
कैलालीदेखि डोटीको दिपायलसम्मको दुरीलाई ‘खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ’ सडक आयोजनाले आधाभन्दा कम दुरीमा सीमित गर्दै छ। कैलालीदेखि दिपायलसम्मको करिब १९२ किलोमिटर दुरीलाई ‘खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ’ सडक आयोजनाले ९३ किलोमिटरमा छोट्याउन लागेको हो।
करिब १० वर्षअघि सुदूरपश्चिमको तराई जिल्ला कैलालीलाई उच्च पहाडी तथा हिमाली जिल्ला बझाङसम्म पुग्ने गरी छोटो दुरीको मार्ग बनाउने आयोजना सुरु गरिएको थियो। आर्थिक वर्ष २०७३/७४ सालमा कैलालीको हसनपुरदेखि डोटीको सदरमुकाम दिपायल हुँदै बझाङको चैनपुरसम्म पुग्ने सबैभन्दा छोटो दुरीको सडक बनाउने काम अगाडि बढाइएको हो। विशेष गरी सुदूरपश्चिमको सबैभन्दा उच्च पहाडी तथा हिमाली जिल्ला बझाङको सदरमुकाम पुग्न कैलालीबाट डडेलधुरा, बैतडी हुँदै २५० किलोमिटरको दुरी पार गर्नुपर्छ। यही दुरीलाई ‘खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ’ सडक आयोजनाले १८६ किलोमिटरमा घटाउँछ।
चालू आर्थिक वर्षसम्म आयोजनाको समग्र भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति २४ प्रतिशत भएको आयोजनाले जनाएको छ। यो सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा ५१ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा ५५ करोड विनियोजन गरिएको छ।
आयोजनामा अहिलेसम्म कैलालीदेखि दिपायलसम्मको खण्डमा सहज रूपमा काम भइरहेको आयोजना प्रमुख इन्जिनियर शशांक मिश्रले बताए। पहिलो चरणमा जसरी पनि कैलालीदेखि दिपायलसम्मको दुरी छोट्याउनेमा केन्द्रित रहेको उनको भनाइ छ। ‘अहिलेसम्म काम एकदमै सहज रूपमा भइरहेको छ। सबैभन्दा पहिले कैलालीदेखि दिपायलसम्मको काम सकाउनेमा केन्द्रित छौँ’, उनले भने, ‘त्यसपछि बझाङतर्फको काम पनि अगाडि बढाउनुपर्ने छ। बझाङतर्फको चैनपुरदेखि उरैभन्ज्याङसम्म डीपीआर नै बनाउन बाँकी छ।’
कैलालीदेखि डोटीको दिपायलसम्मको दुरी यो सडकले ९३ किलोमिटरमा घटाउँछ। जबकि अहिले भीमदत्त पन्त राजमार्गबाट डडेलधुरा हुँदै दिपायल पुग्न १८२ किलोमिटर यात्रा गर्नुपर्छ। यो आयोजनाले कैलालीदेखि दिपायलसम्मको ८९ किलोमिटर दुरीलाई छोट्याउँछ। अहिले यही खण्डमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ।
कैलाली जिल्लादेखि बझाङसम्म १८६ किलोमिटरको कच्ची ट्र्याक खुलेको बाटो छ। तर, आयोजनाले बनाउने ९ मिटरको ट्र्याक खुलेको छैन। सडक ७ मिटर कालोपत्रे र २ मिटर नालीका लागि छुट्याइएको छ। यसका साथै बझाङको चैनपुरदेखि माथिल्लो खण्ड उरैभन्ज्याङसम्मको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न नै बाँकी रहेको छ।
चालू आर्थिक वर्षसम्म कुल ३६ किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको आयोजना प्रमुख मिश्रले बताए। उनका अनुसार चालू आर्थिक वर्षभित्र कुल ४६ किलोमिटर कालोपत्रे हुनेछ। ३२ किलोमिटरमा काम भइरहेको छ, जसलाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने जनाइएको छ। आयोजनामा कुल १६ वटा पक्की पुलहरू रहेका छन्। जसमध्ये १ पुलको काम सम्पन्न भइसकेको छ। ६ वटा पुलको काम भइरहेको छ भने ९ वटाको ठेक्का व्यवस्थापन बाँकी नै रहेको छ। यसका साथै बझाङपट्टीको काम पनि बाँकी नै छ। अहिले कैलाली-दिपायलसम्मको ९३ किलोमिटरमा केन्द्रित काम भइरहेको छ। यस आयोजनाको लागत करिब ९ अर्बभन्दा बढीको छ।