०७ साउन २०८३, बिहीबार

अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालय सिलबन्दी

साउन ६, २०८३
काठमाडौं
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालय सिलबन्दी

 सीप प्रशिक्षण सञ्चालनको अनुमति मात्र लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको आरोपमा काठमाडौँस्थित इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटको कार्यालय सिलबन्दी गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले संस्थाको निरीक्षणपछि कार्यालय सिलबन्दी गरेको हो।

मन्त्रालयका अनुसार विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी तोकिएको सर्तविपरीत सीप प्रमाणीकरणका प्रमाणपत्र उपलब्ध गराएको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा संस्थाले प्रचलित कानुन तथा अनुमति सर्तहरूको गम्भीर उल्लङ्घन गरेको प्रारम्भिक रूपमा भेटिएको जनाइएको छ।

अनुगमनका क्रममा संस्थाले सीप प्रशिक्षण सञ्चालनको अनुमति मात्र पाएको भए पनि सीप परीक्षण तथा प्रमाणीकरण गर्ने अधिकार प्रयोग गरेको पाइएको छ। यस्तो अधिकार सिटिइभिटीलाई मात्र रहेको मन्त्रालयले जनाएको छ। साथै, अनुमति लिँदा स्वीकृत गरिएका विधाभन्दा फरक विषयमा समेत तालिम सञ्चालन गरेको भेटिएको छ।

संयुक्त टोलीले संस्थाको कार्यालय सिलबन्दी गर्नुका साथै आवश्यक कागजात तथा प्रमाणपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। ती कागजातको अध्ययन र थप अनुसन्धानपछि संस्थाविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्