०१ साउन २०८३, शुक्रबार
लमजुङमा भएको डरलाग्दो घटना

पच्छ्याउँदै जंगल पुगेको व्यक्ति जब काल बनेर निस्कियो !

असार ३२, २०८३
काठमाडौं

लमजुङमा ५७ वर्षीय एक व्यक्तिको हत्या सुन लुट्ने उद्देश्यले भएको खुलेको छ ।

बेसीशहर नगरपालिका–८ का बुद्धिबहादुर बोहरालाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दोर्दी गाउँपालिका–१ ढोकेका ३० वर्षीय विजय लामिछानेलाई पक्राउ गरेपछि थप रहस्य बाहिर आएको हो ।

लामिछानेले बोहराको घाँटीको सुनको सिक्री र हातको सुनको औँठी चितवनमा लगेर बिक्री गरी पैसा समेत लिएका थिए । जिल्ला प्रहरी कार्यलय लमजुङले लामिछानेबाट सुन खरिद गर्ने सुन पसल सञ्चालक

दीपक विश्वकर्मालाई पनि पक्राउ गरेको छ ।

सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण र चितवनस्थित सुन पसलसम्म पुगेको अनुसन्धानपछि प्रहरीले हत्याकाण्डको रहस्य उजागर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार असार २१ गते बिहान घरबाट निस्किएका बुद्धिबहादुर सम्पर्कविहीन भएका थिए । घर नफर्किएपछि परिवारले खोजतलास शुरू गरेको थियो । श्रीमती बालकुमारीले श्रीमान् हराएको निवेदन दिएपछि प्रहरी र आफन्तले विभिन्न स्थानमा खोजी थालेका थिए ।

खोजीकै क्रममा भोलिपल्ट बिहान बेसीशहर नगरपालिका–२ स्थित आकाशेडाँडामाथिको सामुदायिक वनमा बोहराको शव फेला परेको थियो ।

शवमा शरीर तथा अनुहारभरि गम्भीर चोट देखिएको थियो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली र प्राविधिक टोली घटनास्थल पुगेर अनुसन्धान शुरू गरेको थियो ।

प्रहरीले घटनास्थलको सूक्ष्म परीक्षण, शवको अवस्था तथा वरपरका प्रमाणको विश्लेषण गर्दा मृतकले नियमित लगाउने घाँटीको सुनको सिक्री र हातको सुनको औँठी गायब रहेको खुल्यो ।

त्यसपछि अनुसन्धान लुटपाटपछि हत्या भएको कोणबाट अघि बढाइएको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक जितेन्द्रबहादुर बस्नेतका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरीले घटनास्थल वरपर, बजार क्षेत्र तथा सम्भावित आवतजावत हुने स्थानका सीसीटीभी फुटेज संकलन गरेको थियो ।

प्रदेश प्रहरी कार्यालय गण्डकीबाट समेत प्राविधिक टोली खटिएपछि फुटेजको विश्लेषणबाट बोहरा हराएको दिन शंकास्पद व्यक्तिसँग सँगै हिँडिरहेको देखिएको प्रहरीले जनाएको छ ।

त्यसपछि प्रहरीले उक्त व्यक्तिको पहिचान गर्दै दोर्दी गाउँपालिका–१ ढोकेका लामिछानेलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

प्रहरीका अनुसार बयानका क्रममा उनले बोहरालाई चिर्पट प्रहार गरी हत्या गरेको तथा घाँटीको सुनको सिक्री र हातको सुनको औँठी लिएर बिक्रीका लागि चितवन गएको स्वीकार गरेका छन् ।

अनुसन्धानका क्रममा लामिछाने असार २२ गते चितवन पुगेको र भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित एक सुनचाँदी पसलमा ती गहना बिक्री गरेको खुलेको छ ।

प्रहरीका अनुसार सिक्री र औँठीबापत उनले तत्काल करिब ४४ हजार रुपैयाँ लिएका थिए भने बाँकी करिब ६ लाख रुपैयाँ पछि लिने सहमति भएको थियो ।

लामिछानेको बयानपछि लमजुङ प्रहरीको टोली चितवन पुगेर स्थानीय प्रहरीको सहयोगमा उक्त पसलमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा मृतक बोहराको सुनको सिक्री र औँठी बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसपछि पसल सञ्चालक विश्वकर्मालाई पनि पक्राउ गरी लमजुङ ल्याइएको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको चिर्पटसमेत बरामद गरेको जनाएको छ । घटनास्थलबाट प्राप्त प्रमाण, सीसीटीभी फुटेज, आरोपीको बयान, हत्या गरी लगिएको सुन बरामद हुनु तथा सुन खरिद गर्ने पसल सञ्चालक पक्राउ पर्नुले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको डीएसपी बस्नेतको भनाइ छ ।

प्रहरीले लामिछाने र विश्वकर्माविरुद्ध कर्तव्य ज्यान तथा डाँका चोरीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको बस्नेतले बताए ।

भिडियो सामग्री :

 

 

salt training

कमेन्ट गर्नुहोस्