
फिफा विश्वकप–२०२६ को फाइनल साविक विजेता अर्जेन्टिना र स्पेनबीच खेलिँदै छ । खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान १२:४५ बजे शुरू हुनेछ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसपटकको विश्वकप विजेताका लागि परम्परागत ट्रफी र स्वर्ण पदकका साथै अर्को एउटा विशेष उपहारको पनि घोषणा गरेको छ ।
फिफाले पहिलो पटक प्रदान गर्न लागेको विशेष उपहार हो, ‘च्याम्पियनसिप रिङ’ अर्थात्, ‘च्याम्पियनसिप औँठी’ ।
फिफाको इतिहासमा पहिलो पटक यस्तो अभ्यास सुरु गरिएको हो । अमेरिकी खेलकुदको निकै लोकप्रिय र प्रतिष्ठित मानिने ‘च्याम्पियनसिप रिङ’ को संस्कृतिलाई विश्व फुटबलमा पनि भित्र्याइएको हो ।
फिफाका अनुसार यो औँठीको डिजाइन निकै आकर्षक र अर्थपूर्ण छ । औँठीको एक भागमा फिफा विश्वकपको ट्रफी अंकित छ भने अर्को भागमा विजेता टोलीको पहिचान झल्किने गरी कस्टमाइज गरिएको छ ।
अहिले कुल दुई हजार २६ थान औँठीमात्र तयार पारिएको छ, जसले सन् २०२६ को संस्करणलाई संकेत गर्छ ।
तीमध्ये ३० वटा औँठी विजेता टोलीका सदस्यहरूका लागि सुरक्षित राखिएका छन् । बाँकी एक हजार नौ सय ९६ थान औँठी भने विश्वभरका फुटबल समर्थकहरूका लागि ‘अफिसियल लाइसेन्स प्रोडक्ट’ का रूपमा उपलब्ध गराइने बताइएको छ ।
यसले समर्थकहरूलाई विश्वकपको इतिहासको एउटा अद्वितीय हिस्साको स्वामित्व लिने अवसर प्रदान गर्ने फिफाको विश्वास छ ।
विजेता टोलीका सदस्यलाई प्रदान गरिने प्रत्येक औँठीमा छुट्टाछुट्टै नम्बर अंकित गरिने छ र ती औँठीहरू प्रमाणपत्रसहित पछि औपचारिक रूपमा टोलीलाई हस्तान्तरण गरिनेछ ।
प्रत्येक औँठीलाई विजेता खेलाडीको नापअनुसार बनाइने हुनाले यो उनीहरूका लागि जीवनभरको गौरवमय उपलब्धि बन्ने बताइएको छ ।
यद्यपि, विश्वकपमा औँठी दिने अभ्यास फिफाका लागि नयाँ भए पनि खेलाडीहरूका लागि भने यो नितान्त नौलो होइन ।
यसअघि सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा पाउल पोग्बा र एन्टोनी ग्रिजम्यानले आफ्ना सहकर्मीहरूका लागि व्यक्तिगत रूपमा हीरा जडित औँठीहरू बनाएका थिए, जुन नेशनल बास्केटबल लिग (एनबीए) बाट प्रेरित थियो ।
तर यसपटक फिफा आफैंले आधिकारिक रूपमा यो परम्परा सुरु गरेको हो । यो औँठी सन् २०२६ को संस्करणका लागि मात्र हो वा भविष्यमा पनि निरन्तरता पाउनेछ भन्ने विषयमा फिफाले स्पष्ट पारेको छैन ।