
विश्वकप सेमिफाइनलमा व्यहोरेको बिर्सनलायक पराजयको चोटलाई भुल्दै फ्रान्स र इङ्गल्याण्ड आइतबार बिहान तेस्रो स्थानको खेलका लागि मैदान उत्रँदै छन् । फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सको यो अन्तिम खेल हुनु र स्टार स्ट्राइकर किलियन एम्बाप्पे ऐतिहासिक कीर्तिमानको नजिक हुनुले सामान्यतया कम महत्त्व दिइने र विश्वकपकै दु:खी मानिने खेल पनि निकै अर्थपूर्ण र रोचक बन्ने देखिएको छ । खेलमा दुवै टोलीले आफ्नो सुरुवाती ११ मा व्यापक परिवर्तन गर्ने सम्भावना बलियो छ।
गत मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित हुँदै फ्रान्सको लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने सपना चकनाचूर भएको थियो। त्यसको भोलिपल्ट अर्को सेमिफाइनलमा इङ्गल्याण्डले पनि अर्जेन्टिनासँग २–१ को पीडादायी हार बेहोरेको थियो । मियामीमा हुने खेलसँगै ५७ वर्षीय प्रशिक्षक डेसच्याम्प्सको १४ वर्ष लामो ऐतिहासिक कार्यकालको सुखद अन्त्य हुनेछ।
सन् २०१२ देखि फ्रान्सेली टोली सम्हालेका उनले सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाएका थिए भने सन् २०२२ को फाइनल र लगातार तीन पटक विश्वकपको सेमिफाइनलसम्म पुर्याएका थिए। मुख्य प्रशिक्षकका रूपमा दोस्रो पटक विश्वकप ट्रफी उचालेर बिदा हुने उनको चाहना अधुरै रहे पनि फ्रान्सेली खेलाडीहरू जितका साथ आफ्ना सफल प्रशिक्षकलाई सुखद बिदाइ गर्न चाहन्छन्।
४८ टोली सम्मिलित वृहत् प्रतियोगितामा लामो यात्रा तय गरेपछि दुवै टोलीका खेलाडीहरू शारीरिक र मानसिक रूपमा निकै थाकेका छन् । त्यसैले धेरैका लागि यो खेल खेल्नै नपरोस् भन्ने खालको केवल औपचारिकताजस्तै बनेको छ। इङ्गल्याण्डका प्रशिक्षक थोमस टुचेलले फ्रान्स वा इङ्गल्याण्डका कुनै पनि खेलाडी यो खेल खेल्न इच्छुक नरहेको र सबैको ध्यान फाइनलमै केन्द्रित रहेको बताएका छन् । यस अवस्थामा दुवै प्रशिक्षकले अहिलेसम्म मैदानमा कम समय पाएका बेन्चका खेलाडीहरूलाई मौका दिँदै टिममा व्यापक फेरबदल गर्ने रणनीति बनाएका छन्।
यति हुँदाहुँदै पनि फ्रान्सका कप्तान किलियन एम्बाप्पेका लागि भने यो खेल निकै महत्त्वपूर्ण हुन सक्छ। २७ वर्षीय एम्बाप्पेले यस विश्वकपमा ८ गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल सङ्ख्या २० पुगेको छ। उनी प्रतियोगिताको गोल्डेन बुट जित्ने दौडमा मात्र छैनन्, बरु विश्वकै सर्वाधिक विश्वकप गोलकर्ताको ऐतिहासिक कीर्तिमानको समेत नजिक पुगेका छन् । सामूहिक दबाब नभएको यस खेलमा शुरूदेखि नै मैदान उत्रिएर फ्रान्सको निराशाजनक बहिर्गमनलाई व्यक्तिगत रूपमा ऐतिहासिक क्षणमा बदल्ने अवसर एम्बाप्पेसामु छ।
इङ्गल्याण्डका प्रशिक्षक टुचेलले पनि प्रतियोगिताभर बेन्चमा बसेका खेलाडीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने अन्तिम मौका दिने बताएका छन्। तुलनात्मक रूपमा यस खेलको प्रतिष्ठा वा दबाब कम भए पनि फ्रान्सका लागि यो केवल एउटा खेल मात्र हुने छैन। यसले एकातिर एम्बाप्पेका लागि इतिहास रच्ने ढोका खोल्नेछ भने अर्कोतिर डेसच्याम्प्सलाई विजयी प्रशिक्षकका रूपमा सानदार बिदाइ दिने स्वर्णिम अवसर प्रदान गर्नेछ।