
बुटवलको कंक्रिट जंगलबीच एउटा घर छ, जहाँ पाइला टेक्नेबित्तिकै शहर हराउँछ र गाउँ भेटिन्छ। माटोले लिपिएको भित्तो, काठका झ्याल–ढोका, ढल्किएको छानो, खुला आँगन र रैथाने वस्तुले सजिएको भित्री संसारले आगन्तुकलाई आफ्नै बाल्यकालको गाउँ सम्झाइदिन्छ।
यो कुनै पुरानो गाउँबाट सारेर ल्याइएको घर होइन, बरु आधुनिकताको भीडमा हराउँदै गएको नेपाली मौलिकता, संस्कृति र गाउँको जीवनशैलीलाई जोगाउने एउटा सचेत अभियान हो। विदेशमा देखेको अनुभवलाई आफ्नै माटोमा उतार्ने सपना बोकेका युवा उद्यमी समुन्द्र घिमिरे क्षेत्रीले निर्माण गरेको ‘गाउँको घर’ अहिले केवल फोटो खिच्ने आकर्षक गन्तव्य मात्र बनेको छैन, गाउँप्रतिको आकर्षण जगाउने, रैथाने उत्पादनलाई बजारसँग जोड्ने र ‘भविष्य गाउँमै छ’ भन्ने सन्देश फैलाउने जीवित संग्रहालयका रूपमा परिचित बन्दै गएको छ।
बुटवल उपमहानगरपालिका–८ रामनगर शान्तिपथमा बनाइएको यो गाउँको घर घिमिरे क्षेत्रीको परिकल्पनामा निर्माण भएको हो । समुद्रले बनाएको यो घर कुनै आवासीय भवन नभई नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा रैथाने उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न बनाइएको हो । सहरको व्यस्त जीवनशैलीबिच गाउँको संस्कृतिलाई जोगाउने उद्देश्यले घर बनेको हो । घरले गाउँबाट सहर आएकालाई आफ्नो बाल्यकाल, परिवार र गाउँघरको सम्झना महसुस गराउँछ ।
‘यो केवल एउटा घर मात्र होइन, पुस्ताौँदेखि जोगिँदै आएको नेपाली गाउँको जीवनशैली र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास हो,’ समुद्र भन्छन्, ‘पछिल्ला वर्षमा तीव्र सहरीकरणसँगै गाउँका मौलिक घर, परम्परा र जीवनशैली हराउँदै गएका बेला यसले इतिहासको पनि झल्को मेटाउन टेवा पुर्याउने आशा लिएको छु ।’
घरमा आउने सहरका आगन्तुक फोटो खिच्ने मात्र होइन, गाउँको जीवनशैलीलाई नजिकबाट अनुभव गर्न पनि पाउँछन् । निर्माण भएर सञ्चालनमा आएको छोटो समयमै सामाजिक सञ्जालमा पनि यो घर ‘भाइरल’ बनेको छ । झन्डै ५० लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको घरमा गाउँको तरकारी, गाउँको पोसाक र गाउँको कोसेली नामका तीनवटा विभाग सञ्चालनमा छन् ।

सञ्चालक घिमिरेले घरलाई नेपाली मौलिकता जोगाउने एउटा जीवित सङ्ग्रहालय बनाउने सोचमा छन् । घरमा विभिन्न समुदायले परम्परागत रूपमा प्रयोग गर्ने भाँडाकुँडा, हस्तकला सामग्री, लोपोन्मुख राउटे समुदायका सामग्री, जातीय पोसाक तथा उपहार सामग्री प्रदर्शनसँगै बिक्रीका लागि राखिएका छन् । त्यसैगरी हिमाली जिल्लामा उत्पादन भएका दाल, गेडागुडी, सिस्नो, सिन्की, स्थानीय तरकारी तथा गाँजा र अल्लोबाट बनेका कपडा, झोला, जुत्ता, चप्पललगायत रैथाने उत्पादन पनि किनमेल गर्न पाइन्छ । समुद्र ७७ जिल्लाका रैथाने उत्पादन बिक्रीमा राख्ने गरी अभियानमा खटिएका छन् ।
उद्यमी घिमिरे विदेशबाट आयातित उपहारको सट्टा नेपाली हस्तकला र स्थानीय सीपमा आधारित सामग्रीलाई प्रोत्साहन गर्ने अभियान पनि सञ्चालन गरिरहेका छन् । पाँच जना कर्मचारीसहित घिमिरे दम्पतीले सञ्चालन गरिरहेको केन्द्र उद्घाटन भएको केही दिनमै अवलोकनकर्ता र फोटो खिच्नेहरूको उल्लेख्य भिड लाग्न थालेको छ । आगन्तुकहरूले गाउँको वातावरणसँगै नेपाली मौलिक उत्पादनको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

तीन दाजुभाइमध्येका कान्छा समुद्रले कक्षा १२ सम्मको अध्ययन पूरा गरेपछि रोजगारीको खोजीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका थे । त्यहाँ करिब सात वर्षको बसाइका क्रममा युरोपका केही देशको भ्रमण गर्ने अवसर पनि पाए । विकसित देशको कृषि, पर्यटन र स्थानीय उत्पादनको बजारीकरणको शैलीलाई नजिकबाट नियालेका घिमिरेले त्यही अनुभवलाई आफ्नै माटोमा उतार्ने सपना साकार पारेका हुन् ।
गाउँले घरको मुख्य उद्देश्य व्यापार गरेर नाफा कमाउनु मात्र नभई सहरको बिचमा गाउँको झल्को दिने यो घरमार्फत गाउँ सुन्दर छ, गाउँमै भविष्य छ भन्ने सन्देश दिन खोजिएको उनले बताए । उनी भन्छन्, ‘यो घरमा आउने मानिसले गाउँका स्वच्छ र अर्गानिक उत्पादन देखेपछि गाउँप्रतिको आकर्षण बढोस् भन्ने चाहना छ ।’
सँगै युवालाई गाउँमै कृषि तथा अन्य उद्यममा लाग्न प्रेरित गर्नु नै अभियानको मूल लक्ष्य हो । नयाँ पुस्ता गाउँको जीवनशैलीबाट टाढिँदै गएको छ । त्यसैले गाउँको प्राकृतिक वातावरण, कृषि, स्थानीय अर्थतन्त्र र संस्कृतिलाई प्रत्यक्ष अनुभव गराउने माध्यमका रूपमा गाउँले घरलाई विकास गरिएको छ । यसले सहरमा हुर्किएका बालबालिका र विद्यार्थीलाई ग्रामीण जीवनबारे सिकाउने, गाउँका खाली घर र जमिनको सदुपयोग गर्न प्रेरित गर्ने तथा गाउँलाई उद्यमको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने समुद्र बताउँछन् ।

अहिले यो घरमा पुग्ने १० जना मध्ये ८ जनाले घरबारे बुझ्ने गर्छन् । यो अभियानबाट समुद्र देशलाई आफ्नै मौलिकतामा फर्काउने सोचमा छन् । ‘अबको दस वर्षपछि मानिसहरू आफ्नै मौलिकता ठीक रहेछ भन्ने निचोडमा पुग्नेछन्, १२ बजेपछि फेरि १२ नै बज्ने हो,’ उनी भन्छन्, ‘हामी आधुनिकता र कस्मेटिकमा रमाए पनि हाम्रो डीएनए खुसी छैन । मनले अर्गानिक र रैथाने चिज खोजिरहेको छ ।’
बुटवलको यो अवधारणासँगै घिमिरेले पाल्पाको तिनाउ गाउँपालिका–६ मा २० रोपनी क्षेत्रफलमा गाउँको घर इको फार्म तथा रिसोर्ट सञ्चालन गरिरहेका छन् । त्यहाँ कफी, दालचिनी, रुद्राक्ष, तरकारीलगायत खेती भइरहेको छ भने, भविष्यमा त्यसलाई बोटानिकल गार्डेनका रूपमा विकास गर्ने योजना छ । बसाइँसराइका कारण खाली भएका गाउँका घर र जग्गा लिजमा लिएर होमस्टे, कृषि फार्म तथा विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममार्फत कृषि सिकाउने अवधारणामा पनि उनी सक्रिय छन् ।

घिमिरेले बुटवलमा प्रत्येक शनिबार ‘खस्यौली बजार’ सञ्चालन गर्दै आएका छन्, जहाँ करिब २५ जना उद्यमीले आफ्ना रैथाने उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर पाउँछन् । यससँगै उनी इको यात्री संस्थामार्फत वातावरण संरक्षण, सरसफाइ, डढिलो नियन्त्रण तथा प्रकृति संरक्षणसम्बन्धी सामाजिक अभियानमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । सहरको कंक्रिट जङ्गलबिच निर्माण भएको ‘गाउँले घर’ केवल एउटा संरचना होइन, ग्रामीण संस्कृति, स्थानीय उत्पादन, स्वदेशी सीप र गाउँमुखी सोचलाई पुनर्जीवित गर्ने अभियानका रूपमा स्थापित हुने प्रयासमा छ ।
सहरमा सहजै नपाइने यस्ता उत्पादनलाई एउटै स्थानमा ल्याउने प्रयासले गाउँको घरलाई विशिष्ट बनाएको समुद्र बताउँछन् । प्लास्टिकको विकल्पका रूपमा बाँसबाट बनेका ब्रस, काइँयो, चम्चा, काँटा, पानीका बोतल र चिया छान्ने जालीलगायत सामग्रीले पनि उपभोक्ताको ध्यान आकर्षित गरेका छन् । नेपालका अधिकांश घरेलु उत्पादनहरू बजार नपाएर ओझेलमा पर्ने गरेका छन् । गाउँको घरले त्यस्ता उत्पादनलाई उपभोक्तासम्म पुर्याउने भरपर्दो माध्यम बन्ने प्रयास गरिरहेको छ ।

बुटवलको पुरानो फिल्म हल परिसरमा प्रत्येक शनिबार लाग्ने खस्यौली बजारमा गाउँका किसान, घरेलु उद्यमी, महिला समूह र हस्तकलाकर्मीले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर पाएका थिए । त्यहाँ सिस्नोदेखि कोदोको पीठो, स्थानीय जातका गाईको घिउदेखि हस्तनिर्मित झोला, र बाँसका सामग्रीदेखि अल्लोका कपडासम्म एउटै स्थानमा भेटिन्थे । समुद्र गाउँलाई कम आँक्ने सोच बदल्दै गाउँमै सुनौलो सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश दिन लागिपरेका छन् । विदेशबाट फर्किएर गाउँलाई नै आफ्नो भविष्य बनाउने उनको यो यात्रा अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्दै गएको छ । गाउँको माटो, गाउँको पसिना र गाउँको उत्पादनलाई सम्मान गर्ने अभियानका रूपमा गाउँको घरले सहरमा गाउँको सुवास फैलाइरहेको छ ।
