
करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका सवारी चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई हाल काठमाडौंको वनस्थली बस्ने ५० वर्षीय कमलनारायण विश्वास छन् ।
उनलाई भिजिट भिसामा काठमाडौंबाट मलेसिया प्रस्थान गर्ने क्रममा मंगलबार दिउँसो पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उनी विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र ग्राउन्ड इक्विपमेन्ट अपरेटर (जीईओ)को रूपमा कार्यरत रहेको पाइएको छ । प्रहरीका अनुसार उनी नेपालबाट विभिन्न समयमा २६ पटक बाह्य मुलुकतर्फ यात्रा गरेको खुलेको छ ।
उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, पठाइएको प्रहरीले जनाएको छ ।
