१२ साउन २०८३, मंगलबार
अमेरिका-इरान युद्ध

इरानमाथिको आक्रमण रोक्न ट्रम्पलाई दबाब, उपराष्ट्रपति र शीर्ष सैन्य अधिकारीले जनाए चिन्ता

साउन १०, २०८३
काठमाडौं
इरानमाथिको आक्रमण रोक्न ट्रम्पलाई दबाब, उपराष्ट्रपति र शीर्ष सैन्य अधिकारीले जनाए चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमणलाई थप तीव्र बनाउने वा कूटनीतिक समाधानतर्फ अघि बढ्ने विषयमा विचार गरिरहेका बेला उपराष्ट्रपति जेडी भान्स र अमेरिकी संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले युद्ध थप विस्तार गर्दा उत्पन्न हुन सक्ने जोखिमबारे चिन्ता व्यक्त गरेका छन् ।

सीएनएनका अनुसार शुक्रबार ह्वाइट हाउसमा भएको उच्चस्तरीय बैठकमा जनरल केनले विशेषगरी अमेरिकी हतियार भण्डार (म्युनिसन स्टकपाइल) घट्दै गएको र युद्ध लम्बिए त्यसले पार्न सक्ने असरबारे राष्ट्रपति ट्रम्पलाई सचेत गराएका थिए । 

उनले अमेरिकी सेनाले दिइएको जिम्मेवारी पूरा गर्न सक्ने विश्वास व्यक्त गरे पनि त्यसपछिका सम्भावित परिणामबारे सावधानी अपनाउन सुझाव दिएका थिए ।

बैठकपछि अमेरिका करिब दुई सातादेखि लगातार जारी राख्दै आएको इरानमाथिको रात्रिकालीन हवाई आक्रमण रोकिएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक स्रोतका अनुसार हालका लागि सैन्य कारबाही स्थगित अवस्थामा राखिएको छ ।

यद्यपि, आक्रमण रोक्नुको मुख्य कारण हतियार भण्डारको अवस्था वा युद्ध विस्तारको जोखिम नै हो भन्ने विषय स्पष्ट भइसकेको छैन । आगामी दिनमा आक्रमण पुनः शुरू हुने वा नहुनेबारे पनि कुनै निर्णय सार्वजनिक गरिएको छैन ।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले राष्ट्रपति ट्रम्पले सधैं कूटनीतिक समाधानलाई प्राथमिकता दिएको दोहोर्‍याउँदै इरानले हर्मुज जलडमरू वा अमेरिकी सहयोगीविरुद्ध गतिविधि जारी राखेमा सबै विकल्प खुला रहेको बताएका छन् ।

उनका अनुसार इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध र लगातार १३ दिनसम्म गरिएका सैन्य आक्रमणले तेहरानमाथि ठूलो दबाब परेको छ । उनले इरानलाई वार्तामार्फत समाधान खोज्न सुझाव दिँदै त्यसो नगरे परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

शुक्रबार मन्त्रिपरिषद् र सुरक्षा अधिकारीहरूसँगको बैठकपछि ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको जानकारी दिएका थिए । उनले इरान वार्ताप्रति पहिलाभन्दा बढी गम्भीर देखिएको दाबी गर्दै आवश्यक परे सैन्य कारबाही अझ तीव्र बनाउन सकिने संकेत पनि गरेका थिए ।

सीएनएनका अनुसार ट्रम्प प्रशासनले सम्भावित सैन्य रणनीतिबारे अझै छलफल गरिरहेको छ । खाडी क्षेत्रका अमेरिकी साझेदार राष्ट्रहरूले तनाव नबढाउन आग्रह गरे पनि आवश्यक परे अमेरिका एक्लैले युद्धको स्तर बढाउन सक्ने क्षमता राख्ने स्वीकार गरेका छन् ।

यसअघि पनि जनरल केनसहित अमेरिकी सैन्य नेतृत्वले लामो समयसम्म युद्ध चल्दा अमेरिकी हतियार भण्डारमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका थिए ।

यद्यपि, पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले अमेरिकी सेना विश्वकै सबैभन्दा शक्तिशाली रहेको र राष्ट्रपति ट्रम्पले जुनसुकै समय र स्थानमा आदेश दिए पनि आवश्यक सैन्य क्षमता पर्याप्त रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्