
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गएराति भएको घटनामा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले गोली हान्ने आदेश नदिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त डीएसपी चन्द्रबहादुर खडकाले सीडीओले गोली हान्ने आदेश नदिएको बताए । उनका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले गोली चलाएका थिए । ‘हाम्रो देवागञ्जको इन्स्पेक्टसा‘वले ३ राउन्ड हवाई फायर गर्नुभएको छ,’ डीएसपी खडकाले लोकान्तरसँग भने, ‘सशस्त्रको तर्फबाट २२ राउन्ड भएको छ । थप अनुसन्धान भइरहेको छ ।’
दुई समुदायबीचको विवादले उग्र रूप लिँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको हिंसात्मक झडप नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि दुई पालिकामा कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले बिहान ७ बजेदेखि लागु हुनेगरी हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् । घटनापछि बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार सोमबार साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ घिमिरेले सूचना जारी गरी जानकारी दिए । निषेधाज्ञा अवधिभर एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लंघन भए ५०० रूपैयाँ जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने पनि प्रजिअ घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ ।
सुनसरी प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि डीजे बजाउने विषयमा भएको विवाद झडपमा परिणत भएको थियो । घटनामा देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । झडप नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याउनासाथ आइतबार राति ११:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
हिंसात्मक झडपमा परी सुरक्षाकर्मी र सर्वसाधारण गरी २२ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना सर्वसाधारण, ८ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् ।
नेपाल प्रहरीतर्फ इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे सोमबारको व्रतका लागि(बोलबम)सप्तकोशीमा पानी लिन क्रममा केही युवाहरूले डीजेसहित जाने तयारीमा थिए । बोलबम यात्राका लागि युवाहरूको एउटा समूह डीजे बजाउँदै सप्तकोसीतर्फ जाने तयारीमा थियो । डीजेको आवाजलाई लिएर अर्को पक्षले विरोध गरेपछि शुरू भएको सामान्य भनाभन केहीबेरमै हिंसात्मक झडपमा परिणत भएको थियो । दुवै पक्षबाट लाठी, ढुंगा, चिर्पट र भाला प्रहार हुन थालेपछि कप्तानगन्ज बजार क्षेत्र तनावग्रस्त बनेको थियो । उत्तेजित भिडले स्थानीयका घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोड र आगजनीको प्रयाससमेत गरेका थिए ।
तनावपूर्ण स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रुग्यास र हवाई फायर गरेको थियो । तर, दुवै पक्षबाट सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि राति १०:४५ बजे सशस्त्र प्रहरीले गोली चलाउनु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
हाल घटनास्थलमा कोशी प्रदेश प्रहरी गण र दंगा नियन्त्रण गण दुहबीसहित ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले थप क्षति हुन नदिन सुरक्षा व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको छ । प्रहरीका अनुसार हाल अवस्था नियन्त्रणमा रहेको र दुवै पक्षबीच छलफलको प्रयास भइरहेको छ ।