
आगामी आर्थिक वर्ष २०८३/८४ मा विभिन्न तहका १ हजार ९ सय ८५ जना निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने भएका छन्।
राष्ट्रिय किताबखाना (निजामती) ले बिहीबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार ५८ वर्षे उमेर हद र पदावधि पूरा भएका कारण उनीहरूले अवकाश पाउन लागेका हुन्।
किताबखानाको अभिलेख प्रणालीमा रहेका कुल ९२ हजार ५ सय २० कर्मचारीमध्येबाट यो संख्यामा अवकाश हुन लागेको हो। अवकाश पाउनेहरूमा विशिष्ट श्रेणीका २० जना, सहसचिव ८७ जना, उपसचिव २०६ जना र शाखा अधिकृत ३२० जना रहेका छन्। त्यस्तै, सहायकस्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी पनि आगामी आर्थिक वर्षभित्र सेवाबाट निवृत्त हुने किताबखानाले जनाएको छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार कार्यसञ्चालन दिग्दर्शन २०७२ बमोजिम अवकाश हुने कर्मचारीहरूको अनुमानित विवरण सार्वजनिक गरिएको हो। यस विवरणमा न्यायाधीशहरूको तथ्याङ्क भने समावेश नगरिएको किताबखानाले स्पष्ट पारेको छ।