
तेह्रथुमको पहाडी थुम्काहरूमा जब कुहिरो मडारिन्छ र चियाका बोटहरूमा शीतका थोपाहरू टल्किन्छन्, तब कताकताबाट एउटा पुरानो तर निकै आत्मीय स्वर गुञ्जिरहेको भान हुन्छ । त्यो स्वर हो– प्रेम खड्काको ।
कुनै समय रेडियो नेपालको फ्रिक्वेन्सीबाट घरघरमा पुग्ने एउटा लोकभाका थियो, ‘सोल्मा डाँडा चियाको खेती,जान्नँ म त मायालाई नभेटी’ ।
यो गीत सुन्ने जोकोहीलाई पनि पहाडी जीवनको सुगन्धले छुन्थ्यो । तर, त्यो सुमधुर गीतका सर्जक र गायक प्रेम खड्का पछिल्लो समय कहाँ र कुन अवस्थामा छन् भन्ने धेरैका लागि कौतुहलको विषय हुन सक्छ ।
अहिले उनी तेह्रथुमको लालीगुराँस नगरपालिका–८, रातमाटेस्थित आफ्नै जन्मथलोमा माटो र सङ्गीतको एउटा अनौठो सङ्गम बाँधिरहेका छन् ।
प्रेमको सङ्गीत यात्रा २०५२–५३ सालतिर रेडियो नेपालबाट शुरू भएको थियो । तत्कालीन समयमा रेडियो नेपालको स्टुडियोमा पुगेर गीत रेकर्ड गराउनु कुनै सपना पूरा हुनुभन्दा कम थिएन ।
उनले ‘सोल्मा डाँडा चियाको खेती’ मात्र गाएनन्, ‘फेद काटी बाँसको धिँरी, टुप्पा काटी मुरली थिरिरी’ जस्ता मौलिक र जनजिब्रोमा झुण्डिने गीतहरू पनि दिए ।
तर, सङ्गीतको उचाइ चढ्दै गर्दा अचानक उनको स्वर रेडियोका तरंगहरूबाट हराउन थाल्यो । सङ्गीतको त्यो सुनौलो समय र अहिलेको डिजिटल युगको बीचमा उनको जीवनमा एउटा लामो रिक्तता छ, जुन रिक्तता सघंर्ष, अभाव र पारिवारिक जिम्मेवारीले भरिएको छ ।
हालै मात्र उनको एउटा नयाँ गीत सार्वजनिक भएको छ, जसमा उनले आफू ८० वर्षको भइसकेको उल्लेख गरेका छन् । तर, ६८ वर्ष पुग्दै गरेका खड्कासँग जब कुराकानी शुरू हुन्छ, तब एउटा रोचक कुरा खुल्छ । उनले गीतमा आफ्नो उमेर ढाँटेका रहेछन् । उनी हाँस्दै भन्छन्, ‘गीतमा ८० वर्ष पुगिगइएछ भनेर गाएको छु, तर म त भर्खर ६८ वर्षको भएँ ।’
उनले यसो गर्नुको पछाडि एउटा कलाकारको मनोविज्ञान लुकेको छ । उनलाई लागेको थियो कि ८० वर्षको वृद्धले गीत गाएको सुन्दा मानिसहरूमा छुट्टै किसिमको कौतुहलता जाग्नेछ । ६० वर्षको मान्छेले गीत गाउनु त सामान्य नै हो, तर ८० वर्षको उमेरमा पनि यसरी स्वरलाई तिखार्न सक्नु एउटा आश्चर्यको विषय बन्न सक्छ भन्ने उनलाई लागेको थियो ।
सङ्गितबाट टाढिनुको पीडा उनीभित्र अझै ताजा छ । उनी आफ्नो जीवनलाई एउटा उखानसँग जोड्छन्, ‘नेपाल गयो कपालसँगै, बर्मा गयो कर्मसँगै ।’
घरको आर्थिक अवस्था कमजोर भएपछि र छोराछोरीलाई पढाउने, हुर्काउने र बिहेदान गर्ने जिम्मेवारी काँधमा आएपछि उनले आफ्नो प्राणजत्तिकै प्यारो सङ्गीतलाई थाँती राख्नुपर्यो । एउटा कलाकारका लागि सिर्जनाबाट टाढिनु भनेको आधा शरीर मरेजस्तै हो । तर पनि उनी निराश छैनन् । उनी अचेल पनि आफ्नै खेतमा हलो जोत्छन्, कोदालो खन्छन् र वर्षको एक मुरी बीउ जाने खेतमा अहोरात्र खट्छन् ।
उनी भन्छन्, ‘खेती नगरे त भात खाने अवस्थै छैन । हामी त किसानी मान्छे, माटोसँगै खेल्दाखेल्दै जीवन बितेको छ ।’ तर, त्यो माटोको सुगन्धमा उनी बेलाबेला आफ्नै पुरानो भाका गुनगुनाउन भने छोड्दैनन् ।
प्रेम खड्काको जीवनमा एउटा नमीठो घाउ पनि छ– त्यो हो उनको सिर्जना चोरी हुनु । उनी दाबी गर्छन् कि अहिले निकै चर्चित रहेको ‘झम्के गुलेली’ गीतको वास्तविक सर्जक उनी नै हुन् । उनले बनाएको मौलिक शब्द र लयलाई कमलीकान्त भेटवालले थोरै हेरफेर गरेर आफ्नो नाममा दर्ता गराएको देख्दा उनलाई दु:ख लाग्छ ।
उनी भन्छन्, ‘मैले त एउटा दुब्लो भैँसी जस्तै यो गीतलाई जन्माएको थिएँ, अरूले लगेर स्याहार गरेर टिलिक्क पारे र आफ्नै हो भनेर दाबी गरे । फलानाले बनाएको हो मात्रै भनिदिएको भए पनि मलाई चित्त बुझ्ने थियो ।’ यो पीडा धेरै पुराना लोक गायकहरूको साझा पीडा हो, जसको सिर्जनाको कदर कहिल्यै हुँदैन ।
अचम्मको कुरा त के छ भने, ६८ वर्षको उमेरमा पनि प्रेम खड्का प्रविधिसँग निकै नजिक छन् । धेरैजसो वृद्धवृद्धाहरू मोबाइलको बटन थिच्न डराउने यो समयमा खड्का फेसबुक चलाउँछन्, ह्वाट्सएपमा भिडियो कुराकानी गर्छन् र म्यासेन्जरमा सक्रिय रहन्छन् । उनी सङ्गीतलाई अब डिजिटल प्लेटफर्ममा लैजान चाहन्छन् ।
पहिले रेडियो र क्यासेटको जमाना थियो, अहिले युट्युबको जमाना छ । उनले आफ्ना नयाँ गीतलाई युट्युबमा राखेर संसारभर रहेका नेपालीलाई सुनाउने अठोट गरेका छन् । उनलाई कतिपयले आर्थिक सहयोग गर्ने प्रस्ताव पनि राखेका छन्, तर विडम्बना अहिलेसम्म उनको बैंकमा एउटा खातासम्म छैन ।
प्रेम खड्का अहिले नयाँ जोसका साथ मैदानमा उत्रने तयारीमा छन् । उनको एउटा नयाँ गीत रेकर्ड भइसकेको छ र अब त्यसको भिडियो छायाङ्कनका लागि उनी उचित समय र ठाउँको पर्खाइमा छन् । सङ्गीतप्रतिको उनको मोह अझै तन्नेरी छ ।
उनी भन्छन्, ‘सङ्गीत भनेको मानिसको मनलाई शान्त बनाउने एउटा औषधि हो । पीर परेका र मन भारी भएकाहरूलाई गीतले शीतलता दिन्छ ।’
रातमाटेको त्यो चिसो हावापानी र खेतको गरोमा बसेर उनले गाउने तेह्रथुमको मौलिक भाकाले फेरि एकपटक नेपाली लोक सङ्गीतमा नयाँ आयाम थप्ने छ ।
प्रेम खड्काको कथा एउटा गायकको मात्र कथा होइन, यो एउटा सङ्घर्षशील नेपाली किसानको कथा हो, जसले अभावका बीचमा पनि आफ्नो कलालाई मर्न दिएन । उनको घाँटीमा अझै पनि त्यही पुरानो सुमधुर स्वर छ र मनमा सङ्गीतप्रतिको अथाह प्रेम । ६८ वर्षको उमेरमा पनि प्रविधिको प्रयोग गर्दै नयाँ सिर्जनामा जुट्नुले उनलाई वास्तवमै एक कालजयी कलाकारका रूपमा उभ्याएको छ ।
‘नौमति र दमाहमा तेह्रथुम बजार जाऊँ चटक्कै चण्डी पूर्णे जाऊँ’ बोलको गीत उनले भर्खरै रेकर्ड गराएका छन् । आफ्नै गीत गुनगुनाउँदै खड्का उकालि-ओराली गरिरहेका छन् ।