
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा भएको छात्रा दुर्व्यवहार प्रकरणमा नयाँ तथ्य बाहिरिएका छन् ।
छात्रालाई अश्लील सन्देश पठाएको र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयका दुई शिक्षक र एक सवारी चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले सोमबार बिहान विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार र ३५ वर्षीय शिक्षक अविरल मास्केलाई पक्राउ गरेको हो ।
यो घटनाको पर्दाफास विद्यालयका विद्यार्थीहरूले सञ्चालन गरेको सामाजिक सञ्जालको एक पेजमार्फत भएको हो । शुरूमा विद्यालयले ट्रान्सक्रिप्टका लागि ३७०० रूपैयाँ शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका थिए ।
विद्यार्थीले शुरूमा फेसबुकमा ग्रुपमा बनाएर विरोध गरेका थिए । ग्रुपमा शुल्कवृद्धिको विरोध गरेपछि विद्यालय प्रशासनले ग्रुपका सञ्चालकलाई पहिचान गर्ने र ‘साइबर अपराध’ अन्तर्गत कारबाही गर्ने धम्की दिएको थियो । प्रशासनको धम्कीपछि विद्यार्थी थप आक्रोशित भई शिक्षकहरूले छात्रालाई पठाउने गरेका अमर्यादित सन्देश र उनीहरूका पुराना व्यवहारबारे उक्त ग्रुपमा उजुरी र प्रमाण पठाउन थालेका थिए ।
स्रोतका अनुसार पक्राउ परेका शिक्षकहरूले एक जनालाई मात्र नभई छुट्टाछुट्टै रूपमा ३ देखि ५ जना छात्रालाई सामाजिक सञ्जालमा व्यक्तिगत र अश्लील सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउने र अमर्यादित व्यवहार गर्ने गरेको खुलेको छ ।
विद्यालयमा केही समयअघि पनि शिक्षकले विद्यार्थी कुटेको विषयलाई लिएर विवाद भएको थियो । एक महिनाअघि एक शिक्षकले विद्यार्थीलाई कुटपिट गरेका थिए । उक्त घटनामा विद्यार्थीलाई उल्टै ६ दिनसम्म थुनामा राखेर तारिखमा छाडिएको थियो ।
सोही विषयमा विद्यार्थीहरूले नगरपालिका र प्रमुख जिल्ला अधिकारी (सीडीओ)सम्म उजुरी पुर्याएका थिए । त्यसपछि विद्यार्थीहरूले इमेल गरेर विद्यालय प्रशासनलाई जानकारी समेत गराएका थिए ।
दुई वटा इमेल विद्यालयमा आएको प्रअ हिक्म बहादुर बस्नेतले बताए । ‘दुईवटा मेल आएका थिए’, उनले भने, ‘तर शिक्षक किटान गरेर नआएकाले मैले सबै स्टाफलाई राखेर यस्तो मेल आएको छ के हो भनेर बुझेको थिएँ । त्यतिबेला कसैबाट केही खुलेन ।’
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार छात्रामाथि यौनजन्य दुर्व्यवहार भएको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाइएको छ ।
डीएसपी मिश्रले घटनाको वास्तविक प्रकृति र संलग्नताको अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्रै खुल्ने बताएका छन् । ‘अहिले विद्यालयमा कुनै पनि थप दुर्घटना नहोस् भनेर हामीले ३ जनालाई नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘थप अनुसन्धानबाट खुल्दै जाला । ’
पक्राउ परेका तीनै जनाले छुट्टाछुट्टै विद्यार्थीलाई सामाजिक सञ्जालबाट अश्लील मेसेज पठाएको खुलेको सुरक्षा स्रोतले बतायो ।
यसैबीच, सुन्दरहरैँचा नगरपालिकाले पनि घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
नगरपालिकाले सार्वजनिक रूपमा आएका आरोप गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै निष्पक्ष अनुसन्धानमा सहयोग गर्न विद्यालयलाई निर्देशन दिएको छ । विद्यालय प्रशासनले पनि आरोपीमाथि प्रशासनिक प्रक्रिया अघि बढाउँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।