
युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी ठगीका ४० हजार फाइल खोल्न शुरू गरिएको बताएका छन् । ठगी गर्ने व्यक्तिलाई नेपालमा छुट नदिने उनले बताए ।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा मन्त्री यादवले २०५७ सालदेखि थन्किएर बसेका फाइल खोल्न थालिएको बताएका हुन् । ‘२०५७ सालदेखिको उजुरीको फाइल थन्केर बसेको थियो, कसैले त्यो फाइल खोल्न चासो दिएका थिएनन्, अहिले धुलो टकटक्याउने काम शुरू भएको छ,’ मन्त्री यादवले भने, ‘सबै फाइलको अनुसन्धान गरेर न्याय दिन्छौं ।’
वैदेशिक रोजगारी ठगीका फाइल थन्किएर बस्ने प्रवृत्ति रोक्नका लागि सरकारले वैदेशिक रोजगारी ठगीमा परेका व्यक्तिको लागि उजुरीका लागि अनलाइन प्लेटफर्म ल्याएको मन्त्री यादवले बताए ।
‘अब पीडितले फाइल बोकेर काठमाडौं धाउन नपरोस् भनेर यसको सोच आएको, अनलाइन प्लेटफर्ममार्फत घरबाटै उजुरी दिन सकिन्छ, उनीहरूले न्याय पाउँछन्,’ यादवले भने ।