
नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौं उपत्यकामा आयोजना गर्ने ‘ग्रीन रन’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी हुने भएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘ग्रीन रन’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी बन्ने जानकारी दिएका हुन् ।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा कांग्रेसले काठमाडौं उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना गर्दैछ । सोही अवसरमा यही साउन ६ गते ३ वटा कार्यक्रम रहेका कांग्रेसले जनाएको छ ।
‘ग्रीन रन’ कार्यक्रम बुधबार बिहान ६ बजे ललितपुर यूएन पार्कबाट शुरू हुनेछ । महिला र पुरुष अलग अलग प्रतिस्पर्धा हुने ‘ग्रीन रन’का लागि पाँच किलोमिटर रुट तय गरिएको छ ।
‘जलवायु जनचेतना जगाऔँ, जुटौँ’ नारासहित आयोजना हुने पाँच किलोमिटर लामो दौड ललितपुरको यूएन पार्कबाट प्रारम्भ हुनेछ ।
दौडपछि बिहान ७ बजे जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ शीर्षकमा विषयविज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिने जनाइएको छ ।

