पनीभित्र आठ तहका पद सिर्जना गरिएका थिए । प्रत्येक तहमा फरक जिम्मेवारी र आकर्षक आम्दानीको आश्वासन दिइन्थ्यो । माथिल्लो तहमा पुग्न नयाँ सदस्य भित्र्याउनुपर्ने व्यवस्था रहेको पाइएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार पाँचौँ तहमा पुगेपछि होस्टल सञ्चालन गर्न पाउने र मासिक एक लाखदेखि तीन लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्न सकिने सपना देखाइन्थ्यो । तर, आम्दानीको मुख्य आधार नयाँ सदस्य थप्ने काम नै रहेको देखिएको छ ।

पक्राउ परेकामध्ये केही व्यक्ति शुरूमा आफैं पीडितको रूपमा त्यहाँ पुगेका थिए । तर पछि उनीहरू नै नयाँ नेपाली युवालाई आकर्षित गर्ने भूमिकामा पुगेको अनुसन्धानबाट खुलेको छ ।

मकवानपुरका प्रकाश अर्यालको नाम पनि यसै सन्दर्भमा अनुसन्धानमा जोडिएको छ । उनी शुरूमा कामको खोजीमा कुशीनगर पुगेका थिए भने पछि आफ्ना साथीभाइ, आफन्त र चिनेजानेका व्यक्तिलाई त्यहाँ बोलाउने काममा संलग्न भएको प्रहरीको दाबी छ ।

पीडितमध्ये एक जनाले आफू कम्पनीमा पुगेको पहिलो दिनको अनुभव सुनाउँदै त्यहाँको अवस्था झल्काएका छन् ।

उनका अनुसार उनी कम्पनी पुगेपछि सोफामा बस्न पाएका थिए, तर अन्य धेरै नेपालीहरू भुइँमा बसेका थिए ।

पछि बुझ्दा तीमध्ये अधिकांशले ठूलो रकम बुझाइसकेका थिए । तर, उनीहरू न जागिरमा थिए, न सहज रूपमा घर फर्किन सक्ने अवस्थामा ।

घटनाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको चक्रबहादुर साउद कम्पनीमा पुगेको जम्मा १३ दिन मात्र भएको थियो । त्यही अवधिमा उनले उठाएको प्रश्न र सम्बन्धित निकायसम्म पुर्‍याएको सूचनाले यो घटनाको अनुसन्धान शुरू भएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार पीडितहरूको निवेदन, भारतीय पक्षसँगको समन्वय तथा अनुसन्धानका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो ।

भिडियो सामग्री :

salt training

कमेन्ट गर्नुहोस्