१० साउन २०८३, आइतबार

सरकारलाई सर्वोच्चको आदेश– मितव्ययिताका नाममा मिडियालाई आर्थिक नाकाबन्दी गर्न मिल्दैन

साउन ६, २०८३
काठमाडौं
सरकारलाई सर्वोच्चको आदेश– मितव्ययिताका नाममा मिडियालाई आर्थिक नाकाबन्दी गर्न मिल्दैन

सर्वोच्च अदालतले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयलाई बदर गरिदिएको छ । ऐनले तोकेको विज्ञापन बोर्डको अधिकार क्षेत्रलाई मिचेर, मितव्ययिताको गलत व्याख्या गरी निजी मिडियालाई विज्ञापन पाउनबाट पूर्ण रूपमा बञ्चित गर्ने सरकारको कदम विभेदपूर्ण र असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्चले बदर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र शारङ्गा सुवेदीको संयुक्त इजलासले २०८३ साल असार ३० गते उक्त फैसला सुनाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मुख्य सचिवस्तरबाट २०८२ चैत १८ गते एउटा निर्णय भएको थियो । उक्त निर्णयअनुसार मातहतका सरकारी निकायहरूलाई सरकारी सूचना तथा विज्ञापनहरू सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यम (जस्तै: गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन आदि) मा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको थियो ।

यस निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेल र यात्री पोष्ट मिडिया प्रालिका तर्फबाट राहुलकुमार साहले सर्वोच्च अदालतमा छुट्टा–छुट्टै रिट निवेदन दायर गरेका थिए ।

सरकारको यो निर्णयले निजी क्षेत्रका सञ्चार माध्यमलाई पाखा लगाई सरकारी र निजी मिडियाबीच चरम भेदभाव गरेको निवेदकको भनाई थियो । यसले संविधानको धारा १७ (पेशा व्यवसाय गर्ने स्वतन्त्रता), धारा १८ (समानताको हक), धारा १९ (प्रेस स्वतन्त्रता) र धारा २७ (सूचनाको हक) को ठाडो उल्लंघन गरेको निवेदकको जिकिर थियो  ।

'विज्ञापन (नियमन गर्ने) ऐन, २०७६' ले सरकारी विज्ञापनको समानुपातिक र न्यायोचित वितरण गर्ने जिम्मेवारी 'विज्ञापन बोर्ड' लाई दिएको छ । तर, सरकारले उक्त कानूनलाई मिचेर विज्ञापन बोर्डको अधिकार खोसेको निवेदकको दाबी थियो ।

त्यसैले उक्त सरकारी निर्णय र सोसम्बन्धी पत्रहरूलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी विज्ञापनको न्यायोचित वितरण गर्न निवेदकहरूले परमादेश माग गरेका थिए ।

सरकारको बचाउ: ‘विज्ञापन पाउनु मौलिक हक होइन’

सरकारी निर्णयको प्रतिरक्षा गर्दै प्रधानमन्त्री कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अदालतमा लिखित जवाफ पेश गरेका थिए ।

सरकारले आफ्नो बजेट र स्रोतअनुसार सरकारी खर्चमा मितव्ययिता ल्याउन, विज्ञापन र सूचना प्रकाशनमा एकरूपता कायम गर्न तथा पारदर्शिता अपनाउन यो निर्णय गरेको जिकिरसहित लिखित जवाफ पेश गरेको थियो ।

सरकारी विज्ञापन पाउनु निजी मिडियाको कुनै संवैधानिक वा मौलिक अधिकार नभई यो त सरकारले प्रदान गर्ने एउटा सुविधा मात्र भएको सरकारको जिकिर थियो ।

निजी सञ्चार माध्यमलाई आफ्नो विचार, समाचार र विश्लेषण स्वतन्त्र रूपमा प्रकाशन/प्रसारण गर्न कुनै रोक नलगाइएको हुनाले प्रेस स्वतन्त्रता हनन् भएको भन्ने दाबी गलत भएको सरकारको जिकिर थियो ।

सर्वोच्च अदालतले निवेदक र विपक्षी दुवै पक्षको बहस र प्रमाणहरू अध्ययन गरी सरकारी निर्णय खारेज गर्‍यो ।

संसद्ले बनाएको 'विज्ञापन (नियमन गर्ने) ऐन, २०७६' को दफा १४ र १५ अनुसार सरकारी लोककल्याणकारी वा अन्य विज्ञापनहरू विज्ञापन बोर्डमार्फत समानुपातिक रूपमा वितरण गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।

मुख्य सचिवस्तरको एउटा प्रशासनिक निर्णयले संसद्ले बनाएको ऐन र विज्ञापन बोर्डको अधिकारलाई छल्न वा निष्क्रिय बनाउन नमिल्ने निष्कर्षसहित सर्वोच्चले सरकारको उक्त निर्णय खारेज गरिदिएको हो ।

सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली र बजेट निर्देशिकाको बुँदा नं. ७७ लाई आधार मानी 'मितव्ययिता' को तर्क अघि सारेको थियो । तर, सर्वोच्च अदालतले उक्त बुँदाको व्याख्या गर्दै भनेको छ– ‘त्यो बुँदाले पानी, बिजुली, सञ्चार महसुल, इन्धन, मर्मत खर्च र भत्ता जस्ता प्रशासनिक खर्चमा मात्र मितव्ययिता अपनाउन भनेको हो, निजी मिडियालाई दिइने विज्ञापन पूर्ण रूपमा रोक्न भनेको होइन ।’

अदालतले फैसलामा स्पष्ट पारेको छ कि राज्यको लोककल्याणकारी विज्ञापनबाट निजी मिडियालाई पूर्ण रूपमा बञ्चित गर्नु उनीहरूमाथि एक प्रकारको ‘आर्थिक नाकाबन्दी’ जस्तै हो । यसले निजी मिडियाहरू बन्द हुने अवस्थामा पुग्छन्, जसको सिधा असर नागरिकको सूचना पाउने हक र अभिव्यक्ति स्वतन्त्रतामा पर्छ ।

अदालतले सरकारको आर्थिक अनुशासन र मितव्ययिता कायम गर्ने उद्देश्य सकारात्मक भए तापनि त्यसका लागि अपनाइने उपायहरू कानून र संविधानसम्मत हुनुपर्ने स्पष्ट पारेको छ ।

तसर्थ, २०८२ चैत १८ को मुख्य सचिवस्तरको उक्त निर्णय र सोका आधारमा पठाइएका पत्रहरू उत्प्रेषणको आदेशद्वारा बदर (खारेज) गरिदिएको छ ।

यो फैसलासँगै अब सरकारी विज्ञापन तथा सूचनाहरू विज्ञापन बोर्डको कानूनी प्रक्रियाबमोजिम निजी तथा सामुदायिक सञ्चार माध्यममा पनि न्यायोचित रूपमा वितरण गर्ने बाटो खुलेको छ ।

हेर्नुहोस्, सर्वोच्चको आदेश:

salt training

कमेन्ट गर्नुहोस्