
प्रकृतिको छत्रछायाँमा
जीवनलाई आश्रय दिँदै
युगौंदेखि
प्रकृतिसँग गरिरहेछौं
खेलबाड
र, भैरहेछौं सर्वोत्कृष्ट
दिएर चुनौती प्रकृतिलाई
विजयी बन्ने ध्याउन्नमा !
यही होडबाजीमा
बिर्सेर आफैंले टेकेको माटो
बिर्सेर आफैंले फेरेको सास
भुलेर आफैंले पिएको पानी
र
यही भूलले
मानवीय सभ्यतामा
ऊब्जाएको छ संकट
वर्तमानलाई प्रतिबिम्बित गर्दै
दिँदो छ चुनौती विज्ञानलाई
सायद !
प्रकृतिको संयमताको घडा
भरिएको हो !
आधुनिक विश्व र
मानवीय सभ्यताले
घुँडा टेकेको यो क्षण
मनवजातिले
आफ्नो धरातल चिन्ने समय हो
प्रकृति त प्रकृति नै हो
ऊसँगै रमाउनु
उसको आफ्नो अस्तित्वभरि
उसलाई रमाउन दिनु
प्रतिद्वन्द्वी नमानी
हितैषी मान्नु
विश्व तथा मानवीय
सभ्यतालाई
प्रकृतिमय बनाउनु
वर्तमानको चुनौती तर
शिक्षा पनि हो !
वर्तमानले यही भन्छ-
तिमी मेरो सम्मान गर
म तिम्रो संरक्षण गर्नेछु ।