१० साउन २०८३, आइतबार

विश्वकप लिग–२ : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

साउन ७, २०८३
काठमाडौं
विश्वकप लिग–२ : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

 उट्रेचमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै ३५ बल बाँकी छँदै पूरा गर्‍यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको प्रदर्शन निकै निराशाजनक रह्यो । नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर मात्र १५७ रन जोड्न सक्यो । नेपालका लागि मध्यक्रमका ब्याटर आरिफ शेखले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ९० बल खेल्दै ४ चौका प्रहार गरे पनि अन्य ब्याटरबाट बलियो साथ पाउन सकेनन् ।

नेपालको सुरुवात अत्यन्तै फितलो रह्यो । ओपनर आसिफ शेख १४ रन र कुशल भुर्तेल ९ रनमा आउट भए । लगत्तै कप्तान रोहित पौडेल ३ रन र इशान पाण्डे ४ रनमै पभिलियन फर्किएपछि नेपाल ३१ रनमा ४ विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो । मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले २१ रन र गुल्सन झाले २९ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे । पुछारका ब्याटर सोमपाल कामीले १० र करण केसीले अविजित १३ रन जोडे पनि सन्दीप लामिछाने र ललित राजवंशी शून्यमै आउट भएपछि नेपाल सस्तैमा समेटियो ।

नेपाललाई सस्तोमा रोक्न नेदरल्याण्ड्सका बलर एलेक्स रोय र रोलोफ भान डर मर्वेले घातक बलिङ गरे । दुवैले समान ३–३ विकेट लिए । त्यस्तै लोगान भान विकले २ तथा काइल क्लेनले १ विकेट हात पारे ।

१५८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको सुरुवात पनि निकै संयमित थियो । सुरुवाती १५ रनमै ओपनर म्याक्स ओडाउडलाई सोमपाल कामीले बोल्ड गरेर नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि सेड्रिक डे लान्ज २१ रन र बास डे लिडे १ रनमा आउट भएपछि खेल केही रोचक मोडमा पुगेको थियो । तर, कप्तान स्कट एडवर्ड्सले कप्तानी इनिङ्स खेल्दै टोलीलाई सहज जिततर्फ डोहोर्‍याए ।

एडवर्ड्सले ८९ बलमा २ चौका र १ छक्काको मद्दतले अविजित ६१ रन बनाए । उनलाई नोआ क्रोसले ३४ रन बनाएर बलियो साथ दिए । यी दुईबीच भएको अविजित साझेदारीले नेदरल्याण्ड्सलाई जितसम्म पुर्‍यायो ।

नेपालका तर्फबाट सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए । सन्दीप लामिछाने र करण केसी भने यस खेलमा विकेटविहीन रहे । 

salt training

कमेन्ट गर्नुहोस्