०९ साउन २०८३, शनिबार

अमेरिका र साउदी अरबबीच न्युक्लियर सम्झौतामा हस्ताक्षर

साउन ७, २०८३
काठमाडौं
अमेरिका र साउदी अरबबीच न्युक्लियर सम्झौतामा हस्ताक्षर

अमेरिका र साउदी अरबबीच ऐतिहासिक 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'मा हस्ताक्षर भएको छ। सम्झौताले साउदी अरबलाई नागरिक प्रयोजनका लागि आफ्नै आणविक कार्यक्रम विकास गर्न बाटो खोल्नेछ भने अमेरिकी कम्पनीहरूलाई साउदी ऊर्जा क्षेत्रमा ठुलो पहुँच प्रदान गर्ने बीबीसीले जनाएको छ । 

अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार सहकार्य सम्झौताका साथै दुई देशबीच 'द्विपक्षीय सुरक्षा सम्झौता'मा पनि हस्ताक्षर भएको छ। आधिकारिक रूपमा सम्झौताका पूर्ण विवरणहरू सार्वजनिक नगरिए पनि, अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यस सम्झौताले साउदी अरबलाई भविष्यमा आफ्नै माटोमा युरेनियम प्रशोधन गर्ने अनुमति दिन सक्नेछ। युरेनियम प्रशोधनबाट बिजुली उत्पादनका लागि इन्धन बनाउनुका साथै आणविक बम निर्माण गर्न पनि सकिन्छ।

यदि युरेनियम प्रशोधनको अनुमति दिइएको खण्डमा, कुनै पनि देशलाई आफ्नै माटोमा प्रशोधन पूर्वाधार बनाउन अमेरिकाले सहयोग गरेको यो पहिलो ऐतिहासिक घटना हुनेछ।

यो घोषणा अमेरिका र इरानबीच सैन्य तनाव चरम बिन्दुमा पुगेका बेला आएको छ। हालै यमनका हुथी विद्रोहीहरूले साउदी अरबविरुद्ध 'समुद्री नाकाबन्दी' को घोषणा गरेका छन् भने साउदीमा रहेका अमेरिकी सैन्य बेसहरूमाथि इरान समर्थित आक्रमणहरू भइरहेका छन्।

सम्झौता अनुसार अमेरिकाको सहयोगमा साउदी अरबमै युरेनियम प्रशोधन केन्द्र निर्माण हुनसक्नेछ, जसबाट अमेरिकी कम्पनीहरूले अर्बौँ डलरको व्यापार पाउनेछन्। अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले यो सम्झौताले आणविक सुरक्षा र गैर-प्रसारका सर्वोच्च मापदण्डहरू पालना गर्ने र दुवै देशको आर्थिक तथा रणनीतिक हितलाई प्रवर्द्धन गर्ने दाबी गरेका छन्।

यसअघि सन् २००९ मा संयुक्त अरब इमिरेट्ससँग अमेरिकाले गरेको आणविक सम्झौतामा यूएईलाई इन्धन उत्पादन गर्न प्रतिबन्ध लगाइएको थियो। तर साउदीसँगको सम्झौता त्योभन्दा भिन्न देखिएको छ।

साउदी अरबले वर्षौँदेखि यस्तो सम्झौताका लागि पहल गर्दै आएको थियो। विगतमा वासिङ्टनले साउदीले इजरायललाई राष्ट्रको मान्यता दिनुपर्ने र कूटनीतिक सम्बन्ध सामान्य बनाउनुपर्ने सर्त राखेको थियो, तर अहिले सो सर्त हटाइएको बुझिएको छ। यसका साथै चीन र रुसले पनि साउदीसँग यस्तै सम्झौताका लागि छलफल गरिरहेकाले अमेरिकाले यो मौका गुमाउन नचाहेको विश्लेषण गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्