३० असार २०८३, मंगलबार
तस्करसँग मिलेमतो

सशस्त्रमा ‘लहरो तान्दा पहरो’ : सईले खोले तस्करीको सञ्जाल, बयानमै पोले हाकिमहरूको नाम

असार ३०, २०८३
काठमाडौं
सशस्त्रमा ‘लहरो तान्दा पहरो’ : सईले खोले तस्करीको सञ्जाल, बयानमै पोले हाकिमहरूको नाम

पूर्वी तराईका सीमा नाकामा सशस्त्र प्रहरी र तस्करबीच हुँदै आएको लेनदेनको रहस्यको पर्दाफास भएको छ । यो तथ्यको पर्दाफास अरू कोही नभएर सशस्त्रै एकजना सईले दिएको बयानले गरेको हो ।

सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा प्रशासनतर्फ कार्यरत सई गणेश खड्का दुई सातादेखि सशस्त्र प्रहरी मुख्यालयको छानबिनमा छन् ।

उनले छानबिनमा संलग्न उच्च अधिकारीलाई बयान दिँदा दुई डीएसपी र एक इन्स्पेक्टरको संलग्नता रहेको खुलाएका हुन् ।

खड्काले बयानमा इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, हरिपुर सीमा सुरक्षा गुल्म सुनसरीका डीएसपी शमशेर कार्की तथा बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्दको नाम पोलेपछि उनीहरूलाई मुख्यालय तानेर बयान लिन थालिएको छ ।

सई खड्काले उनीहरूको नाम किटान गर्दै तस्करबाट उठाइने मासिक रकम उपल्लो तहसम्म पुर्‍याउने संयन्त्रबारे बयान दिएपछि अनुसन्धान थप माथिल्लो तहसम्म पुगेको हो ।

झापास्थित ३८ नम्बर रिजर्भ गणका हवल्दार हरिबहादुर मगरको आर्थिक गतिविधिबारे सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको सचिवालयमा गुनासो पुगेपछि थालिएको छानबिनका क्रममा डीएसपीसम्म तानिएका छन् । उनै मगरले सई खड्काले आफूलाई तस्करबाट रकम उठाउन लगाएको बयान दिएका थिए ।

मुख्यालय स्रोतका अनुसार खड्का र अन्य कर्मचारीले दिएको बयानमा तस्करबाट मासिक रूपमा रकम उठाएर इन्स्पेक्टर, डीएसपी हुँदै अझ माथिल्लो तहसम्म पुर्‍याइने गरिएको उल्लेख छ । स्रोतले भन्यो, ‘अब डीएसपी र इन्स्पेक्टरले कसरी छानबिनलाई सहयोग गर्छन्, त्यसमा भर पर्छ ।’

सई खड्का र हाल छानबिनमा रहेका तल्लो दर्जाका सशस्त्र प्रहरी कर्मचारीको बैंक खाताको प्रारम्भिक परीक्षण गर्दा ८ देखि १० लाख रुपैयाँसम्मको कारोबार देखिएपछि छानबिन झन् पेचिलो बनेको थियो ।

अनुसन्धानमा खुल्दै गएको विवरणअनुसार सीमा क्षेत्रमा गाईगोरु नियन्त्रणमा लिएको देखाइन्थ्यो ।

त्यसपछि ती गाईगोरु भन्सारलाई बुझाइन्थे। भन्सारले न्यून मूल्यमा लिलाम गरेपछि तिनै तस्करले पुन: खरिद गर्थे र अन्तत: भारत पुर्‍याइन्थ्यो ।

नेपालतर्फको सीमा सहज रूपमा कटाउन भने सुरक्षाकर्मीको मिलेमतो हुने गरेको आशंका छानबिन भइरहेको छ ।

अनुसन्धान अहिले गाईगोरु तस्करीमा मात्र सीमित छैन । केही दिनअघि भारतीय प्रहरीले बरामद गरेको गाँजा र चरेस सीमा कटाउने प्रकरणमा पनि यही समूहका केही कर्मचारीको भूमिका रहेको आशंकामा छुट्टै अनुसन्धान भइरहेको छ ।

छानबिनसँग जोडिएका एक उच्च अधिकारीका अनुसार अनुसन्धानमा आएको अर्को गम्भीर विषय भने रकम असुलीको शैली हो।

उनका अनुसार केही तस्करबाट ‘डीआईजी, भन्सार प्रमुख र प्रमुख जिल्ला अधिकारीसम्म मासिक बुझाउनुपर्छ’ भन्दै रकम उठाइएको विवरण अनुसन्धानमा आएको छ।

मुख्यालय स्रोतका अनुसार दुई वर्षअघि सेवा छाड्ने तयारी गरेका खड्कालाई तत्कालीन डीआईजी कमल गिरीले राजीनामा दिन नदिएको तथा कोशी प्रदेशमा रहँदा उनीमार्फत हुने असुलीबारे समेत अहिले अनुसन्धान भइरहेको छ। बयानका क्रममा खड्काले असुलीको रकम गिरीसम्म पुग्ने गरेको दाबी गरेको स्रोतको भनाइ छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले आर्थिक अनियमितताको आरोप लागेका केही कर्मचारीमाथि आन्तरिक छानबिन भइरहेको पुष्टि गरे।

उनका अनुसार असार १० गतेदेखि नै संगठनको नीति र अनुसशानविपरीत काम गर्दै आएका कर्मचारीलाई मुख्यालय झिकाएर छानबिन भइरहेको छ ।

‘जोजसले विभागको नीति र नियमविपरीत अनुशासनहीन काम गर्नुभएको छ, उहाँहरूलाई कानून निर्देशनालयले छानबिन गरिरहेको छ,’ कार्कीले भने,‘ आईजीपीसाबबाट पनि यस्ता गतिविधिमा संलग्नमाथि निर्मम भएर छानबिन गर्ने र दोषी पाइए विभागीय कारबाही गर्ने निर्देशन भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्