
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
समितिका सचिव दिनेश थापामगरद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि अनुसन्धान चलिरहेका बेला यादवलाई सभापतिको जिम्मेवारीमा रहन नपाउने गरी निलम्बन गरिएको हो ।
अनुशासन समितिले यादवसँग पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेको थियो । तर दुवैपटक उनले जवाफ नदिएको विज्ञप्तिमा उल्लेख छ । अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने निष्कर्षसहित अन्तिम निर्णय नभएसम्मका लागि उनलाई निलम्बन गरिएको समितिले जनाएको छ ।
त्यस्तै, सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतका प्रदेशसभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायविरुद्ध पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको उजुरी परेको थियो ।
छानबिनपछि उनीहरूसँग स्पष्टीकरण मागिएकोमा तीनै जनाले आफूमाथिका आरोप असत्य र निराधार रहेको जवाफ दिएका थिए । उनीहरूको स्पष्टीकरणपछि समितिले थप कारबाही नगरी पार्टी विधान, नियमावली र पदीय जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएको छ ।
यस्तै, बारा कांग्रेसका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीबारे पनि अनुशासन समितिले छानबिन गरेको थियो । उनले दिएको स्पष्टीकरण सन्तोषजनक रहेको र अध्ययनका क्रममा आरोप पुष्टि हुने आधार नदेखिएको भन्दै समितिले उनलाई सफाइ दिएको छ ।
अनुशासन समितिले प्रतिनिधिसभा उपनिर्वाचनका क्रममा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा परेका विभिन्न उजुरीमाथि अनुसन्धान र आवश्यक कारबाहीको प्रक्रिया जारी रहेको जनाएको छ ।

