
: चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ।
खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण देखिएपछि नियन्त्रणका लागि कुखुरासँगै अण्डा र दाना पनि नष्ट गरिएको पशु सेवा कार्यालय चितवनले जनाएको छ।
कार्यालय प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जेठ २३ गते सङ्क्रमण पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्ने कार्य सुरु गरिएको थियो। लगातार तीन दिनसम्म सञ्चालन गरिएको अभियानपछि मङ्गलबार फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको उनले बताए।
कार्यालयका अनुसार फार्मबाट एक हजार ४०५ पेटी अण्डा र १२ टन दाना पनि नष्ट गरिएको छ।
डा. न्यौपानेले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाइएको नमूनामा एभियन इन्फ्लुएन्जा एच–फाइभ एन–वान पुष्टि भएपछि नियन्त्रणका उपायस्वरूप कुखुरा, अण्डा र दाना नष्ट गरिएको जानकारी दिए। अन्य सम्भावित जोखिम क्षेत्रबाट पनि नमूना सङ्कलन गरी परीक्षणको काम भइरहेको उनले बताए।
यसअघि चैत १२ गते भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा पनि बर्डफ्लु पुष्टि भएको थियो। उक्त घटनामा १७ हजार ८७० लेयर्स कुखुरा तथा नजिकैको अर्को फार्मका ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो।
नेपालको कुखुराजन्य क्षेत्रमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताइन्छ। बर्डफ्लुका घटनाले यस क्षेत्रको उत्पादन र व्यवसायमा चुनौती थपिने सरोकारवालाको चिन्ता छ।