
'मामा मेरो एकजना साथी हुनुहुन्छ, डिनर उहाँसँगै गरौं । म उहाँसँग हजुरलाई चिनाउँछु पनि । उहाँको कथा तपाईँलाई रोचक लाग्न सक्छ ।'
करिब १२ वर्षदेखि डेनमार्कको राजधानी कोपनहेगनमा व्यवसाय गर्दै आएका भाञ्जा शिव शर्माले प्रस्ताव गरे ।
हामी डिनरका लागि शिव भाञ्जाको अपार्टमेन्टबाट साँझ ८ बजे निस्कियौं । यता नेपालमा रातिको १२ बजिसकेको थियो ।
कोपनहेगनको मुख्य बजार सेन्ट्रल स्टेसन पछाडिको भेस्टर्बो भन्ने स्थानमा रहेको एउटा रेस्टुरेन्टमा हामी डिनरका लागि बस्यौँ ।
केही बेरमा आइपुगे परवेज आलम । भाञ्जाले मलाई उनीसँग परिचय गराए ।

'तपाईँको रोचक कथा मामालाई सुनाउन सक्नुहुन्छ' भाञ्जाले कुराकानीको शुरूआतमै भने ।
'संघर्षका दिनका आफ्नै कथा–व्यथा छन् । पीडा छन् । सम्झँदा पनि कहिलेकाहीँ मुटु भरिएर आउँछ..., उनी खुल्न थाले ।
जब म काम नपाएर छटपटिरहेको थिएँ, अचानक एकदिन रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाएँ । दिनभरि भाँडा माझेँ । बेलुका घर जाने बेला हातभरि घाउ लागेको थियो । कोठामा गएर बेसरी रोएँ । रातभरि रोए । धरधरी रोए,' परवेजले कुराकानीको शुरूमै सर्वाधिक पीडा भोगेको दिनको स्मरण गरे ।
पूरैनियादेखि कोपनहेगनसम्म
बाराको कलैयास्थित पूरैनिया गाउँमा जन्मेका परवेजले वीरगञ्जको ज्ञानज्योति सेकेन्डरी स्कूलबाट एसएलसी उत्तीर्ण गरे । अनि, ‘प्लस टू’ पढ्न काठमाडौं हानिए । सन् २००६ मा उनी कुमारीपाटीमा रहेको मिलियम्स कलेजमा कक्षा ११ मा भर्ना भए ।
प्लस टू पढ्दा पढ्दै उनले पुल्चोकमा रहेको अफटेकमा कम्प्युटर क्लास लिन थाले । सूचना प्रविधिमा रुचि भएका परवेजले सफ्टवेयरको काम सिकेर ट्रेनिङ गरेकै इन्स्टिच्युटमा पार्ट टाइम जागिर पाए । सन् २००६—००७ सम्म पनि नेपालमा कम्युटर र ल्यापटप सहज थिएन ।
काठमाडौंमा प्लस टू सकेर प्रवेश ब्याचलर्स गर्नका लागि भारतको बैंङ्लुरु गए । बैंङ्लुरुको आईटी युनिभर्सिटीबाट ब्याचलर्स सकेर उनी पुन: काठमाडौं फर्किए । परवेजले काठमाडौं फर्केपछि पुरानै ठाउँ अफटेकमा काम पाए— टिचरका रूपमा ।
एफटेकसँगै उनले एस, प्राइम, डीएभीजस्ता कलेजमा कम्युटर पढाउन थाले । ‘एडभान्स एक्सल’का एक्सपर्ट रहेका परवेजलाई कलेज मात्र होइन, कर्पोरेट क्षेत्रमा पनि कामको अफर आइरहेको थियो ।
मोरङ अटो तथा बतास र जय नेपाल तथा कुमारीमा कम्पनीमा उनले एड्भान्स एक्सेल क्लास लिने काम गरे । त्यो बेला पनि उनले ६ दिनको कोर्सको ५० हजार रूपैयाँ पाउने गरेका थिए । त्यो ६ दिनको क्लासमा ६० देखि सय जना मान्छे हुन्थे ।
अफटेक जमलमा काम गर्दागर्दै उनले लर्डबुद्ध एकेडमीबाट एमएस्सी आईटीको अध्ययन पूरा गरे । अफटेकमा काम गर्दै कलेज पढाउने र अन्य कर्पोरेट अफिसको काम पाइरहेका थिए, यो सन् २०१० तिरको कुरा हो ।
परवेजले अफटेकमा काम गरिरहेको समयमा कृष्ण पाण्डे र मञ्जित शाहले एनआईटीको स्वामित्व लिए, जहाँ उनलाई काम गर्ने अफर आयो । उनले सेन्टर म्यानेजरको रूपमा केही समय काम गरे ।
‘अरूको जागिर कति गर्ने, बरु आफ्नै व्यवसाय शुरू गर्छु’ भनेर उनी पोखरा गए । पोखरामा कम्युटर प्रोग्रामिङ र सफ्टवेर इन्स्टिच्युट थिएनन् । आफ्नै व्यवसाय शुरू गर्ने योजना बनाउँदा बनाउँदै परवेजलाई अर्को अफर आयो— एनआईटीमा शेयरसहित म्यानेजर पद ।
एनआईटीको म्यानेजरका रूपमा परवेजले सन् २०११ देखि १७ सम्म काम गरे । त्यो बेला प्राय: इन्जिनियरिङ कलेजका विद्यार्थीले ट्रेनिङ गर्ने ठाउँ एनआईटी हुन्थ्यो ।

****
नेपालमा जागिर ठीकठाक चलिरहेको थियो, तर परवेजले नयाँ चुनौती सामना गर्न विदेशको बाटो रोजे । उनी २०१७ को सेप्टेम्बरमा डेनमार्क छिरे । नेपालमा आईटी क्षेत्रमा स्थापित भइसकेका परवेजलाई डेनमार्कमा शून्यबाट संघर्ष गर्नुपर्यो ।
आईटीको मान्छे भएकाले उनले सोही क्षेत्रको काम गर्न खोजे, तर त्यो सम्भव भएन । नेपाली स्टुडेन्टलाई शुरूमा सीपीआर पाउनै समस्या भयो ।
एक जनाले अफर गरे– भिल्लामा पेन्ट गर्दिए सीपीआरका लागि मद्दत गर्छु । उनले त्यसै गरे, भिल्ला रंग्याइदिए पछि मात्र उनले सीपीआर पाए ।
सीपीआर त पाए, जागिर पाउनु अर्को चुनौती थियो । नेपालमा आईटी पढाएका कारण उनको नेटवर्क फराकिलो थियो, आफैंले पढाएका विद्यार्थीले काम खोज्न मद्दत गरे ।
काम पाइयो— डिस वास अर्थात् भाँडा माझ्ने ।
प्राय: नेपालीले विदेशमा शुरू गर्ने पहिलो जब त्यही नै हो, डिस वास । कसैले यो खुलेर भन्छन्, कसैले भन्दैनन् । तर, परवेज आफ्नो संघर्षको कथा लुकाउँदैनन् ।
परवेज बल्ल–बल्ल पाएको अवसर गुमाउन चाहँदैन थिए । भारतीय नागरिकको रेस्टुरेन्टमा भाँडा माझ्ने काम शुरू गरे, तर तलब आकर्षक थिएन । तैपनि उनले साँझ ५ देखि राति १२ बजेसम्म भाँडा माझ्ने काम गरे ।
काठमाडौंमा आईटी कम्पनीको म्यानेजर भएर काम गर्दागर्दै डेनमार्क आएका परवेजलाई भाडा माझ्ने काम शुरू गर्दा एक प्रकारको बेचैनी भयो ।
‘पहिलो दिन रेस्टुरेन्टका ठूल्ठूला भाँडा माझेर घर पुग्दा हात पटपटी फुटको थियो, औँलाबाट रगत आएछ । त्यसपछि रातभरि रोएँ, केटा मान्छे भएर पनि रोएँ,’ परवेजले विदेशी भूमिमा पहिलो जागिरको पहिलो दिनको स्मरण गरे । आफैंले रोजेको बाटो भएकाले उनले कामलाई निरन्तरता दिए ।
नेपालमा भाँडा माझ्ने कामलाई हेयको दृष्टिले हेरे पनि युरोपमा काम सानो–ठूलो भन्ने छैन ।
भाडा माझ्ने कामसँगै उनलाई कसैले अर्को कामको अफर दियो— बिहानको समयमा पत्रिका बाँड्ने । ‘त्यो काम मेरो लागि सर्वाधिक कठिन थियो । माइनस ९ डिग्रीको चिसोमा नेपालबाट ल्याएको जुत्ता र पेन्टले कति थेग्थ्यो होला । हिउँ नै हिउँ भएको ठाउँमा बिहानमा दैनिक साढे ३ घण्टा साइकलमा पत्रिका बाँड्ने काम गरेँ,’ आफैँ म्यानेजर रहेको कोपनहेगनको रेस्टुरेन्टमा उनले शुरूआति संघर्षका कथा सुनाए ।
काम कठिन भएपनि प्रतिघण्टा सय डेनिस क्रोन पाउने भएकाले त्यो जागिरलाई उनी निरन्तरता दिन चाहन्थे । ‘बिहान पत्रिका बाँड्ने र साँझ भाँडा माझ्ने काम चलिरहेको थियो । दिउँसोको समयमा क्लिनिङको समेत काम पाएँ,’ परवेजले सुनाए ।
रेस्टुरेन्टको किचनमा काम गर्दा सेफले उनको लगाव देखेर भाडा माझ्ने काम छाडेर खाना बनाउने काममा लगाए । ‘सेफले किचनमा कोल्ड सेक्सनमा काम सिकाउनु भयो । कोल्ड सेक्सनमा सलाद बनाउने काम गर्दागर्दै हट सेक्सनमा पनि काम सिकाउनु भयो । यसरी आईटी पढेको मान्छे रेस्टुरेन्टमा सेफ बन्न सफल भएँ,’ परवेजले सुनाए ।
सेफ भएर २ वर्ष काम गरेपछि परवेज नेपाल फर्किए, एक महिना लामो बिदामा । नेपालबाट फर्केपछि उनलाई केही नयाँ काम गर्ने इच्छा भयो ।

‘लेट्स समथिङ न्यु’ भनेर सन् २०२० मा मेक्सिकन रेस्टुराँका लागि इन्टरभ्यु दिएँ । यो रेस्टुराँको किचेन म्यानेजर वसन्तराज लामिछाने हुनुहुन्थ्यो । उहाँको पनि राम्रो सहयोग पाएँ । काममा बोलायो । त्यहाँ हप्ताको एक दिन काम गरेँ, पुरानो ठाउँमा हप्ताको ५ दिन । पुरानो ठाउँमा किचन असिस्टेन्ट थिएँ, नयाँ ठाउँमा फुलटाइम अफर गर्यो ५ महिनापछि । पुरानो काम छाड्दिएँ । पत्रिका बाँड्ने काम पनि छाड्दिएँ’, परवेजले भने ।
रेस्टुरेन्टमा काम गर्दागर्दै उनले अर्को काम पनि शुरू गरे, इलुम मलमा ४ घण्टा क्लिनिङ ।
रेस्टुरेन्टका मालिकले अर्को रेस्टुरेन्ट खोल्ने तयारीसहित परवेजलाई म्यानेजर बन्न अफर गरे, उनले स्वीकारे । परवेजलाई भेन्यु म्यानेजर बनाइयो ।
‘मेरो पोटेन्सियल देखेर मलाई विश्वास गरे । २०२० जुनमा नयाँ रेस्टुराँमा सेफको काम शुरू गरेँ । संयोग भन्नुपर्छ, म सेफ भएको रेस्टुरेन्ट खोलेदेखि कहिल्यै घाटामा गएन,’ उनले भने ।
परवेजको ‘हार्ड वर्क’ र भिजन देखेर रेस्टुराँको मालिक प्रभावित थिए । उनले ‘कन्ट्याक्टर’ मार्फत नभई सिधै कामदार लिने योजना बनाए ।
नेपाली समुदायका विद्यार्थी पर्याप्त रहेकाले उनीहरूलाई समेत जागिर दिनेगरी आफ्नै ‘क्लिनिङ टीम’ बनाउन सकिने योजना परवेजले अगाडि सारे । यसो गर्दा रेस्टुरेन्टको खर्च कम हुन्थ्यो, मालिकलाई त्यो कुरा खुबै मन पर्यो ।
‘मेरो आईडिया मन परेपछि मलाई भेन्यु म्यानेजरको जिम्मा दिइयो । त्यसपछि मैले ३ दिन किचनमा काम गर्ने र २ दिन सम्पूर्णको म्यानेज गर्ने जिम्मा पाएँ । मान्छे हायर एन्ड फायर गर्नेदेखि लिएर फुड कस्ट घटाउने र डेली अपरेसनको कुरा गन थालें,’ परवेजले सुनाए ।
रेस्टुरेन्ट ओनरका आमा इजरायली र बाबु डेनिस नागरिक हुन् । उनका रेस्टुरेन्ट कोपनहेगनमा रहेकामध्ये उत्कृष्ट मानिन्छन् ।

रेस्टुरेन्टमा जागिर गरिरहेका परवेजलाई अवसरले पच्छ्याउन छाडेन । सन् २०२२ मा एक्सल टर्बमा अर्को रेस्टुरेन्ट खोलेपछि त्यहाँको पनि म्यानेजरको जिम्मा आइलाग्यो ।
डेनमार्कमा जुन महिनाको अन्तिममा ‘रस्किल फेस्टिभल’ आयोजना हुन्छ । त्यो कामको लिड गर्ने अवसर पनि परवेजको काँधमा आइलाग्यो ।
‘खेतमा किचन बनाएर गर्नुपर्ने त्यो फेस्टिभलबाट ४ दिनमा १ दशमलव ४ मिलियन क्रोनर जम्मा भयो, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी थियो । उनीहरूले नसकेको काम भयो,’ परवेजले भने ।
त्यसपछि उनै मालिकले अर्को रेस्टुरेन्ट खोले ‘मिडिल स्टन रेस्टुरेन्ट लेविन्टिन’ २०२४ मा । सोसहित परवेजले अहिले ५ वटा रेस्टुरेन्ट हेरिरहेका छन्– डिस्ट्रिक्ट म्यानेजरका रूपमा ।
परवेज म्यानेजर रहेका ५ वटा रेस्टुरेन्टमा ४० जना नेपाली काम गर्छन्, परवेजकै च्यानलबाट उनीहरूले काम पाएका हुन् । क्लिनिङमा १० जना नेपाली महिला छन्, रेस्टुरेन्टमा काम गर्ने बहुसंख्यक कामदार युरोपेली देशका छन् ।

रेस्टुरेन्टको म्यानेजर रहेका परवेजलाई २०२२ तिर फेरि डेनिस आईटी कम्पनीमा काम गर्ने अफर आएको थियो । अन्तवार्तामा सेलेक्ट भए, तर परवेजले रेस्टुरेन्टकै कामलाई निरन्तरता दिने निर्णय गरे ।
‘आईटीमा गए पनि अरूको काम गर्नुपर्ने हो, यहाँ मेरो अन्डरमा १० जना म्यानेजर छन् । यहाँ म्यानेजमेन्ट आइडिया सिकेर डेफ्थ नलेज भइसकेको थियो । यताको काम इन्जोय गरेको थिएँ । मेरो अन्डरमा १०० जना भन्दा बढी स्टाफ भएकाले यतैको काम रोजें,’ उनले भने ।
५ वटा रेस्टुरेन्टको म्यानेजर रहेका परवेजको सफलताको एउटै फर्मुला छ— 'मान्छेमा इमान्दारिता हुनुपर्छ । अनेस्ट भयो भने लक हुन्छ । काम सानो ठूलो हुँदैन ।’ त्यही फर्मुलाले उनलाई छोटो समयमा ‘डिस वासदेखि म्यानेजर’सम्मको जिम्मेवारीमा पुर्यायो ।
भविष्यमा स्वदेश फर्किने,सीप बाँड्ने र रोजगारी सिर्जना गर्ने
युरोपमा आकर्षक सेवा सुविधासहित काम गरिरहेका परवेजको मनमा भने स्वदेश नै छ । भविष्यमा स्वदेश फर्केर रोजगारी सिर्जना गर्ने र आफ्नो सीप अरूलाई बाँड्ने योजना उनी सुनाउँछन् ।
‘म बारा पूरैनिया गाउँको मान्छे । मेरो आमालाई म के गर्छु भनेर बुझाउन सक्दिनँ । जे होस्, आमा खुसी हुनुहुन्छ । हाम्रो ठाउँबाट विदेश जाने भनेको खाडी मुलुकमा हो । अहिले बल्ल अस्ट्रेलिया-युरोप जान थालेका छन्,’ परवेजले भने ।
विदेश भनेकै दुबई/कतार भन्ने परम्परा रहेकोमा अहिले छोराछोरीलाई पढाएर युरोप–अमेरिका पठाउनुपर्छ भन्ने चेतना जागृत भएको उनले सुनाए ।
‘काठमाडौंमा धेरै बसेको हुनाले यहाँ जे सिकेको छु, त्यहीँ गएर आफ्नो सीप बाँडौँ भन्ने धोको छ । ढिलो–चाँडो फर्किने त नेपालमै हो,’ उनले भने ।