
उपचारका नाममा कैदीलाई प्रहरीले गेष्टहाउस पुर्याएर एक युवतीसँग भेटाइ मासु र बियर खुवाएको घटना बाहिरिएको छ ।
ठगी अपराधमा केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका अनुप भण्डारी नामका कैदीलाई प्रहरीले अस्पतालको बहानामा गेष्टहाउस पुर्याएको घटना बाहिरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले यो घटनाको छानबिन समिति बनाएको थियो । छानबिन समितिले प्रतिवेदन बुझाउँदै घटनामा संलग्न दुई प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ।
घटना, यही जेठ १ गतेको हो । कारागार प्रशासनको पत्रका आधारमा नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नाथदेवलले भण्डारीलाई उपचारका लागि सामाखुसीस्थित अस्पताल लैजान प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई खटाएको थियो ।
तर, भण्डारीलाई अस्पतालबाट फर्काएर सामाखुसीस्थित दीप सागर गेष्टहाउसमा लगियो । त्यहाँ उनले बियर तथा मासु मात्रै सेवन गरेनन्, एक युवतीसँग करिब तीन घण्टा समय बिताएको विषय छानबिन समितिले प्रतिवेदनमा औंल्याएको छ ।
गेष्टहाउस व्यवस्थापन पक्षले समेत भण्डारी होटलको कोठामा बसेको पुष्टि गरेका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मी नेतृत्वको टोलीले आन्तरिक छानबिन गर्दा उक्त तथ्य फेला परेको हो ।
समितिले कार्यालय प्रमुख एआईजी ईश्वर कार्कीलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा संवेदनशील जिम्मेवारीमा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै सहायक हवल्दार कुँवर र जवान विकलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।
उपत्यका प्रहरी प्रमुख, एआइजी ईश्वर कार्की घटनाको छानबिन गर्न बनेको समितिले प्रतिवेदन आफूलाई बुझाएको जानकारी दिए ।
उनले लोकान्तरसँग भने,‘प्रतिवेदन भर्खरै पाएको छु, अध्ययन भइरहेको छ । लापरबाही गर्नेलाई विभागीय कारबाही हुन्छ ।’