
बाग्लुङको बडिगाड गाउँपालिका– १ का १७ वर्षीय लजिन थापा हत्या प्रकरणमा गम्भीर तथ्य फेला परेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आइफोनको लोभ घटनाको मुख्य कारणका रूपमा देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धानबारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार काठमाडौंमा ठूलोबुवाको घरमा बसेर अध्ययन गरिरहेका लजिन साउन १ गते राति साथी असिम वनको जन्मदिन मनाउन बडिगाड गाउँपालिका–१ स्थित दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए ।
त्यहाँबाट घर नफर्किएपछि उनका आफन्तले साउन २ गते इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए ।
निवेदन प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गलकोट, जिल्ला प्रहरी कार्यालय बागलुङ र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट संयुक्त टोली परिचालन गरिएको थियो ।
अनुसन्धानका क्रममा प्राविधिक विश्लेषण, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोग समेत लिइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार साउन १ गते राति लजिनसहित सातजना साथी दगातुन्डाँडा प्राथमिक विद्यालयमा बसेर भोलिपल्ट साउन २ गते बिहान करिब ३ बजेसम्म मदिरा सेवन गरेका थिए ।
उनीसँगै मदिरा सेवन गर्नेमा स्थानीय सुदीप विक, रेमबहादुर विक, धनबहादुर विक, ददी परियार, असिम वन र रिजन परियार थिए ।
प्रहरीले सोधपुछका क्रममा घर फर्कने क्रममा विवाद हुँदा ददी परियार र रेमबहादुर विकले लजिनलाई कुटपिट गरेको स्वीकार गरेका थिए । तर, लजिनको हत्या शुरूमा स्वीकार गरेनन् । परिवारले जाहेरी दिएपछि लजिनसँग साउन १ गते राति बसेर मदिरा सेवन गरेका व्यक्तिहरूमाथि अनुसन्धान शुरू भयो ।
रेम र ददीले कहिले गोठमा सुताइदिएको, कहिले जंगलमा छाडेर आएको जस्ता अमूर्त कुरा गरेपछि प्रहरीले सूक्ष्म अनुसन्धान शुरू गर्यो । तब मात्रै रेम र ददीले आइफोनका लागि झगडा भएको र मुक्का हानेपछि लजिन बेहोस भएपछि ढुंगाले थिचेर हत्या गरेको स्वीकारेका थिए ।
अनुसन्धानका क्रममा असिम वनको साथबाट लजिनले प्रयोग गर्ने गरेको भिभो कम्पनीको सिमकार्ड प्रयोग नभएको एन्ड्रोइड मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले सुदीप विक, रेमबहादुर विक, ददी परियार र असिम वनविरुद्ध व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा साउन ७ गतेदेखि म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईंका अनुसार लजिन बेपत्ता भएको एक सातापछि स्थानीय मनखोलामा शव फेला परेको थियो ।
ददी र रेमले प्रहरीले थाहा पाउँछ भनेर लजिनको शव खोलामा ढुंगाले थिची उनको मोबाइल समेत लजिनकै पाइन्टको खल्तीमा छाडेर घरतिर लागेका थिए ।
लजिनको शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट लजिनको चप्पल, स्पिकर, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल, रेमबहादुर विकले लगाएको रगतजस्तो रातो पदार्थ लागेको ज्याकेट र टिसर्ट, तन्ना तथा लजिनको शव बरामद गरिएको प्रहरीले जनाएको छ ।
एसपी प्रसाईंका प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।