२५ असार २०८३, बिहीबार

गाँजा नियन्त्रणमा लिने क्रममा मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता !

असार २४, २०८३
विराटनगर
गाँजा नियन्त्रणमा लिने क्रममा मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता !

मोरङको विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित पोखरीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका विराटनगर–१८ का मञ्जितकुमार यादव प्रहरीबाट बच्न भाग्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा चालक मञ्जित मोटरसाइकल छाडेर भागेका थिए । भाग्ने क्रममा उनी नजिकैको पोखरीमा पसेको र त्यसपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । 

‘हामीले उनी पोखरीमा डुबेको प्रत्यक्ष देखेका होइनौं, तर स्थानीय बासिन्दाले डुबेको देखेको बताएपछि खोजी कार्य तीव्र पारिएको छ’, डीएसपी श्रेष्ठले भने । बेपत्ता यादवको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

सोही मोटरसाइकलको पछाडि सवार रहेका एक भारतीय नागरिकलाई भने प्रहरीले गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादव रहेका छन् । उनको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रहरीले बरामद गरेको गाँजा र मोटरसाइकलसहित पक्राउ परेका शिवधरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्