
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार हुने भेटवार्ताका लागि सोमबार वासिङ्टन प्रस्थान गरेका छन्।
प्रधानमन्त्री नेतान्याहु तेल अभिभ नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको साटो दक्षिणी इजरायलको नेगेभ मरुभूमिमा रहेको नेभाटिम सैन्य हवाई अड्डाबाट वासिङ्टनतर्फ प्रस्थान गरेको इजरायलको सरकारी कान टिभी न्युज र अन्य स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रस्थान गर्नुअघि प्रधानमन्त्री नेतान्याहुले ट्रम्पसँग इरानको मुद्दा, इजरायलको सुरक्षा र इजरायलको ‘शान्तिको घेरा’ विस्तार गर्ने प्रयासका विषयमा छलफल गर्ने बताएका थिए।
इजरायलको च्यानल १२ न्युजका अनुसार नेतान्याहुले ट्रम्पलाई आणविक बम निर्माणतर्फ इरानको प्रगतिबारे अद्यावधिक गोप्य जानकारी प्रस्तुत गर्ने, दक्षिणी लेबनान र सिरियाबाट इजरायल फिर्ता हुनुपर्ने अमेरिकी मागप्रति असहमति जनाउने तथा अमेरिकी राष्ट्रपतिलाई टर्कीलाई हतियार प्रणाली र एफ–३५ लडाकु विमान नबेच्न आग्रह गर्ने अपेक्षा गरिएको छ।