१० साउन २०८३, आइतबार

हस्ताक्षर भएको २४ घण्टा नबित्दै ट्रम्पद्वारा साउदी-अमेरिका आणविक सम्झौतामा रोक

साउन ८, २०८३
काठमाडौं
हस्ताक्षर भएको २४ घण्टा नबित्दै ट्रम्पद्वारा साउदी-अमेरिका आणविक सम्झौतामा रोक

अमेरिका र साउदी अरबबीच भएको नागरिक आणविक सम्झौतामा हस्ताक्षर भएको २४ घण्टा नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सर्त थप्दै उक्त सम्झौतामाथि रोक लगाएका छन्। 

बिहीबार मात्रै अमेरिकी ऊर्जा मन्त्रालयमा हस्ताक्षर भएको उक्त सम्झौतालाई लिएर शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले साउदी अरबले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने 'अब्राहम एकर्ड्स'मा सामेल हुनुपर्ने सर्त अघि सारेका हुन् । साथै, उनले साउदीलाई युरेनियम प्रशोधन गर्न दिने कुरा पनि अस्वीकार गरेका छन्।

यो अचानकको निर्णयले साउदी अरब र अमेरिकी वार्ताकारहरू दुवैलाई आश्चर्यमा पारेको छ। फक्स न्युज र वाल स्ट्रिट जर्नल जस्ता अनुदारवादीसञ्चारमाध्यमहरूले सम्झौताको आलोचना गरेपछि ट्रम्पले यो कदम चालेको बुझिएको छ। ती सञ्चारमाध्यमले जो बाइडेन प्रशासनले समेत साउदीलाई इजरायलसँग सम्बन्ध सुधार्ने सर्तमा मात्र यो सम्झौता गर्न खोजेको तर ट्रम्पले बिना कुनै सर्त सम्झौता गरिदिएको भन्दै प्रश्न उठाएका थिए। फक्स न्युजमा यसबारे प्रशारण भएको केही मिनेटमै ट्रम्पले नयाँ सर्तसहितको पोस्ट गरेका थिए।

यस विषयलाई लिएर ट्रम्प प्रशासनभित्रै विवाद चर्किएको छ। ह्वाइट हाउसले ऊर्जामन्त्री क्रिस राइटले ट्रम्पको स्वीकृतिबिनै सम्झौता सार्वजनिक गरेको आरोप लगाएको छ। तर, ऊर्जा मन्त्रालयले भने ह्वाइट हाउस र विदेश मन्त्रालयसँग पूर्ण समन्वय गरेरै सम्झौता घोषणा गरिएको दाबी गर्दै आरोपको खण्डन गरेको छ।

झन्डै दुई दशकको प्रयासपछि अघि बढेको यो सम्झौताले साउदीलाई आफ्नै भूमिमा युरेनियम प्रशोधन गर्न दिने र राष्ट्रसंघीय एजेन्सीको निगरानीलाई सीमित गर्ने सुविधा दिएको थियो। यसमा आणविक विज्ञहरूले समेत चिन्ता जनाएका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दबाबमा ट्रम्पले यस्तो निर्णय गरेको हुन सक्ने अनुमान गरिए पनि ह्वाइट हाउसले ट्रम्प र नेतन्याहुबीच पछिल्लो समय कुराकानी नभएको प्रस्ट पारेको छ।

salt training

कमेन्ट गर्नुहोस्