२५ जेठ २०८३, सोमबार
सानालाई ऐन, ठूलालाई चैन

प्रहरीमा सुल्झिन नसकेको अडियो काण्ड– एसपी सरुवा, सई तानिए; नेतृत्वप्रति मौन !

जेठ २४, २०८३
काठमाडौं

मधेश प्रदेश प्रहरीसँग जोडिएको अडियो प्रकरण थप पेचिलो बन्दै गएको छ  । अडियो सार्वजनिक भएपछि धनुषाका तत्कालीन प्रहरी प्रमुख एसपी रुगम कुँवरको सरुवा गरिएको छ भने तीन प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालय तानिएको छ  ।

तर, अडियोमा नाम जोडिएका मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग भने हालसम्म बयानसमेत नलिइएको विषयले प्रहरी संगठनभित्र र बाहिर चर्चा बढाएको छ  ।

जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ सई सागर राणा र व्यापारी राजीव महासेठबीचको भनिएको अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको थियो  ।

अडियोमा मधेश प्रदेश प्रहरी कार्यालय, घुमुवा परिचालन तथा आर्थिक लेनदेनसँग सम्बन्धित विषय उठाइएपछि प्रहरी नेतृत्व समेत दबाबमा परेको देखिएको छ  ।

यो प्रकरणको अनुसन्धानका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एआईजी उमाप्रसाद चतुर्वेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।

समितिले धनुषाका तत्कालीन प्रहरी प्रमुख एसपी रुगम कुँवर, वरिष्ठ सई सागर राणा, वरिष्ठ सई गोपाल थापा मगर तथा सई जयलाल यादवसँग बयान लिइसकेको बताइएको छ  ।

स्रोतका अनुसार समितिले एसपी कुँवरसँग ३६ वटा, सागर राणासँग ३७ वटा, गोपाल थापा मगरसँग ३८ वटा तथा जयलाल यादवसँग ४२ वटा प्रश्न सोधेको छ  । तर, अडियोमा नाम जोडिएका डीआईजी थपलियासँग भने हालसम्म बयान नलिइएको दाबी गरिएको छ ।

यस विषयमा प्रहरी प्रधान कार्यालयले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

छानबिन समितिका एक सदस्यका अनुसार डीआईजी थपलियासँग अहिलेसम्म बयान लिइएको छैन  ।

छानबिन चलिरहेकै बेला धनुषाका तत्कालीन प्रहरी प्रमुख कुँवरको सरुवा गरिएको छ  । उनलाई नेपाल प्रहरी विशेष सुरक्षा गण, सुर्खेतमा पठाइएको हो ।

सरुवाअघि मधेश प्रदेश प्रहरी कार्यालयबाट उनीसँग दुईपटक स्पष्टीकरण मागिएको बताइएको छ ।

स्रोतहरूका अनुसार कुँवरले आफूले भोगेका प्रशासनिक दबाबबारे प्रहरी नेतृत्वलाई जानकारी गराएका थिए ।

प्रहरी नियमावलीअनुसार सामान्य अवस्थामा एक वर्षभन्दा कम अवधिमा सरुवा नगर्ने व्यवस्था रहे पनि कुँवरको सरुवा तुलनात्मक रूपमा छोटो अवधिमै भएको देखिन्छ ।

अडियो प्रकरणको प्रभाव धनुषामा मात्र सीमित नरहेको स्रोतहरूको भनाइ छ । मधेश प्रदेश प्रहरी कार्यालयले बारा र रौतहटका प्रहरी प्रमुखसँग पनि स्पष्टीकरण मागेको बताइएको छ । स्पष्टीकरण पत्रमा राजस्व चुहावट नियन्त्रण गर्न नसकेको विषय उल्लेख गरिएको स्रोतको दाबी छ । यद्यपि बारा र रौतहटका प्रहरी प्रमुखहरूले भने यसलाई संगठनभित्रको नियमित प्रशासनिक प्रक्रिया भएको बताएका छन् ।

प्रहरी संगठनभित्र यस घटनालाई लिएर विभिन्न तहमा चासो बढिरहेको बताइन्छ । छानबिनको दायरामा तल्लो तहका अधिकारीहरू परे पनि अडियोमा नाम जोडिएका सबै पक्षसँग समान रूपमा सोधपुछ भएको छ वा छैन भन्ने विषयमा समेत चर्चा भइरहेको छ ।

यद्यपि छानबिन समिति वा प्रहरी प्रधान कार्यालयले यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

अहिलेसम्म छानबिन समितिले आफ्नो अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छैन । त्यसैले, अडियोको सत्यता, त्यसमा उठाइएका आरोपको आधार तथा सम्बन्धित अधिकारीहरूको भूमिकाबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ  ।

प्रतिवेदन सार्वजनिक भएपछि मात्र घटनाको यथार्थ अवस्था र जिम्मेवारी निर्धारणबारे स्पष्ट तस्वीर आउने अपेक्षा गरिएको छ  ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्