
१६औँ फिफा विश्वकप केवल खेलको प्रतिस्पर्धा थिएन, यो आधुनिक फुटबलको एक नयाँ अध्याय पनि थियो । ६० वर्षपछि विश्वकप फेरि आफ्नो भूमिमा फर्कँदा फ्रान्सले मात्र होइन, सिंगो विश्वले नै फुटबलको नयाँ परिभाषा पाएको थियो ।
१६औँ संस्करण सन् १९९८ को जुन १० देखि जुलाई १२ तारिखसम्म फ्रान्समा आयोजना भयो । यो विश्वकपका खेलहरू विभिन्न १० सहरका रंगशालाहरूमा खेलाइएको थियो ।
एसियाबाट इरान, जोर्डन, साउदी अरेयिबा र दक्षिण कोरिया गरी चार राष्ट्रले भाग लिएका थिए । अफ्रिकाबाट पनि क्यामरुन, मोरक्को, नाइजेरिया, दक्षिण अफ्रिका र ट्युनिसिया गरी पाँच राष्ट्रले सहभागिता जनाएका थिए ।
उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको प्रतिनिधित्व अमेरिका, मेक्सिको र जमैकाले गरेका थिए । दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, चिली, पाराग्वे र कोलम्बिया गरी पाँचवटा राष्ट्र सहभागी थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि टोली सहभागी थिएनन् ।
युरोपबाट युगोस्लाभिया, स्पेन, स्कटल्यान्ड, रोमानिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, डेनमार्क, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र नर्वेले सहभागिता जनाएका थिए । जापान, दक्षिण अफ्रिका, जमैका र क्रोएसियाको यो पहिलो विश्वकप थियो ।
विस्तार र नयाँ नियमको प्रयोग
यो विश्वकपमा सहभागी टोलीको संख्या २४ बाट बढाएर ३२ पुर्याइएको थियो । यसको मुख्य कारण विश्वभरिबाट छनोट चरणमा भाग लिने राष्ट्रहरूको संख्या एक सय ७४ पुग्नु थियो ।

बढ्दो टोलीलाई व्यवस्थापन गर्न समूहको संख्या पनि ६ बाट बढाएर आठ पुर्याइयो । यसबाहेक, खेललाई थप आक्रामक बनाउन फिफाले ‘गोल्डेन गोल’को नियम पनि भित्र्यायो ।
यो नियमअनुसार, अतिरिक्त समयमा गोल गर्ने टोली स्वत: विजयी हुने व्यवस्था थियो । यो नियमले पेनाल्टी सुटआउटको संख्या घटाउने लक्ष्य राखिएको थियो ।
यद्यपि, यो नियमले सोचेजस्तो ठूलो प्रभाव भने पार्न सकेन । यो विश्वकपमा पहिलो पटक खेलको अन्त्यमा थपिने समय जनाउन ‘इलेक्ट्रोनिक बोर्ड’को प्रयोग गरियो, जसले विश्व फुटबलमा प्रविधिको नयाँ युगको शुरूआत गर्यो ।
खेलमा ‘षड्यन्त्र’ मिसिएपछि !
सन् १९९८ को विश्वकप केवल खेलका कारण मात्र होइन, बाहिरका केही रहस्यमयी घटनाका कारण पनि उत्तिकै चर्चित बन्यो ।

युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष मिचेल प्लाटिनीले सन् २०१८ मा एउटा ठूलो खुलासा गरेका थिए ।
प्लाटिनीले स्वीकारेका थिए कि सन् १९९८ को विश्वकपको खेल तालिका बनाउँदा ठूलै ‘गडबडी’ भएको थियो ।
खासगरी, फ्रान्स र ब्राजिल फाइनलअघि एक–अर्कासँग भिड्नु नपरोस् भनेर खेल तालिका बनाउँदा नै षडयन्त्र गरिएको थियो ।
यसैगरी, फ्रान्सलाई यो विश्वकप आयोजनाको अधिकार दिँदा ठूलो आर्थिक चलखेल भएको तथ्य पनि पछि बाहिरिएको थियो, जसले फुटबल जगतलाई नै स्तब्ध: बनाएको थियो ।
जब फुटबलले राजनीतिक पर्खाल भत्कायो
यो विश्वकपका केही क्षण यस्ता थिए जसले खेलकुदको वास्तविक शक्ति प्रदर्शन गर्यो । समूह ‘एफ’ अन्तर्गतको इरान र अमेरिकाबीचको खेल यसको ज्वलन्त उदाहरण हो ।
अमेरिकालाई ‘सबैभन्दा ठुलो शैतान’ मान्ने इरानी खेलाडी र अमेरिकी खेलाडीबीचको त्यो भिडन्त राजनीतिक रंगभन्दा माथि उठेर आपसी सद्भावमा टुंगिनु उत्कृष्ट क्षण थियो ।
त्यो खेलमा दुवै टोलीका खेलाडीहरूले मैदानमा फूल साटासाट गर्दै उच्च खेल भावनाको उदाहरण प्रस्तुत गरेका थिए ।

यसैगरी, लामो समयदेखिको रंगभेदी नीतिको कालो बादल चिर्दै दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपमा उपस्थिति जनाएको थियो । क्रोएसियाले पनि आफ्नो स्वतन्त्रताको पहिलो विश्वकपमै उत्कृष्ट छाप छोड्यो ।
केही चर्चा अनि, केही विवाद
यो विश्वकपमा स्टार खेलाडीहरूको चमक जति थियो, विवाद पनि उत्तिकै रह्यो । त्यसमध्ये केही विवादलाई अहिले पनि फुटबलप्रेमीले भुल्न सकेका छैनन् ।
अर्जेन्टिनाका एरियल ओर्टेगाले नेदरल्यान्ड्सका गोलरक्षक एडविन भान डर सारलाई टाउकोले हानेपछि रातो कार्ड पाएका थिए ।
असंख्य फुटबलप्रेमीलाई त्यो क्षणले सन् १९८२ को विश्वकपमा म्याराडोनाले गरेको गल्तीको सम्झना दिलाएको थियो ।
अर्कोतिर, साविक विजेता ब्राजिलका लागि रोनाल्डो सबैको आकर्षण थिए । उनी आफ्नो करिअरको चरम उत्कर्षमा थिए ।
तर, फाइनलको दिन उनलाई के भयो भन्ने कुरा आजसम्म पनि एउटा ठूलो रहस्य बनेर रहेको छ । फाइनलअघि प्लेइङ–११ सूचीमा रोनाल्डोको नाम थिएन ।

पछि उनी टोलीमा त फर्किए तर, मैदानमा उनी ‘असामान्य’जस्तै देखिएका थिए । अत्यधिक तनावका कारण उनको अवस्था त्यस्तो भएको चर्चा चल्यो ।
धेरैले यसलाई प्रायोजकको दबाब वा मनोवैज्ञानिक दबाबका रूपमा हेरे । अन्तत: रोनाल्डोको त्यही कमजोर प्रदर्शनको मूल्य पूरा ब्राजिलले चुकाउनु पर्यो ।
फ्रान्सको ‘स्वर्ण युग’ र जिदानको जादु
घरेलु मैदानमा खेल्दाको दबाब फ्रान्सका लागि निकै ठूलो थियो । समूहगत चरणमै जिनेदिन जिदानले साउदी अरेबियाविरुद्ध रातो कार्ड खाएपछि फ्रान्सको अगाडिको यात्रा कठिन देखिन्थ्यो ।
तर, नकआउट चरणमै जिदानको फिर्तीले टोलीमा नयाँ ऊर्जा थप्यो । त्यसैको परिणाम हो, फ्रान्स समूहगत चरणको तीनवटै खेल जित्दै अगाडि बढ्न सफल भयो ।
खासगरी, पाराग्वेविरुद्धको खेलमा लरेन्ट ब्लान्कले विश्वकप इतिहासको पहिलो ‘गोल्डेन गोल’ गरेपछि फ्रान्सको आत्मविश्वास चुलिन पुग्यो ।
फाइनलमा ब्राजिलविरुद्ध फ्रान्सले हासिल गरेको ३–० गोलको जित सन् १९५८ पछि विश्वकप फाइनलको सबैभन्दा ठूलो गोलअन्तरको जित बन्न पुग्यो ।
मार्सल डिसाइली रातो कार्ड पाएर मैदानबाट बाहिरिए पनि जिदानले इमानुएल पेटिटको कर्नरमा दुईवटा समान शैलीका हेडर गोल गर्दै फ्रान्सलाई उपाधि चुमाए ।
फ्रान्सका लागि यो एउटा उपाधिमात्र थिएन, यसले फुटबललाई देशको राष्ट्रिय गौरवसँग जोड्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

उपाधि जितेपछि फ्रान्सका सडकहरूमा जुन दृश्य देखियो त्यसले फुटबलको गरिमालाई शिखरमा पुर्याउने काम गर्यो । समर्थकहरू खुशीको उन्मादमा जताततै रोइरहेका देखिन्थे ।
जर्मनी र नेदरल्यान्ड्सलाई नवप्रवेशी क्रोएसियाको झट्का
क्रोएसियाले यही संस्करणमार्फत् विश्वकप फुटबलमा ‘डेब्यू’ गरेको थियो । आफ्नो पहिलो सहभागितामै क्रोएसियाले कमालको प्रदर्शन गर्यो ।
समूह ‘एच’मा रहेको क्रोएसिया दुई जित र एक हारको नतिजासँगै ६ अंक बटुलेर दोस्रो हुँदै नकआउट चरणमा पुग्न सफल भयो ।
समूहगत चरणको पहिलो खेलमा क्रोएसियाले जमैकालाई ३–१ गोलले हरायो । दोस्रो खेलमा पनि क्रोएसियाले जापानलाई १–० गोलले पराजित गर्यो ।

आफ्नो तेस्रो खेलमा क्रोएसियन टोली अर्जेन्टिनासँग ०–१ गोलले पराजित भयो । प्रिक्वार्टरफाइनल खेलमा पनि क्रोएसियाले रोमानियालाई १–० गोलले हरायो ।
विजयी यात्रालाई निरन्तरता दिँदै नवप्रवेशी क्रोएसियाले क्वार्टरफाइनलमा बलियो जर्मनीलाई ३–० गोलले हरायो । सेमिफाइनलमा भने क्रोएसियाको टोली फ्रान्ससँग १–२ गोलले पराजित भयो ।
यो विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि खेलिएको खेलमा क्रोएसियाले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई २–१ गोलले हराएको थियो ।

समग्रमा, सन् १९९८ को विश्वकपले फुटबललाई केवल एउटा खेल होइन, एउटा ठूलो ‘गौरव’का रूपमा स्थापित गर्यो । रोनाल्डोको असफलता होस् वा फ्रान्सको ऐतिहासिक उदय, यो विश्वकप सधैं फुटबलको इतिहासको एउटा सुनौलो र रहस्यमय पाना बनेर रहने पक्का छ ।
१६औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :
० क्रोएसियाका सुकरले जितेको गोल्डेन बुट : ६ गोलका साथ क्रोएसियाका डाभोर सुकर सर्वाधिक गोलकर्ता बने । उनले गोल्डेन बटु अवार्ड हात पारे ।
० ६४ खेलमा १७१ गोल : यो विश्वकपमा खेलाइएको ६४ खेलमा कुल एक सय ७१ गोल भयो ।
० पहेँलो कार्डको कीर्तिमान :यो विश्वकपमा रेफ्रीले १८ रातो कार्ड र दुई सय ५० वटा पहेँलो कार्ड प्रयोग गरे । पहेँलो कार्डको संख्या त्यतिबेलासम्मको कीर्तिमान थियो ।
० सबैभन्दा लामो विश्वकप : जुन १० देखि जुलाई १२ तारिखसम्म चलेको यो विश्वकप हालसम्मकै सबैभन्दा लामो (३२ दिनसम्म चलेको) विश्वकप हो । यो कीर्तिमान हालसम्म पनि कायमै छ ।
० ऐतिहासिक स्टेड डी फ्रान्स :यो विश्वकपको मुटु थियो, पेरिसको उपनगर सेन्ट–डेनिसमा निर्मित ‘स्टेड डी फ्रान्स’ । राजनीति, अर्थतन्त्र र राष्ट्रिय गौरवको प्रतीक मानिएको यो रंगशाला त्यही ठाउँ थियो, जहाँ विश्वकपको उद्घाटन र समापन गरिएको थियो । फ्रान्सले आफ्ना नौमध्ये चार खेल यही रंगशालामा खेलेको थियो ।
० कार्डबोर्डको सट्टा विधुतीय बोर्ड :नयाँ प्रयोग : यही विश्वकपबाट फुटबलमा धेरै नवीनता थपिएका थिए । पहिलोपटक चौथो अफिसियलले कार्डबोर्डको सट्टा विद्युतीय बोर्डको प्रयोग गरिएको थियो ।
० खतरनाक ट्याकलमा प्रतिबन्ध :यही विश्वकपबाट ‘गोल्डेन गोल’को नियम र पछाडिबाट गरिने खतरनाक ट्याकलमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।
० रिकी मार्टिनको कालजयी गीत :यो विश्वकपमा रिकी मार्टिनको स्वरमा गुञ्जिएको ‘द कप अफ लाइफ’ बोलको गीत विश्वभरि नै ‘फुटबल प्रतिक’ बन्यो ।
० एडिडासको विशेष बल :यो विश्वकपमा एडिडासको ‘ट्रिकोलोर’ बलले पहिलोपटक बहु–रङको प्रयोग गर्दै समर्थकको मन जित्यो ।
० विरासत :फ्रान्सको यो आयोजना यति भव्य थियो कि, फिफाका तत्कालीन मानार्थ अध्यक्ष जोआओ हाभेलांगेले यसलाई ‘सधैं सम्झिरहने प्रतियोगिता’को संज्ञा दिएका थिए ।