०७ साउन २०८३, बिहीबार
अविरल वर्षा र बाढीपहिरोको प्रभाव

काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख मार्ग बन्द, लामो दूरीका सवारीसाधन बसपार्कमै रोकिए

असार ३०, २०८३
काठमाडौं
काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख मार्ग बन्द, लामो दूरीका सवारीसाधन बसपार्कमै रोकिए
फाइल तस्वीर

लगातारको अविरल वर्षा र त्यसका कारण विभिन्न राजमार्गहरूमा गएको पहिरो तथा बाढीका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाहरू पूर्ण रूपमा बन्द गरिएका छन् । यात्रामा जोखिम बढेपछि सुरक्षा र सतर्कतालाई ध्यानमा राख्दै नागढुंगा, साँगा र फर्पिङ हुँदै चल्ने लामो दुरीका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको हो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी साधनहरूलाई विभिन्न बसपार्क तथा होल्डिङ क्षेत्रमै रोकिएको छ । वर्षाका कारण गए रातिदेखि नै रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो भने जोखिम कायमै रहेकाले आज बिहानदेखि दिवाकालीन सवारी साधनहरूलाई समेत छाडिएको छैन ।

यतिबेला नागढुंगा–मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी साधन गुड्न पूर्ण रोक लगाइएको छ । चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेका कारण सडक आवतजावत पूर्ण रूपमा अवरुद्ध बनेको हो । यसैगरी बीपी राजमार्गको रोशी खोलामा पानीको बहाव उच्च रूपमा बढेको र मङ्गलटारमा लेदोसहितको पहिरो गएकाले सो मार्ग हुँदै गरिने यात्रामा पनि रोक लगाइएको छ ।

हेटौँडा जोड्ने फर्पिङ–फाखेल–सिस्नेरी सडक खण्ड बन्द छ भने कान्ति लोकपथमा जिल्ला प्रशासन कार्यालय ललितपुरले सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ । वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिइन् । 

पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोको जोखिमलाई समेत दृष्टिगत गर्दै मकवानपुर जिल्लासँगको समन्वयमा मंगलबार बिहान ५ बजेदेखि असार ३१ गते बिहान ६ बजेसम्मका लागि कान्ति लोकपथमा सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनको आवागमन बन्द गरिएको हो । 

विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई मौसम र सडकको अवस्थाबारे आधिकारिक सूचनाको पालना गर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ।

यता, सडक डिभिजन भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको विभिन्न स्थानमा सोमबार साँझदेखि नै पहिरो र लेदो खस्ने क्रम शुरू भएको थियो । सडक अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका यात्रु तथा सवारीसाधनहरूलाई हिजो बेलुका अबेरसम्म पहिरो हटाएर गन्तव्यतर्फ पठाइएको थियो । 

तर निरन्तर वर्षा जारी रहेको र यस क्षेत्रमा पहिरोको उच्च जोखिम कायमै रहेकाले विपद् व्यवस्थापन समितिको आपतकालीन बैठक बसी जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यस सडक खण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न नपाइने गरी रोक लगाएको छ।

हाल सडक खण्डको जलविले नजिकै पुनः पहिरो झरेको छ । अन्य स्थानमा झरेको पहिरो र लेदो सफा गरी सडक खुलाउन सम्बन्धित ठाउँहरूमा मेसिन र जनशक्ति परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ । मौसम र राजमार्गको अवस्था अत्यन्तै प्रतिकूल रहेकाले यो सडक खण्ड हुँदै यात्रा गर्ने तयारीमा रहेका सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र सुरक्षित रूपमा निस्कन र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न हार्दिक अनुरोध गरिएको छ।

यात्राको क्रममा सावधानी अपनाउन, सचेत रहन तथा आवश्यक सहयोग, समन्वय एवं सहजीकरणका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपतकालीन केन्द्रको १२३४ र जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न प्रहरी र प्रशासनले अपिल गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्