
सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले बिहीबार खेलिएको खेलमा मलेसियालाई एक सय ६७ रनले हरायो ।
जितसँगै नेपाल चार अंकसहित समूह ‘ए’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, नेपालले आफ्नो पहिलो खेलमा चीनलाई दुई सय २१ रनले हराएको थियो ।
मलेसिया पनि दुई अंकसहित समूह उप–विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । लगातार दुई हारसँगै चीन भने यसअघि नै उपाधि होडबाट बाहिरिएको छ ।
नेपाल र मलेसिया सेमिफाइनलमा पुगेसँगै आगामी एसियाली खेलकुदमा पनि छनोट भएका छन् । सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लाग्न भने बाँकी छ ।
मलेसियाविरुद्ध टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर दुई सय ७५ रन बनाएको थियो ।
विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय आठ रनमात्र बनाउन सक्यो ।
नेपाली टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चिरप्रतिद्वन्द्वी मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै बनाएको यो नै सर्वाधिक रन हो ।
यसअघि नेपालले सन् २०२२ को अप्रिल २ तारिखमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय २३ रन बनाएको थियो ।
नेपाली टोलीका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट शतकीय र आसिफ शेखले अर्धशतकीय पाली खेले ।
कुशल भुर्तेलले एक सय २६ रनको योगदान गरे । लामो समय क्रिजमा टिकेका कुशलले केवल ५४ बलको सामना गरी आठ छक्का र १४ चौका हिर्काए ।
उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक प्रहार गरेका हुन् । समग्रमा भने यो ढाँचाको क्रिकेटमा उनले तेस्रो शतक बनाएका हुन् ।
यही प्रतियोगिताको चीनविरुद्धको खेलमा पनि उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका हिर्काएका थिए ।
यो ढाँचाको क्रिकेटमा उनले १४ वटा अर्धशतक पनि बनाएका छन् । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ६८ रनको योगदान गरे । उनले केवल २४ बलमा सात छक्का र पाँच चौका हिर्काए ।
मलेसियाविरुद्ध कुशल र आसिफ शेखले कीर्तिमानी साझेदारी पनि गरे । २४ वर्षीय आसिफ र कुशलले पहिलो विकेटका लागि एक सय ३४ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो विकेटको यो सबैभन्दा ठुलो साझेदारी हो । आसिफ शेख टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ११ औं अर्धशतक पूरा गर्दै आउट भए । यी दुवै ओपनरले ८.४ ओभरसम्म साझेदारी गरेका थिए ।
यसअघि, पनि पहिलो विकेटको कीर्तिमान आसिफ र कुशलकै नाममा थियो । कुशल र आसिफले सन् २०२५ को अप्रिल १० मा खेलिएको कुवेतविरुद्धको खेलमा एक सय २७ रनको साझेदारी गरेका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीको खातामा ३१ रन थपे । आक्रामक रूपमा प्रस्तुत भएका उनले ११ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए ।
सन्दीप जोरा भने १४ बलमा दुई छक्काको मद्दतले १५ रन बनाउँदै आउट भए । लाकेश बमले पनि ६ बलमा दुई चौकाको मद्दतले १० रन थपे । रोहित पौडेल पहिलो बलमै आउट भए ।
करण केसी तीन बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भए । कुशल मल्ल नौ रन र सोमपाल कामी एक रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रूपमा पनि आठ रन पायो । मलेसियाका बलर विरनदीप सिंहले तीन विकेट लिए । विजय उन्नी र सइद अजिजले पनि दुई–दुई विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको मलेसियालाई विजय लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलरहरूले पनि कसिलो बलिङ गरे ।
शेर मल्लले तीन विकेट लिए । उनले चार ओभरमा केवल १४ रन खर्चिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले पनि एक–एक विकेट हात पारे ।
मलेसियाका लागि कप्तान सइद अजिजवाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । सइद अजिजले ४५ बलमा दुई छक्का र ६ चौकाको मद्दतले ५४ रन बनाए ।