
नेदरल्यान्ड्समा मंगलबारदेखि शुरू हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो १४:४५ बजे शुरू हुनेछ । नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको हो ।
नेपाली टोलीका लागि यो शृंखला निकै महत्वपूर्ण छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र नामिबियाबीच हालसम्म आठ खेल खेलिएको छ ।
त्यसमध्ये नामिबियाले पाँच खेलमा नेपाललाई हराएको छ । नेपालले भने दुई खेलमा नामिबियालाई पराजित गरेको छ । बाँकी एक खेल अनिर्णित रूपमा सकिएको छ ।
पछिल्लो पटक सन् २०२४ को फेब्रुअरीमा नेपाल र नामिबिया आपसमा भिडेका थिए । ती दुवै खेलमा नोमिबियाले नेपाललाई हराएको थियो । ती दुबै खेल नेपालमै खेलिएको थियो ।
नामिबिया फेब्रुअरी १५ तारिखमा खेलिएको पहिलो खेलमा चार विकेटले र फेब्रअरी २१ तारिखमा खेलिएको दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो ।