
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य (सांसद) गणेश पौडेललाई कालो मसी फ्याकेर दुर्व्यवहार गरिएको छ । गढीमाई नगरपालिका-७, पर्सामा आयोजित जनतासँग भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा बिहीबार राति पौडेलमाथि 'मधेश मुक्ति अभियान'का कार्यकर्ताहरूले कालो मसी दलेका हुन् । घटनाको स्वयं सांसद पौडेलले पुष्टि गरेका छन् ।
सांसद पौडेलका अनुसार हिजो साँझ गढीमाई नगरपालिकाको पर्सामा स्थानीय नागरिकका समस्या, मलखादको अभावलगायत विषयमा छलफल गर्न 'जनतासँग भेटघाट कार्यक्रम' आयोजना गरिएको थियो । छलफलका क्रममा केही ढिलाइ भएपछि कार्यक्रम राति ८ देखि सवा ८ बजेको बीचमा सकिएको थियो ।
कार्यक्रम सकेर फर्किने तयारीमा रहँदा मास्क लगाएका २-३ ले पछाडिबाट आएको मसी फ्याकेका थिए । ‘उनीहरू अगाडिबाट आएका होइनन् । हामी फर्किन लागेका थियौँ, पछाडिबाट नजिक आएर चिनजानको मान्छेले अङ्गालो हालेजस्तो गरी ढाडमा कालो मसी (कालो पदार्थ) दलेर भागे,’ सांसद पौडेलले लोकान्तरसँग भने ।
कालो मसी दल्ने समूहले हातमा रातो झण्डा र पर्चाहरू बोकेका थिए र उनीहरू 'मधेश मुक्ति अभियान'सँग आबद्ध रहेको सांसद पौडेलले खुलाए । घटनालगत्तै कार्यक्रममा उपस्थित सहयोगी तथा स्थानीयले उनीहरूलाई लखेट्ने प्रयास गरे पनि अँध्यारो भएका कारण उनीहरू फरार हुन सफल भएको उनको कथन छ ।
प्रहरी अनुसन्धान र दोषीको पहिचान
घटनालगत्तै प्रहरीलाई खबर गरिएको र प्रहरीले दोषीहरूको खोजी कार्य तीव्र पारेको छ । सांसद पौडेलका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको छ । ‘आधिकारिक नाम स्पष्ट नभए पनि 'फगु' (वा फुगु) भनिने एक जना व्यक्तिको पहिचान भएको बुझिएको छ,’पौडेलले थपे, ‘अहिलेसम्म कोही पक्राउ परिसकेको अवस्था भने छैन, तर प्रहरीले खोजी कार्य जारी राखेको छ, केही समयमै पक्राउ पर्छ ।’