०६ साउन २०८३, बुधबार
यस्तो छ युवती हत्याको रहस्य :

पलङमुनि शव लुकाइयो, दुई रात बिताउँदा पनि कसैले चाल पाएन

साउन ५, २०८३
काठमाडौं
पलङमुनि शव लुकाइयो, दुई रात बिताउँदा पनि कसैले चाल पाएन

दैलेखका रमेश बुढा कास्कीमा सानोतिनो व्यापार गर्दै आएका थिए । गत असार ३१ उनी एक लाख रूपैयाँ बोकेर घर जान भन्दै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क पुग्छन् ।

त्यहाँ एउटी युवतीतिर उनको आँखा पर्छ । युवतीले ‘जाने हो ?’ भनेर प्रश्न गर्छिन् । बुढा ‘हुन्छ’ भन्दै मुन्टो हल्लाउँछन् । दुवै जना पुग्छन्, गोंगबुमा रहेको होटल माउन्टेन एल्सिभा । तर, कोठा बुक भने अर्कैले गरेका हुन्छन् । उनी हुन्, जुम्ला चन्दननाथ गाउँपालिका–१ घर भएर बाँके बस्ने दानबहादुर शाही ।

होटलमा पुगेपछि युवतीले बुढालाई ‘तपाईंको पसिना धेरै गन्हायो, नुहाएर आउनुस्’ भन्दै बाथरूम पठाउँछिन् । अनि युवतीले बुढाको खल्तीमा रहेको एक लाख रूपैयाँ लिएर भाग्छिन् । 

बुढा नुहाएर बाथरूमबाट बाहिर निस्कँदा युवती नभेटेपछि उनले खल्ती र झोला चेक गर्दा एक लाख रूपैयाँ भेटिन्न । अनि होटलका कर्मचारीलाई आफूसँग आएको युवती खै भन्दै सोधखोज गर्छन् । तर, पैसा गायब भएको कुरा त्यहाँ बताउँदैनन् ।

असार ३१ गते त्यस्तै भयो । ३२ गते बुढा ती युवती बसपार्क छेउछाउमै भेटिन्छिन् कि भन्दै यताउता हेर्छन् । नभन्दै युवती भेटिइन् । मुखमा मास्क लगाएका बुढाले उनै युवतीलाई ‘होटल जाने हो ?’ भनेर सोध्छन् । युवतीले ‘हुन्छ’ भन्छिन् । 

बुढाले पहिल्यै बुक गरेको कोठामा लैजान्छन् । अनि मास्क खोल्दा युवती झल्याँस्स हुन्छिन् । बुढामाथि बियरको बोतल प्रहार गर्छिन् । बुढाले बोतल खोसेर टाउकोको पछाडि भागमा प्रहार गर्छन् । युवती भुइँमा लड्छिन् । त्यतिले पनि नपुगेर बुढाले आफूले लगाएको बेल्टले युवतीको घाँटी कसेर हत्या गर्छन् ।

युवतीको शव तह लगाउन उनले पलङमुनि लुकाउँछन् । अनि होटलबाट बाहिरिन्छन् । युवतीको हत्या भएकै दिन बुढाको साथी दानबहादुर शाही (पहिला जसले होटलको रुम बुक गरेका थिए) र उनका साथीहरू त्यही रुममा मदिरा सेवन गरेर रात बिताएका थिए । युवतीको शव लुकाएको कोठामा दुई रात बिताउँदा पनि कसैले चाल पाउँदैनन् ।

साउन ३ गते बिहान ११ बजे होटलका कर्मचारीले गन्ध आएपछि प्रहरीलाई खबर गर्छन् । बल्ल प्रहरी अनुसन्धान शुरू हुन्छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेका अनुसार शुरूमा प्रहरी पुगेर खानतलासी गर्दा युवतीको हत्या गरेर पलङभित्र लुकाएको अवस्थामा फेला परेको हो । 

‘शव भेटिएको रूम कसले बुक गरेको रहेछ भनेर हेर्दा दानबहादुर शाहीको नाम र नम्बर उल्लेख थियो । सीसीटीभी पनि हेर्‍यौं, युवती होटलभित्र आएको देखिन्छ’, एसएसपी घिमिरेले लोकान्तरसँग भने,‘शाही र बुढा पनि सँगै देखिन्छन् । अनि दुवैलाई पक्राउ गर्दा सबै तथ्य खुल्यो ।’ 

प्रहरीले पहिला शाहीलाई पक्राउ गरेको थियो । त्यसपछि मात्रै बुढालाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा बुढाले हत्या गरेको शव कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६, माछापोखरी बस्ने २५ वर्षीया निशा सुनारको रहेको पत्ता लागेको थियो । 

एसएसपी घिमिरेका अनुसार सुनारलाई ‘अवाञ्छित गतिविधिमा’ लागेको भेटेपछि यसअघि प्रहरी वृत्त बालाजुले पटकपटक सम्झाइबुझाइ गरेको थियो ।

काठमाडौं परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार शाही र बुढाविरुद्ध कर्तव्य ज्यान कसुरमा  काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्