२२ जेठ २०८३, शुक्रबार
काठमाडौंमा डामिएपछि जिल्ला फेरेर अपराध

काभ्रेमा समातियो डरलाग्दो ‘डाँका ग्याङ’, एकै व्यक्तिका नाममा १९ मुद्दा !

जेठ २१, २०८३
काठमाडौं

सार्वजनिक बसमा ३२ हजार ५ सय रुपैयाँ चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले चकित पार्ने विवरण फेला पारेको छ ।

पक्राउ परेकामध्ये एक जनाविरुद्ध मात्रै यसअघि चोरी तथा डाँकासम्बन्धी १९ वटा मुद्दा दर्ता भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार जेठ १० गते काठमाडौंबाट पनौतीतर्फ जाँदै गरेको बसमा यात्रा गरिरहेकी ललितपुरको महाङ्काल गाउँपालिका–३ निवासी पार्वती सञ्जेलको ३२ हजार ५ सय रुपैयाँ चोरी भएको भन्दै उजुरी परेको थियो ।

उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै जेठ १६ गते तीन जनालाई पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले प्रारम्भिक सोधपुछका क्रममा आफ्नो वास्तविक परिचय लुकाउन फरक नाम बताएका थिए ।

तर, नागरिकता तथा अन्य कागजातका आधारमा उनीहरूको वास्तविक विवरण खुलेको थियो ।

पक्राउ परेकामध्ये रामेछापको दोरम्बा गाउँपालिका– ५ निवासी विशाल तामाङले शुरूआतमा आफ्नो नाम पासाङ लामा बताएका थिए ।

प्रहरीका अनुसार उनीविरुद्ध काठमाडौं, ललितपुर, भक्तपुर तथा ठिमी क्षेत्रमा चोरी तथा डाँकासम्बन्धी १९ वटा मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेका अर्का आरोपी काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–३ निवासी साधुराम भुजेलविरुद्ध भक्तपुर, महाराजगञ्ज र बौद्ध क्षेत्रमा चोरी तथा डाँकासम्बन्धी चारवटा मुद्दा दर्ता भएको पाइएको प्रहरीको भनाइ छ ।

काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिका–३ निवासी सुदीप भण्डारीले आफ्नो नाम सुमन क्षेत्री बताएका थिए । प्रहरी अभिलेखअनुसार उनीविरुद्ध चोरी तथा डाँकासम्बन्धी छ वटा तथा ज्यान मार्ने उद्योगसम्बन्धी एक मुद्दा दर्ता भएको छ ।

प्रहरीका अनुसार विशाल तामाङ यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंबाट चोरी तथा डाँका र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानको दायरामा आएका व्यक्ति हुन् । उनीसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको भए पनि अधिकांश आरोपित धरौटीमा छुटेका थिए ।

तत्कालीन समयमा विशालसहितको समूहले काठमाडौंमा रातिको समयमा महिलाको कान लुछेर मुन्द्रा चोरी गर्ने र ठेलागाडा लिएर हिँडेकाको औँठी र पैसा लुट्ने गरेका थिए ।

काठमाडौंमा प्रहरीले विशालको समूहलाई कडाइ गरेपछि उनी काभ्रेमा छुट्टै ‘ग्याङ’ बनाएर चोरी तथा डाँका गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

बनेपा घटनाको प्रारम्भिक अनुसन्धानबाट विशाल धरौटीमा छुटेपछि पुन: चोरी तथा डाँका गतिविधिमा संलग्न भएको देखिएको प्रहरीको दाबी छ । पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त समूहले शुरूआतमा सम्भावित लक्ष्यको निगरानी (रेक्की) गर्ने र त्यसपछि पछ्याएर चोरी तथा लुटपाट गर्ने कार्यशैली अपनाउने गरेको थियो ।

घटनामा संलग्न भनिएका चार जनामध्ये एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सीसीटीभी हेरेर हुलिया पत्ता लगाएर यी तीन जनालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रबिन विष्टका अनुसार पक्राउ परेका व्यक्तिहरू अन्य आपराधिक गतिविधिमा समेत संलग्न छन् वा छैनन् भन्ने विषयमा पनि थप अनुसन्धान भइरहेको छ । 

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्