
प्रसिद्ध फर्मास्युटिकल कम्पनी जनसन एन्ड जनसनले आफ्ना बेबी पाउडर र टाल्कमयुक्त उत्पादनहरूले पाठेघरको डिम्बाशय (ओभेरियन) क्यान्सर गराएको आरोपसहित दायर गरिएका हजारौँ मुद्दा टुङ्ग्याउन ५.५ अर्ब डलरसम्म क्षतिपूर्तिस्वरूप दिने प्रस्ताव गरेको छ।
न्युजर्सीस्थित स्वास्थ्य सेवा कम्पनीलाई वर्षौँदेखि दबाबमा राख्दै आएको यो ठूलो कानुनी विवादलाई अन्त्य गर्ने उद्देश्यले यो प्रस्ताव अगाडि सारिएको हो ।
यद्यपि, जनसन एन्ड जनसनले भने यी आरोपहरूको सधैँ खण्डन गर्दै आएको छ। कम्पनीको टाल्कमयुक्त उत्पादनहरूले क्यान्सर नबनाउने दाबी गर्दै आएको कम्पनीले आफ्ना लोकप्रिय बेबी पाउडरको फर्मुलामा समेत परिवर्तन गरिसकेको छ।
सोमबार कम्पनीका लिटिगेशन मामिलाका भाइस प्रेसिडेन्ट एरिक हासले यी आरोपहरू पूर्ण रूपमा आधारहीन भएको बताएका छन्। यो लामो विवादलाई सधैँका लागि अन्त्य गर्ने मुख्य उद्देश्यले मात्र कम्पनी सम्झौता गर्न तयार भएको उनले स्पष्ट पारेका छन्।
कम्पनीले दिएको जानकारीअनुसार यस सम्झौताअन्तर्गत उसले आगामी वर्ष ३ अर्ब डलरसम्म भुक्तानी गर्नेछ। त्यसपछि भने सन् २०२८ भन्दा अगाडि अर्को कुनै अतिरिक्त भुक्तानी गर्नुपर्ने छैन ।