
फिफा विश्वकप २०२६ को महाभिडन्त नजिकिँदै गर्दा अर्जेन्टिनाका कप्तान तथा सर्वकालीन महान फुटबलर लियोनेल मेसीले उपाधि रक्षाका लागि टोलीले मैदानमा आफ्नो सम्पूर्ण शक्ति लगाउने बताएका छन् । नेपाली समय अनुसार गएराति न्यूयोर्क न्यू जर्सी स्टेडियममा स्पेनविरुद्ध हुने ऐतिहासिक फाइनल खेलको पूर्वसन्ध्यामा आयोजना गरिएको एक विशेष पत्रकार सम्मेलनमा मेसीले उक्त उद्घोष गरेका हुन् । 'हामी मैदानमा आफ्नो सर्वस्व सुम्पिनेछौँ। मैले धेरै पटक भनिसकेको छु— हामी कहिल्यै पनि लड्न र संघर्ष गर्न छोड्दैनौँ,' उनले भने ।
फिफाले न्युयोर्कमा जारी खेलकुद महोत्सव 'फ्यानटिक्स फेस्ट'को मञ्चलाई फाइनल खेलको पूर्वसन्ध्यामा आयोजना गरिने पत्रकार सम्मेलनको रूपमा प्रयोग गरेको थियो । फाइनलअघि मेस्सीको यो अन्तिम सार्वजनिक उपस्थिति थियो, जहाँ विश्व खेलकुद जगत्का दिग्गज हस्तीहरू मेस्सीको क्रेज र प्रभावको अगाडि फ्यानजस्तै देखिएका थिए। मञ्चमा अमेरिकी फुटबलका सर्वकालीन महान खेलाडी टम बार्डी, टेनिसका कीर्तिमानी खेलाडी नोभाक जोकोभिच र बास्केटबलका ऐतिहासिक स्वर्ण पदक विजेता केभिन डुरान्टजस्ता स्टारहरू उपस्थित थिए। मेसीको वैश्विक शक्तिको प्रमाण त्यतिबेला देखियो, जब मञ्च छोड्नुअघि यी सबै विश्वप्रसिद्ध खेलाडीहरूले मेस्सीसँग सेल्फी खिच्न पाउनुलाई गर्वको विषय बनाए।
परम्परागत सञ्चारमाध्यमका पत्रकारहरूले भन्दा फरक यस पटक मञ्चमा उपस्थित तिनै खेलकुदका सुपरस्टारहरूले मेसी, अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी र स्पेनका खेलाडीहरूसँग अन्तरक्रिया गरेका थिए। टम ब्राडीले मेस्सीलाई हालै भाइरल भएको एउटा तस्बिरबारे सोधेका थिए, जसमा मेसीले एक शिशुलाई नुहाइरहेका देखिन्छन् र ती शिशु अहिले स्पेनका वर्तमान स्टार लामिन यमाल हुन्। उक्त तस्बिरबारे मेसीले हाँस्दै 'त्यो साँच्चै नै एउटा अनौठो र क्रेजी तस्बिर' भएको टिप्पणी गरे । यस्तै, टेनिस स्टार जोकोभिचले फाइनलको दबाब व्यवस्थापनबारे सोधेको प्रश्नमा मेसी र प्रशिक्षक स्कालोनीले आफ्नो अनुभव साटेका थिए। अन्तरक्रिया सकिएपछि जोकोभिचले आदरपूर्वक 'ग्रासियस, लियो' (धन्यवाद लियो) भन्दै मेस्सीप्रति सम्मान व्यक्त गरेका थिए ।
यदि आइतबार अर्जेन्टिना विजयी भएमा सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेयता यो उपलब्धि हासिल गर्ने पहिलो टोली बन्नेछ। मेसीका लागि आफ्नो खेल जीवनको अन्त्यतिर यो अर्को एउटा ऐतिहासिक कीर्तिमान थप्ने सुनौलो अवसर हो। अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले पनि कप्तान मेसीको नेतृत्वमा टोलीले देशवासीलाई फेरि खुसी दिलाउन कडा मिहिनेत गरिरहेको बताए ।