
धनुषाका शिक्षासेवी, विद्रोही चेतका संवाहक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजीव झाका पिता गंगेश झाको निधन भएको छ ।
लामो समयदेखि शिक्षा र समाजसेवामा समर्पित झाको बुधबार बेलुका जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मधेसको शैक्षिक, सामाजिक र किसान आन्दोलनका एक निष्कलंक धरोहरका रूपमा चिनिने झा आफ्नो निडर र हक्की स्वभावका कारण समाजमा सम्मानित थिए ।
स्वर्गीय झाले धनुषा जिल्लाका दुहबी, गोबराही, तिनकौरीया चोक, ढल्केवर, पुस्वलपुर, ठाढी र सखुवा मडान लगायतका दर्जनौँ विद्यालयहरूमा शिक्षकदेखि प्रधानाध्यापकसम्मको जिम्मेवारी सम्हालेका थिए । नेपाली र संस्कृत भाषाका प्रकाण्ड विद्वान उनी आफ्नो कर्तव्यप्रति अत्यन्त निष्ठावान थिए । उनले नेतृत्व गरेका विद्यालयहरूमा ‘७ घन्टी’ अनिवार्य पढाइ हुनैपर्ने नियम लागू गरेर शैक्षिक अनुशासनको एउटा मानक स्थापित गरेका थिए ।
पञ्चायतकालीन निरंकुश समयमा पनि उनले शिक्षकहरूको हकहित र तलब वृद्धिका लागि साहसिक विद्रोहको नेतृत्व गरेका थिए । दिउँसै लालटेन बालेर आफ्नो गाउँदेखि जनकपुरधामसम्म पैदल यात्रा गरी विरोध जनाएका उनको त्यो ‘लालटेन आन्दोलन’ नेपाली शैक्षिक इतिहासमा एक चर्चित घटना मानिन्छ । सोही आन्दोलनका क्रममा उनले दुई महिना जेल जीवन समेत बिताएका थिए। उनको त्यही दृढ अडान र त्यागका कारण तत्कालीन राज्य संयन्त्र देशभरका शिक्षकहरूको तलब बढाउन बाध्य भएको थियो ।
गंगेश झा केवल विद्यालयको कोठाभित्र मात्र सीमित थएनन् । उनी ग्रामीण अर्थतन्त्र र श्रमजीवी वर्गको उत्थानका लागि सधैँ अग्रपङ्क्तिमा उभिए । गाउँका किसानहरूलाई सिँचाइको समस्या हुँदा उनकै नेतृत्वमा श्रमदानमार्फत नहर निर्माण गरी कमला नदीको पानी खेत–खेतसम्म पुर्याइएको थियो ।
त्यस्तै, गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूले विद्यालयको शुल्क तिर्न नसक्दा उनले आफ्नै तलबबाट शुल्क तिरिदिएर हजारौँ बालबालिकाको भविष्य अन्धकार हुनबाट जोगाएका थिए। किसान र मजदुरको हकका लागि लड्दै उनले तत्कालीन समयमा मजदुरको ज्याला (बनिहारी) ३ किलो धानबाट बढाएर ४ किलो पुर्याउन सफल आन्दोलनको नेतृत्व समेत गरेका थिए ।