०९ साउन २०८३, शनिबार
आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता

‘गर या मर’को अवस्थामा इतिहास दोहोर्‍याउने नेपालको लक्ष्य

आज नामिबियासँग भिड्दै
साउन ५, २०८३
काठमाडौं
‘गर या मर’को अवस्थामा इतिहास दोहोर्‍याउने नेपालको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको अर्को शृंखला आज (मंगलबार)देखि नेदरल्यान्ड्समा शुरू हुँदै छ । नेपाली टोलीका लागि यो शृंखला निकै महत्वपूर्ण छ ।

घरेलु मैदानमा आयोजित अघिल्लो शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली यो शृंखलामा पनि अब्बल प्रदर्शन गर्ने धुनमा छ ।

नेपाली टोलीले आफ्नो पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो १४:४५ बजे शुरू हुनेछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र नामिबियाबीच हालसम्म आठ खेल खेलिएका छन् । त्यसमा नेपालभन्दा नामिबिया बलियो देखिन्छ ।

नामिबियाले पाँच खेलमा नेपाललाई हराएको छ । नेपालले भने दुई खेलमा मात्र नामिबियालाई पराजित गरेको छ । बाँकी एक खेल अनिर्णित सकिएको छ ।

पछिल्लो पटक सन् २०२४ को फेब्रुअरीमा नेपाल र नामिबिया नेपालमै आपसमा भिडेका थिए । ती दुवै खेलमा नामिबियाले नेपाललाई हराएको थियो ।

नामिबिया फेब्रुअरी १५ तारिखमा खेलिएको पहिलो खेलमा चार विकेटले र फेब्रुअरी २१ तारिखमा खेलिएको दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो ।

यो शृंखलामा नेपाली टोलीको प्रतिद्वन्द्वीका रूपमा नामिबियाका अतिरिक्त आयोजक नेदरल्यान्ड्स रहेको छ । खासगरी नेदरल्यान्ड्स नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीको भविष्यसँग जोडिएको यो शृंखला निकै अर्थपूर्ण छ । लिग–२ को जारी सिजनअन्तर्गत खेल्न लागिएको यो २०औँ शृंखला हो ।

null

लिग–२ अन्तर्गत नेपाली टोलीले खेल्न लागेको भने यो आठौँ शृंखला हो । यसपछि नेपाली टोलीले एक शृंखला मात्र खेल्न बाँकी रहने छ ।

नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपाली टोलीले दुवै प्रतिद्वन्द्वीसँग दुई–दुई खेल खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेल जुलाई २३ तारिख (साउन ७ गते) आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपालले आफ्नो तेस्रो खेल जुलाई २७ तारिख (साउन ११ गते) नामिबियासँग र चौथो खेल जुलाई २९ तारिख (साउन १३ गते) नेदरल्यान्ड्ससँग खेल्नेछ ।

लिग–२ शृंखलाअन्तर्गतका खेल ५० ओभरका हुन्छन् । जारी लिग–२ प्रतियोगितामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् ।

प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् । सहभागी टोलीका लागि लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ ।

यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदै छ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।  

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नुपर्नेछ ।  

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।  

त्यसैले सहभागी टोलीका लागि लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ ।

तीन पटक आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपाली टोलीले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर भने पाएको छैन ।

यो ऐतिहासिक उपलब्धि हासिल गर्न नेपालसामु जारी लिग–२ प्रतियोगितामा अब्बल प्रदर्शन गर्नुको विकल्प छैन ।

जारी लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् । यसअघि लिग–२ को पहिलो संस्करणमा सात टोली मात्र सहभागी थिए ।

अघिल्लो संस्करणको आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अंक तालिकामा सबैभन्दा तल अर्थात् १३औँ स्थानमा रहेको नेदरल्यान्ड्सलाई पनि यसपटक लिग–२ मा समावेश गरिएको हो ।

जारी सिजनको लिग–२ तालिकामा नेपाली टोली अझै अप्ठ्यारो स्थितिमै छ । हालसम्म ३२ खेल खेलेको अमेरिका ४३ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।

अमेरिकाले २१ खेलमा जित र १० खेलमा हारको नतिजा निकालेको छ । अमेरिकाको एक खेल भने अनिर्णित सकिएको छ ।

समान खेल खेलेको स्कटल्यान्ड ३८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । स्कटल्यान्डले १६ जित र १० हारको नतिजा निकालेको छ । स्कटल्यान्डका ६ खेल अनिर्णित सकिएका छन् ।

यसैगरी, २८ खेलबाट ३२ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ । समान खेलबाट ३१ अंक जोडेको ओमान तालिकाको चौथो स्थानमा आसिन छ ।

नेपाल भने २८ खेलबाट २४ अंक बटुल्दै पाँचौँ स्थानमा छ । नेपालले ११ खेलमा जित र १५ खेलमा हारको नतिजा निकालेको छ । नेपालका दुई खेल अनिर्णित सकिएका छन् ।

समान खेलबाट २४ अंक जोडेको क्यानडा छैटौँ, २८ खेलबाटै २२ अंक बटुलेको नामिबिया सातौँ र २४ खेलबाट १४ अंक हात पारेको यूएई आठौँ स्थानमा छन् ।

नेदरल्यान्ड्स भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

null

घोषित टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान), विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, करण केसी, अर्जुन कुमाल, सन्दीप लामिछाने, इशान पाण्डे, ललित राजवंशी, भीम सार्की, आरिफ शेख, आसिफ शेख (विकेटकिपर) र नन्दन यादव रहेका छन् ।

लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो ।  

लिग–२ को पहिलो संस्करणमा ३६ खेलबाट ५० अंक बटुल्दै स्कटल्यान्ड पहिलो, समान खेलबाट ४४ अंक जोड्दै ओमान दोस्रो र समान खेलबाट ४० अंक बटुल्दै नेपाल तेस्रो भएका थिए । तीनवटै टोली सिधै विश्वकपको छनोट चरणमा पुगेका थिए ।  

पहिलो संस्करणमा नेपाली टोलीसँग एउटा रमाइलो संयोग पनि जोडिएको थियो । शृंखलाका शुरूआती चरणका खेलमा नेपालको प्रदर्शन निकै निराशाजनक थियो । तर, नेपाली टोली पछिल्ला तीन शृंखलामा खेलिएका कुल १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो ।  

बाँकी चार राष्ट्र नामिबिया, अमेरिका, यूएई र पपुवा न्यु गिनीले भने विश्वकप क्वालिफायरको प्ले–अफ खेल्नुपरेको थियो । प्ले–अफ चरण पार गर्दै पछि यूएई र अमेरिका विश्वकप छनोट प्रतियोगिताको अन्तिम चरणमा सहभागी भएका थिए ।  

सन् २०२३ को एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना भएको थियो । त्यो प्रतियोगिताबाट श्रीलंका र नेदरल्यान्ड्स सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोट भएका थिए । अन्तिम चरणको छनोट प्रतियोगितामा नेपाल आठौँ, यूएई नवौँ र अमेरिका दशौँ भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्