०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

एमबाप्पेको कीर्तिमानदेखि सांसदको चरित्र हत्या आरोपमा २ जना पक्राउसम्म

साउन ३, २०८३
काठमाडौं
एमबाप्पेको कीर्तिमानदेखि सांसदको चरित्र हत्या आरोपमा २ जना पक्राउसम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

फिफा विश्वकपको तेस्रो स्थानका लागि भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा इंग्ल्याण्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै 'ब्रोन्ज मेडल' जितेको छ।

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा कुल १० गोल भयो । खेलको सुरुवातदेखि नै इंग्ल्याण्डले फ्रान्समाथि दबाब बनाएको थियो ।

खेलको तेस्रो मिनेटमै कप्तान डिक्लन राइसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको केही समयपछि १८ औं मिनेटमा एज्री कोन्साले हेडमार्फत दोस्रो गोल गरे। पहिलो हाफ इंग्ल्याण्डको पूर्ण नियन्त्रणमा रहँदा बुकायो साकाले ३७ औं र ४५+१ मिनेटमा दुई गोल थपे । यससँगै इंग्ल्याण्ड मध्यान्तरसम्म ४–० को सहज स्थितिमा पुगेको थियो।

तर, दोस्रो हाफमा फ्रान्सले नाटकीय पुनरागमनको प्रयास गर्‍यो। केलियन एमबाप्पेले ४८ औं र ६६ औं मिनेटमा दुई गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता (२२)को कीर्तिमान समेत आफ्नो नाममा गरे । यसैबीच ५४ औं मिनेटमा बी. बारकोलाले अर्को गोल थपेपछि खेल ४–३ को रोमाञ्चक मोडमा पुग्यो।

खेलको अन्त्यतिर तनाव झनै बढ्यो। ८७ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पुरा गर्दै इंग्ल्याण्डलाई ५–३ को स्थितिमा पुर्‍याए।

साका विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने सर जोफ हर्स्टपछिको दोस्रो इंग्लिस खेलाडी बनेका छन्। थपिएको समयको छैटौं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई ५–४ मा ल्याएर फ्रान्सेली आशा जीवितै राखेका थिए।

यद्यपि, खेलको अन्तिम समयमा जुड बेलिङ्घमले गोल गरेपछि इंग्ल्याण्डले ६–४ को जित सुनिश्चित गर्‍यो। थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्याण्डले यो जितसँगै विश्वकपमा तेस्रो स्थान सुरक्षित गरेको छ।

००००

सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।

देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताए ।

००००

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं आउने–जाने यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै 'ट्राभल अलर्ट' जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको 'रेड अलर्ट' जारी गरेको उल्लेख गर्दै बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गरी यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ।​

००००

देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।

००००

अविरल वर्षा र त्यसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गएराति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ ।

००००

सरकारले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।

यसअन्तर्गत शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ।

००००

नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मीरा पोखरेल (ध्वोजु)लाई क्यान्सर भएको छ ।

श्रीमती मीरालाई क्यान्सर भएको र भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत रहेको नेता पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

००००

उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ ।

विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतको दुई सय १९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ ।

००००

राप्रपाकी सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएका उजुरीहरूका आधारमा २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको बताइन् । शनिबार चितवनबाट पक्राउ पर्ने दुबै जना पुरुष हुन् । पक्राउ पर्ने एकजना रास्वपाको कार्यकर्ता भएको बताइएकोज छ ।

salt training

कमेन्ट गर्नुहोस्