
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश सरकारमा सहभागी हुने रुचि नरहेको दाबी गरेका छन् ।
सरकार नखोजेकालाई सरकार खोजेको भनेर हैरान पार्ने काम भएको उनले टिप्पणी गरे ।
शुक्रबार काठमाडौंमा पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले प्रदेश सरकारमा नगए पनि वामपन्थी सहकार्य हुने बताएका हुन् । ‘हामीलाई सरकार चाहिएको छैन, कांग्रेस एमालेले आलोपालो गर्नुस्, हामी बाधा दिँदैनौं । फेरि प्रदेश सरकारमा भएपछि वामपन्थी सहकार्य हुने, सरकारमा नभए नहुने जस्तो होइन । सरकारमा भए पनि नभए पनि हुन्छ,’ प्रचण्डले भने ।
संविधानमै गाँठो पर्ने अवस्थामा भने सहयोग गर्न नेकपा तयार रहेको उनले बताए । ‘संविधानमै गाँठो पर्न लाग्यो भने गाँठो फुकाउन तयार छौं । जिम्मेवारीबाट पन्छिन खोजेको आरोप नलागोस् । सरकार नखोजेकालाई सरकार खोजेको भनेर हैरान नपार्नुस्,’ प्रचण्डले भने ।
प्रदेशमा नेकपा एमाले र नेकपाबीच सहकार्य चलिरहेको बेला प्रचण्डले सरकारमा ध्यान नरहेको दाबी गरेका हुन् ।