एक दशक जेल सजाय भोगेका व्यक्ति । जेलबाट निस्किएपछि फेरि डाँकाचोरीमा पक्राउ । अदालतबाट ६ वर्ष कैद सजाय । त्यसपछि कारागारबाट फरार । अनि, श्रृंखलाबद्ध लुटपाट !
यो कुनै अपराध कथाको काल्पनिक पात्रको विवरण होइन । यो हो गणेश कार्कीको वास्तविक कथा, जसको नाम पछिल्लो समय काठमाडौं उपत्यकामा भएका विभिन्न लुटपाट, चोरी र आपराधिक घटनासँग जोडिएको छ ।
प्रहरीले हालै सुकेधारामा खुर्सानीको धुलो छर्केर गरिएको लुटपाटको घटनामा कार्कीलाई पक्राउ गरेपछि उनको विगत फेरि चर्चामा आएको छ । अनुसन्धानबाट सार्वजनिक भएका विवरणले कार्कीको अपराध यात्रा दुई दशक लामो रहेको देखाउँछ ।
सुकेधारा काण्डदेखि पक्राउसम्म
यही जेठ १६ गते दिउँसो करिब १ बजेर २३ मिनेटमा काठमाडौंको सुकेधारा क्षेत्रमा एक महिलामाथि लुटपाट भयो । अपरिचित व्यक्तिले महिलाको आँखामा खुर्सानीको धुलो फालेपछि उनी केही समय असहाय भइन् । त्यही मौकामा महिलाको सिक्री र मोबाइल फोन लुटियो ।
घटनापछि प्रहरीले अनुसन्धान शुरू गर्यो । सीसीटीभीमा शंकास्पद व्यक्ति भाग्दै गरेको देखियो । सोही दिन साँझ विष्णु गुरुङ पक्राउ परे । गुरुङको बयानका आधारमा राति जडिबुटीस्थित मनोहरा खोला करिडोरबाट गणेश कार्कीलाई पक्राउ गरिएको थियो । तर पक्राउ प्रक्रिया सहज थिएन ।
प्रहरीका अनुसार कार्कीले नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि नै खुर्सानीको धुलो छर्किए । उनले खुकुरी देखाएर प्रतिरोध गर्न खोजेपछि प्रहरीले एक राउण्ड गोली चलायो । गोली उनको बाँया खुट्टामा लाग्यो र त्यसपछि उनी नियन्त्रणमा आए । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले उनीहरूको साथबाट लुटिएको सिक्री, मोबाइल फोन र खुकुरी बरामद गरेको छ ।
प्रहरीको जागिरबाट भागेर अपराधको बाटोमा
प्रहरी अभिलेखअनुसार कार्की २०६१ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए । तर चार वर्षपछि उनी ड्युटीमा नफर्किएर सम्पर्कविहीन बने ।
त्यसपछि उनको नाम पहिलो पटक २०६४ मंसिरमा अभद्र व्यवहार कसुरमा प्रहरीको अभिलेखमा देखियो । त्यसको एक महिनापछि हातहतियार तथा खरखजाना कसुरमा पक्राउ परे । यी घटनाहरू उनको अपराध यात्राको शुरूआती अध्याय मात्र थिए ।
२०६८ वैशाख २ गते कार्की कर्तव्य ज्यान मुद्दामा पक्राउ परे । बौद्ध क्षेत्रमा एक व्यक्तिको हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनले २०६८ असार २० गतेदेखि २०७८ असोज ३ गतेसम्म जेल सजाय भोगे ।
झण्डै १० वर्ष जेल जीवन बिताएपछि उनी बाहिरिए । तर त्यो सजायले उनको जीवनशैली परिवर्तन गर्न सकेन । जेलबाट निस्किएपछि फेरि अपराधमा संलग्न हुन थाले ।
२०७८ फागुन ३ गते चोरी कसुरमा पक्राउ परेका कार्की धरौटीमा छुटे । तर केही दिनमै फेरि डाँकाचोरी मुद्दामा पक्राउ परे ।
अदालतले उनलाई ६ वर्ष कैद सजाय सुनायो । त्यसपछि उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए । तर जेनजी आन्दोलनका क्रममा उनी गत भदौ २४ गते उनी कारागारबाट फरार भए ।
प्रहरी अनुसन्धान अनुसार फरार भएपछि कार्की काठमाडौंका विभिन्न क्षेत्रमा सक्रिय भए ।
कपनमा प्रहरीमाथि खुर्सानीको धुलो फालेर आक्रमण गरेको, गौशालामा बिजुली पसलमा चोरी तथा लुटपाट गरेको, विदेश जान लागेका व्यक्तिबाट नगद र मोबाइल लुटेको, शान्तिनगरमा मोबाइल खोसेको तथा तिलगंगामा आफूलाई प्रहरी परिचय दिँदै नगद असुलेको आरोप उनीमाथि छ ।
त्यति मात्र होइन, पशुपति क्षेत्र, जोरपाटी, सुन्दरीजल र एयरपोर्ट आसपासका विभिन्न घटनामा पनि उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।
प्रहरी स्रोतका अनुसार अपराधपछि उनी केही समय भारतको बेङ्लोरसम्म पुगेका थिए । त्यहाँ पुगेको सूचना पाएपछि पनि प्रहरी निगरानीमा थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार घटनामा संलग्न दुवै आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।
भिडियो सामग्री :