०४ साउन २०८३, सोमबार

भारी वर्षाको जोखिम : काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

साउन २, २०८३
काठमाडौं
भारी वर्षाको जोखिम : काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं आउने–जाने यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै 'ट्राभल अलर्ट' जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको 'रेड अलर्ट' जारी गरेको उल्लेख गर्दै बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गरी यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ।

प्रशासनले विशेषगरी रातिको समयमा यात्रा गर्दा थप सतर्क रहन, यात्रा अघि सम्बन्धित सडक खुला वा अवरुद्ध रहेको जानकारी लिन तथा सडक अवरुद्ध भए सुरक्षित स्थानमै रोकिन आग्रह गरेको छ।

यात्राका क्रममा आवश्यक खानेपानी र खाद्य सामग्रीको व्यवस्था गर्न तथा प्रहरीबाट सडक सञ्चालन भएको पुष्टि भएपछि मात्र यात्रा अघि बढाउन प्रशासनले अनुरोध गरेको छ।

null

आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलका हेल्पलाइन नम्बर १००, १०३, १११४ र ११४४ मा सम्पर्क गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय चितवनले पनि उच्च सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ ।

नारायणगढ-मुग्लिङ-काठमाडौंसम्मको सडक खण्डका विभिन्न स्थानमा पटक-पटक पहिरो जाने गरेको भन्दै प्रशासनले अत्यावस्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

null

यसका साथै, सिन्धुपाल्चोक, कास्की, स्याङ्जालगायतका जिल्ला प्रशासन कार्यालयहरूले पनि उच्च सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेका छन् । 

जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले आगामी दुई दिन देशभर मनसुनी गतिविधि थप सक्रिय हुने जनाएको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलले शनिबार र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताइन् ।

उनका अनुसार देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक/दुई स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्नेछ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी–खोलामा बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रवक्ता पोखरेलले हवाई, पर्यटन, कृषि तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर सावधानी अपनाउन अनुरोध गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्