०८ साउन २०८३, शुक्रबार
लहरो तान्दा पहरो

तस्करसँगको ‘कनेक्सन’ले सशस्त्र प्रहरीमा भुइँचालो– सईबाट थालेको अनुसन्धान एसपीसम्म पुग्यो !

तस्करीमा साँठगाँठ र अवैध असुलीको आरोप, १८ जना मुख्यालय तानिए
साउन ७, २०८३
काठमाडौं
तस्करसँगको ‘कनेक्सन’ले सशस्त्र प्रहरीमा भुइँचालो– सईबाट थालेको अनुसन्धान एसपीसम्म पुग्यो !
AI Genereted Photo

पछिल्लो समय सशस्त्र प्रहरी बलभित्र एउटा घटनाले तरंग उत्पन्न गरेको छ ।

हवल्दारबाट शुरू भएको छानबिन सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सम्म पुगेको छ । यो छानबिन अझै माथि पुग्ने संकेत छानबिनमा संलग्न अधिकारीहरूले गरेका छन् ।

एक महिनाअघि भारतीय प्रहरीले ठूलो परिमाणमा गाँजा र चरेस बरामद गरेको थियो ।

सुनसरीको लौकही नाकाबाट गएको लागुऔषध भारतीय प्रहरीको उपल्लो तहमा सूचना पुगेपछि बरामद भएको थियो ।

यो घटनामा सीमामा खटिएका सशस्त्र प्रहरीकै मिलेमतो देखिएको र ३० लाखसम्म ‘डिल’ भएको सूचना बाहिरियो । लगत्तै सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले छानबिन गर्न निर्देशन दिएका थिए ।

यो घटनामा सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा प्रशासनतर्फ कार्यरत सई गणेश खड्काको भूमिका शंस्कास्पद देखियो । अस्पतालको दरबन्दी भएपनि उनी सीमामा तस्करसँग लाइन मिलाउने काममा सक्रिय रहेको आरोप विगतदेखि नै लाग्दै आएको थियो ।

सशस्त्र प्रहरी मुख्यालयले सई खड्कालाई मुख्यालयमा तानेर छानबिन शुरू गर्दा धेरै रहस्य खुल्दै गए ।

उनको बयान झस्काउने खालको छ ।

उनले छानबिनमा संलग्न उच्च अधिकारीलाई बयान दिँदा दुई डीएसपी र एक इन्स्पेक्टरको संलग्नता रहेको खुलाएका थिए ।

खड्काले बयानमा इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, हरिपुर सीमा सुरक्षा गुल्म सुनसरीका डीएसपी शमशेर कार्की तथा बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्दको नाम पोलेपछि उनीहरूलाई मुख्यालय तानेर बयान लिइएको छ ।

सई खड्काले उनीहरूको नाम किटान गर्दै तस्करबाट उठाइने मासिक रकम उपल्लो तहसम्म पुर्‍याउने संयन्त्रबारे बयान दिएपछि अनुसन्धान माथिल्लो तहसम्म पुगेको हो ।

झापास्थित ३८ नम्बर रिजर्भ गणका हवल्दार हरिबहादुर मगरको आर्थिक गतिविधिबारे सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको सचिवालयमा गुनासो पुगेको थियो ।

उनै मगरले सई खड्काले आफूलाई तस्करबाट रकम उठाउन लगाएको बयान दिएपछि खड्का अनुसन्धानमा तानिएका थिए ।

मुख्यालय स्रोतका अनुसार खड्का र अन्य कर्मचारीले दिएको बयानमा तस्करबाट मासिक रूपमा रकम उठाएर इन्स्पेक्टर, डीएसपी हुँदै अझ माथिल्लो तहसम्म पुर्‍याउने गरिएको उल्लेख छ ।

सशस्त्र प्रहरी मुख्यालयले सीमा नाकाबाट तस्करी रोक्न नसकेको आरोपमा झापा र सुनसनरीका एसपीलाई नै मुख्यालय झिकाएर छानबिन थालेको छ ।

झापाका एसपी अम्बिकाप्रसाद जोशी र सुनसरीका एसपी श्यामकुमार कार्कीलाई मुख्यालय झिकाएर सशस्त्र प्रहरीले छानबिन थालेको हो ।

स्रोतले भन्यो, ‘अहिलेसम्म सहायक हवल्दारदेखि एसपीसम्म १८ जना छानबिनको दायरामा आइसकेका छन् ।’

हालसम्म सईसम्मको बैंक खाता हेरिएको छ । प्रारम्भिक परीक्षण गर्दा ८ देखि १० लाख रुपैयाँसम्मको कारोबार देखिएपछि छानबिन झन् पेचिलो बनेको थियो ।

सीमामा हुने गाइगोरु तस्करीदेखि लागुऔषध गाँजा र चरेस तस्करीमा समेत संगठनका कर्मचारी संलग्न देखिएपछि महानिरीक्षक पौडेलले विभागीय कारबाहीसँगै प्रमाणले पुगे फौजदारी कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेका छन् ।

स्रोतले भन्यो, ‘आईजीपीसाबको स्पष्ट निर्देशन छ, प्रमाण भेटेसम्म खोज्नुस् । मुद्दा चलाउनुपर्ने देखिए कसैलाई पनि दया–माया गर्नुपर्दैन ।’

छानबिनमै रहेका केही सुरक्षा अधिकारीले सशस्त्र प्रहरी मात्रै नभएर नेपाल प्रहरी, सीडीओ र भन्सार प्रमुखले समेत तस्करबाट रकम असुली गरेको बयान दिएका छन् ।

सशस्त्रलाई मात्रै छानबिनको दायरमा ल्याएर उत्तिकै जिम्मेवार अरू संगठनका व्यक्तिलाई सफाइ दिन नहुने तर्क छानबिनमा रहेकाहरूले गरिरहेको स्रोतले बतायो ।

तस्करबाट ‘डीआईजी, भन्सार प्रमुख र प्रमुख जिल्ला अधिकारीसम्मलाई मासिक बुझाउनुपर्छ’ भन्दै रकम उठाइएको आरोप लागेको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले आर्थिक अनियमितताको आरोप लागेका केही कर्मचारीमाथि आन्तरिक छानबिन भइरहेको बताए ।

उनका अनुसार संगठनको नीति र अनुसशानविपरीत काम गर्दै आएका कर्मचारीलाई मुख्यालय झिकाएर छानबिन भइरहेको छ ।

‘कारबाही र पुरस्कार निरन्तर चलिरहने कार्य हो, हामीले प्रश्न उठेकालाई मुख्यालय झिकाएर के हो ? भनेर सोध्छौँ, राम्रो काम गरेकालाई स्याब्बास भनेर पुरस्कृत पनि गछौँ,’ कार्कीले लोकान्तरसँग भने, ‘कोशी प्रदेशमा अलि बढी नै प्रश्न उठेपछि गम्भीर रूपमा छानबिन अघि बढेको हो ।’

salt training

कमेन्ट गर्नुहोस्