
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तहमा विदेशी विद्यार्थी भर्ना गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। यही साता भर्ना आह्वान गर्ने तयारीसँगै विश्वविद्यालयले नीतिगत निर्णयको प्रक्रिया अघि बढाएको हो।
विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी विद्यार्थी भर्नासम्बन्धी छलफल अन्तिम चरणमा पुगे पनि अन्तिम निर्णय भने हुन बाँकी रहेको बताए। उनका अनुसार भर्ना आह्वानअघि आवश्यक नीतिगत तयारी तथा व्यवस्थापनका लागि सरोकारवालासँग छलफल भइरहेको छ।
उनले कुनै पनि विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको मान्यता दिलाउन विदेशी विद्यार्थीको सहभागिता महत्वपूर्ण मापदण्ड हुने भएकाले सोही उद्देश्यअनुसार विदेशी विद्यार्थी भर्नाको तयारी गरिएको बताए।
तिमिल्सिनाका अनुसार विश्वविद्यालयले यसअघि छोटो अवधिका अनुसन्धान कार्यक्रम तथा विदेशी विद्यार्थीको सीप विकाससम्बन्धी कक्षा सञ्चालन गरे पनि शैक्षिक उपाधि प्रदान गर्ने गरी विदेशी विद्यार्थी भर्ना गरेर अध्ययन–अनुसन्धानको कार्यक्रम सञ्चालन गरेको थिएन।
विश्वविद्यालयले कृषि, वन विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञानअन्तर्गत स्नातक तहका चार कार्यक्रममा विदेशी विद्यार्थी भर्ना गर्ने तयारी गरेको जनाएको छ। यद्यपि कति सङ्ख्यामा विद्यार्थी भर्ना गर्ने र शुल्क कति निर्धारण गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको विश्वविद्यालयले जनाएको छ।