१० साउन २०८३, आइतबार
चिनियाँ छुटाउन चलखेल

चिनियाँ नागरिक छुटाउन ७२ लाख डिल– पूर्व एसएसपीदेखि नाम चलेका सेलिब्रिटीसम्म संलग्न !

साउन ६, २०८३
काठमाडौं

पर्यटक भिसामा नेपाल आएका ९ जना चिनियाँ नागरिकमाथि अध्यागमन विभागले अनुसन्धान गरिरहेकै बेला अर्को नयाँ तथ्य बाहिर आएको छ ।

ती चिनियाँ नागरिकलाई छुटाइदिने र १५ वटा राहदानी समेत फिर्ता गराउने भन्दै ७२ लाखको मोलमलाइ भएको हो ।

यो मोलमलाइमा सशस्त्र प्रहरीकै पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) र चर्चित कलाकारको संलग्नता खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार मात्रै सशस्त्रका पूर्व एसएसपी गोपालबहादुर गुरुङ, कलाकार नारदप्रसाद खतिवडा र बिचौलियाको काम गर्ने विक्रमबहादुर थापालाई पक्राउ गरेको छ ।

घटनाको नालीबेली

हाल थुनामा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाइदिनुपर्‍यो भन्दै केही व्यक्ति पूर्व एसएसपी गोपालबहादुर गुरुङको सम्पर्कमा पुग्छन् ।

गुरुङले बिचौलिया काम गर्ने विक्रमबहादुर थापालाई भेटाउँछन् । अनि हुन्छ बार्गेनिङको खेल । थापाले ९ जना चिनियाँ नागरिकलाई छुटाइदिने र १५ वटा राहदानी समेत फिर्ता ल्याइदिने भन्दै ७२ लाखको बार्गेनिङ गर्छन् । गुरुङको सम्पर्कमा पुगेका व्यक्तिहरूले उक्त डिल स्वीकार गर्छन् ।

तर, अध्यागमन विभागसँग कसले डिल गर्ने भन्ने दुविधा गुरुङ र थापालाई हुन्छ । अनि गुरुङले चर्चित कलाकार नारदप्रसाद खडिवडालाई खोज्छन् । खतिवडाले विभागका डीजी रामचन्द्र तिवारीसँग आफ्नो राम्रो चिनजान रहेको बताउँछन् । उनले तीन/चार पटक तिवारीसँग भेटेर आफूले सबै कुरा राखेको समेत दाबी गर्छन् ।

यति भइसक्दासम्म थापाले चिनियाँका आफन्तबाट ९ लाख रुपैयाँ लिइसकेका हुन्छन् । बाँकी रकम भने छुटाइसकेपछि मात्रै दिने सहमति हुन्छ ।

लोकान्तरलाई पूर्व एसएसपी गुरुङ र बिचौलिया थापाबीच ह्वाट्सएपमा भएको कुराकानीको च्याट पनि प्राप्त भएको छ ।

च्याटमा एसएसपीले म कुरा गर्छु हामीलाई कति ? भनेर थापालाई सोध्छन् । थापाले ९ जना चिनियाँ र १५ राहदानी फिर्ता ल्याइदिएबापत ७२ लाख उठाउने कुरा गर्छन् । अनि गुरुङले १० यता मलाई भन्छन् । अनि थापाले गुरुङलाई भन्छन्– हजुरलाई ८ लाख, मलाई ८ लाख र रमेश सरलाई ८ लाख । अनि गुरुङले ओके म कुरा गर्छु भन्छन् ।

अनुसन्धान कार्यालयले थापा, गुरुङ र खतिवडाको मोबाइल हेर्दा खतिवडाको मोबाइलमा टोकन मनीबापत १ लाख १५ हजार रुपैयाँ जम्मा भएको देखिन्छ । सहमति अनुसार ४८ लाख रुपैयाँ अध्यागमन विभाग र बाँकी उनीहरू आफैँ बाँडिचुँडी लिने कुरा हुन्छ ।

गुरुङले प्रहरीलाई बताए अनुसार साथीको नाताले ९ चिनियाँलाई छुटाइदिनुपर्‍यो भन्दै केही व्यक्ति उनको सम्पर्कमा आएका थिए । त्यसपछि मात्रै थापालाई गुरुङले प्रस्ताव राखेका थिए ।

कसरी पक्राउ परेका थिए चिनियाँ नागरिक ?

अध्यागमन विभागले गत असार १२ गते ललितपुरको धोबीघाटस्थित एउटा चारतले घरमा ठूलो संख्यामा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचना पाएपछि छापा मारेको थियो ।

धोबीघाटस्थित घर र कीर्तिपुरको चोभारमा रहेको ट्रेजर्स प्रालिमा गरिएको अनुगमनका क्रममा ९ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

अनुसन्धानका लागि १८ वटा चिनियाँ राहदानी पनि नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानमा अधिकांश चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल बसेर चोभारस्थित कम्पनीमा क्रिप्टोको काम गरिरहेको देखिएको देखियो ।

धोबीघाटस्थित चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएका थिए । विभागको टोली पुग्दा ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक फेला परे । उनीहरूमध्ये चारजना व्यवसायिक भिसा र १८ जना पर्यटक भिसामा नेपाल बसेका थिए ।

सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्रै राहदानी देखाए । अनुसन्धानले अर्को तथ्य पनि देखायो । उक्त घर ‘ड्रागन ब्रिज इन्टरनेसनल प्रालिले लिजमा लिएर सञ्चालन गरिरहेको थियो । तर, होस्टल भनेर सञ्चालन गरिए पनि त्यहाँ कुनै आधिकारिक साइनबोर्ड थिएन । उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा होस्टल सञ्चालनसम्बन्धी आवश्यक कानूनी कागजातसमेत फेला परेन ।

आफूलाई सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बस्ने विदेशी नागरिकको अभिलेख वा वास्तविक विवरणसमेत नरहेको अध्यागमन विभागले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा धोबीघाटस्थित आवासमा बस्ने अधिकांश चिनियाँ नागरिक चोभारस्थित ट्रेजर्स प्रालिमा कार्यरत रहेको खुलेको छ ।

उनीहरू पर्यटक भिसामा नेपाल बसेर काम गरिरहेको देखिएकाले भिसाको उद्देश्यविपरीत गतिविधि भएको आशंका गरिएको विभागको भनाइ छ ।

उक्त घर सुमन कार्कीको स्वामित्वमा रहेको र ड्रागन ब्रिज इन्टरनेसनल प्रालिले लिजमा सञ्चालन गरिरहेको पनि खुलेको छ ।

यसपछि अध्यागमन विभागको टोली चोभारस्थित ट्रेजर्स प्रालिमा पुग्यो । भारतीय आयुर्वेदिक उत्पादनको प्रदर्शनी केन्द्रका रूपमा सञ्चालन गरिएको भवनमा सामान्य कार्यालयभन्दा निकै फरक अवस्था भेटियो ।

भवनभरि ठूलो संख्यामा सीसीटीभी जडान गरिएको थियो । निजी सुरक्षा गार्ड परिचालन गरिएको थियो । सर्वसाधारणलाई प्रवेश निषेध गरिएको थियो ।

त्यहाँ करिब १८ जना चिनियाँ नागरिक कार्यरत रहेको र अधिकांश पर्यटक भिसामा रहेको पाइएको छ । कर्मचारीहरूको अभिलेख उपलब्ध गराइएन । राहदानी र परिचयपत्र देखाउन अस्वीकार गरियो । कम्पनीको वास्तविक सञ्चालकबारे कर्मचारीहरू नै अनभिज्ञ देखिए । भवनभित्र फोटो र भिडियो खिच्नसमेत रोक लगाइएको थियो ।

अनुगमनका क्रममा भवनका विभिन्न कोठामा ‘पर्यटक निषेध’ लेखिएका स्टिकर टाँसिएको भेटियो । निजी संस्थाले प्रयोग गर्ने पास कार्डमा नेपालको राष्ट्रिय निशान छाप प्रयोग गरिएको पनि फेला परेको अध्यागमन विभागले जनाएको छ ।

सबैभन्दा शंकास्पद दृश्य भने भवनभित्रको एउटा झ्यालविहीन अन्धकार कोठामा भेटियो । सीसीटीभी डाटा रुमसँग जोडिएको उक्त कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा सात जना चिनियाँ नागरिक लुकेर बसेका थिए । तीमध्ये पाँचजनालाई नियन्त्रणमा लिइएको छ भने दुईजना फरार भए ।

प्रारम्भिक अनुसन्धानका क्रममा केही चिनियाँ नागरिक क्रिप्टो कारोबारमा समेत संलग्न रहेको आशंका गरिएको छ । त्यसबारे पनि अनुसन्धान भइरहेको अध्यागमन विभागले जनाएको छ ।

अनुसन्धानले धोबीघाटस्थित आवास र चोभारस्थित ट्रेजर्स प्रालिबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएको छ । होस्टल सञ्चालक कर्मा शेर्पा र मञ्जु लामाले त्यहाँ बस्ने अधिकांश चिनियाँ नागरिक ट्रेजर्स प्रालिमै कार्यरत रहेको स्वीकार गरेका छन् ।

यसले धोबीघाटस्थित घरलाई आवासीय केन्द्र र चोभारस्थित कम्पनीलाई उनीहरूको कार्यस्थलका रूपमा प्रयोग गरिएको देखिएको विभागको निष्कर्ष छ ।

हेर्नुहोस्, भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्