
नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यका साथ मिड–भ्याली इन्टरनेसनल कलेज (एमभीआईसी) र वाइजएडमिटबीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सहकार्यमार्फत चीनको प्रतिष्ठित नान्जिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एनयूएए)सँग शैक्षिक तथा प्राविधिक सम्बन्ध विस्तार गरिने जनाइएको छ ।
एरोनटिक्स, इन्जिनियरिङ, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा चीनकै अग्रणी विश्वविद्यालयमध्ये एक मानिने एनयूएएसँगको सहकार्यले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार एनयूएएका प्राध्यापक, अनुसन्धानकर्ता तथा शैक्षिक विज्ञहरूको टोली नेपाल आउनेछ । टोलीले एमभीआईसीमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, चिनियाँ भाषा, अन्तर्राष्ट्रिय व्यापार तथा नवप्रवर्तनसम्बन्धी विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछ । यस पहलका लागि एमभईआईसी नेपालका लागि विशेष साझेदार संस्थाका रूपमा रहनेछ ।
सहकार्यअन्तर्गत सञ्चालन हुने कार्यक्रमबाट विद्यार्थी, शिक्षक तथा युवा नवप्रवर्तकहरूले विश्व अर्थतन्त्रलाई रूपान्तरण गरिरहेका अत्याधुनिक प्रविधि र नवप्रवर्तनका क्षेत्रबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नेछन् । साथै एआई, स्वचालन, स्मार्ट उत्पादन, ड्रोन प्रविधि, उद्यमशीलता तथा अन्तरदेशीय व्यापारका सम्भावनाबारे समेत जानकारी हासिल गर्न सक्नेछन् ।
सम्झौताले नेपाली विद्यार्थीलाई चीनमा सञ्चालन हुने समर इमर्सन कार्यक्रम, इन्क्युबेसन कार्यक्रम तथा नवप्रवर्तनमा आधारित अध्ययन–अवलोकन कार्यक्रममा सहभागी हुने अवसरसमेत प्रदान गर्नेछ । यस्ता कार्यक्रममार्फत विद्यार्थीले चीनको तीव्र रूपमा विकसित हुँदै गएको अनुसन्धान वातावरण, नवप्रवर्तन प्रणाली र अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासलाई नजिकबाट बुझ्न सक्ने विश्वास गरिएको छ ।
सम्झौता हस्ताक्षर समारोहमा एमभीआईसीकी प्रबन्ध निर्देशक रितल राणाले उक्त सहकार्यले कलेजको अन्तर्राष्ट्रियकरण, नवप्रवर्तन, उद्यमशीलता तथा भविष्य–मुखी शिक्षाप्रतिको प्रतिबद्धता झल्काएको बताइन् । नेपाली विद्यार्थीलाई विश्वस्तरीय सिकाइ वातावरण र उदीयमान प्रविधिसँग जोड्नु समयको आवश्यकता रहेको उनको भनाइ थियो ।
वाइजएडमिटका प्रमुख कार्यकारी अधिकृत डा. रुपेश रेग्मीले विश्व एआई, रोबोटिक्स तथा प्रविधिमा आधारित उद्योगतर्फ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै नेपाली युवालाई यस्ता अवसरबाट लाभान्वित गराउन सहकार्य महत्त्वपूर्ण हुने बताए । उनले यस साझेदारीले नेपाल र चीनबीचको शैक्षिक तथा नवप्रवर्तनसम्बन्धी सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
एमभीआईसी, वाइजएडमिट र एनयूएएबीचको सहकार्यले नेपाल–चीन शैक्षिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव, अत्याधुनिक प्रविधि र नवप्रवर्तन–केन्द्रित करियर अवसरसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।